कर्णालीमा उत्पादन हुने अर्गानिक कृषि उत्पादनको माग अत्यधिक

सुर्खेत ।
जुम्लाको चन्दननाथ बहुद्देश्यीय सहकारी संस्थाले अर्गानिक मिनी मार्केट तथा सप्लायर्स नै सुर्खेत विमानस्थलमा खोलेपछि कर्णाली प्रदेशका सबै जिल्लामा उत्पादन हुने अर्गानिक वस्तु संकलन हुने गरेको छ ।
कर्णालीमा उत्पादन हुने कृषि तथा पशुजन्य वस्तु सुपथ मूल्यमा दिने गरेको सहकारीका व्यवस्थापक कृषिराम पाण्डेले बताए। उनका अनुसार कर्णालीमा उत्पादन हुने अर्गानिक कृषि उत्पादनको माग अत्यधिक हुने गरेको छ ।
यो मार्टले कर्णालीका उत्पादनको महत्व दर्साइरहेको छ । चन्दननाथ सहकारीका कोषाध्यक्ष विष्णु बुढाले भनिन्, ‘किसानमा स्थानीय उत्पादन बढाउन हौसला दिइरहेको छ । अभावै अभावमा रहेको कर्णालीको उत्पादन महँगा र ठुला सहरसम्म पुर्याइरहेको छ ।’
मिनीमार्टका लेखा प्रमुख दानसिंह भण्डारीका अनुसार दैनिक न्यूनतम १० हजारदेखि अधिकतम ४० हजार रूपैयाँसम्मको आम्दानी हुने गरेको बताए ।
‘अहिले मार्टमा ४४ प्रकारका कर्णालीका उत्पादन बेच्न राखिएको छ,’ उनले भने, ‘कर्णालीदेखि काठमाडौं विमानमा जाने प्रत्येकले कोसेलीको रूपमा अर्गानिक उत्पादन लैजान्छन्। विमानस्थलमा पुग्ने सरकारी उच्च अधिकारी, मन्त्रीहरू, सांसदहरू, पालिकास्तरका जनप्रतिनिधि मिनी मार्केटमा पुगेर अवलोकन गर्छन् ।’
आफूले लैजान चाहेका वस्तु किनेर लैजाने गरेको भण्डारीले बताए। मिनी मार्टमा मार्सी चामल, रातो, कालो सिमी, चिनो, कागुनो, ओखर र स्याउका चाना, जिम्मु, जडिबुटी चिया, सिस्नो, फापरको पिठो, कोदाको पिठो, गहत, टिमुर, कालो–सेतो भटमास, सर्वोत्तम पिठो, कागतीको रस, इमिली चुक राखिएको छ ।
सबैभन्दा महँगोमा कालो सिमी प्रतिकिलो ३ सय रूपैयाँमा बिक्री हुने गरेको छ । जुम्लाका किसानले हातले बुनेका खरायो टोपी सबैभन्दा बढी बिक्री हुने गरेको मिनी मार्टले जनाएको छ। प्रतिटोपी ३ हजार ५ सय रूपैयाँसम्म पर्छ ।
कर्णालीमा पालिएका भेडाको ऊनबाट बनेको राडीपाखी, लिउ, फेरे, काटेपाखो, मोजा, स्विटर, मफलर पनि मिनी मार्केटमा राखिएका छन् । यी उत्पादन भेडाको ऊनबाट तयार हुन्छन् । कालो काम्लो प्रतिगोटा ८ हजार रूपैयाँमा बेचिन्छ ।
जो कर्णालीको लोकल भेडाको उनबाट तयार हुन्छ । अल्लोका कपडा पनि पर्यटकले बढी रुचाइरहेका छन् । अल्लोको टोपी, जुत्ता, कोटसमेत बेच्न राखिएको छ। अल्लोका सामान न्यूनतम ८ सयदेखि १३ हजार रूपैयाँसम्मका छन् । अर्गानिक मिनी मार्टमा पाइने वस्तुको मूल्यसूची राखिएको छ ।






