अवसर पाए कर्णालीका अनेकौं सम्भावनाको ढोका खोल्ने ः अध्यक्ष लिङ्देन


सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीले अवसर पाएको खण्डमा कर्णालीका अनेकौं सम्भावनाको ढोका खोल्ने बताएका छन् ।
सुर्खेत विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उहाँले कर्णाली सम्भावनालाई चुनावी एजेण्डा मात्र बनाएको बताए । साथै उनले राजनीतिक दलहरुले कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडेको आरोप लगाएका छन् ।
उनले आफ्नो पार्टीले सत्ताकेन्द्रित राजनीति पनि नगर्ने बताए । पछिल्लो समय विभिन्न सञ्चार माध्यममा राप्रपाले कोशी सरकारमा सहभागी हुन केन्द्रमा पनि केही मन्त्रालयको माग गरेको भन्ने समाचारमा सत्यता नरहेको उनले बताए । उनले राप्रपा सरकारमा जान आतुर नभएको र राप्रपाले सत्ताकेन्द्रित राजनीति नगर्ने बताएका हुन् ।
पछिल्लो समय सरकारले भ्रष्टाचारका फाइल खोलेको भए पनि अनुसन्धानले तीव्रता नपाएको बताउँदै उनले भने, ‘सरकारले भ्रष्टाचारका फाइल खोल्दा र अनुसन्धान गर्दा हाम्रो पार्टीको १४ सांसदको साथ चाहिएको खण्डमा हामी साथ दिन तयार छौं ।’






