कर्णालीमा औलोको न्युन परिक्षण

सुर्खेत । २०७८/०७९ को तथ्यांक हेर्दा कर्णाली प्रदेशमा १२ लाख ५१ हजार जनसंख्या औलो रोगको जोखिममा छन् । प्रदेशहरुमा जोखिम कम भएका जनसंख्याका आधारमा हेर्ने हो भने कर्णाली प्रदेश तेस्रो स्थानमा छ । कर्णाली अघि कोशी र मधेश प्रदेशमा न्यून जनसंख्या औलोको जोखिममा पर्छन् ।

१२ लाख बढी जनसंख्या औलोको जोखिममा रहेको कर्णालीमा परिक्षण पछि भेटिने संक्रमित विरामीको संख्या भने अन्य प्रदेशको तुलनामा सबैभन्दा धेरै छ । यहाँ २०७८/०७९ मा १९ हजार पाँच सय ९१ जनामा रक्त परिक्षण गरिएकोमा ४८ जनामा औलो पुष्टी भएको थियो । रक्त परिक्षण पश्चात विरामीहरुमा औलो पुष्टी भएको दर कर्णालीमा शुन्य दशमलव २५ प्रतिशत छ । यो संख्या अन्य प्रदेशहरुको तुलनामा धेरै नै हो ।
२०७८/०७९ मा कोशी प्रदेशमा भएको कुल परिक्षणमा शुन्य दशमलव शुन्य तीन प्रतिशत जनसंख्यामा औलो पुष्टी भएको थियो । यसैगरी मधेश प्रदेशमा शुन्य दशमलव १८ प्रतिशत, बागमती प्रदेशमा शुन्य दशमलव शुन्य पाँच प्रतिशत, गण्डकी प्रदेशमा शुल्य दशमलव ११ प्रतिशत जनसंख्यामा औलो पुष्टी भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
लुम्बिनी प्रदेशमा शुल्य दशमलव २७ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा शुन्य दशमलव २४ प्रतिशत छ । २०७८/०७९ मा देशभर करिव तीन लाख जनसंख्यामा औलो रोगका लागि रक्त परिक्षण गरिएको थियो । यस मध्य कणर्ालीमा संख्यात्मक रुपमा ६ प्रतिशत जनसंख्यामा मात्र रक्त परिक्षण भएको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा देशभर कुल दुई लाख ९२ हजार आठ सय ३८ जनामा औलो परिक्षण भएको थियो ।
कर्णालीमा भने यो संख्या १९ हजार पाँच सय ९१ छ । प्रदेशगत रुपमा हेर्दा बागमती प्रदेशमा सबैभन्दा धेरै रक्त परिक्षण भएको देखिन्छ । यहाँ ८० हजार सात सय २६ जनामा औलो परिक्षण भएको छ ।
यसैगरी सुदुरपश्चिममा ७४ हजार नौं सय ४६, लुम्बिनी प्रदेशमा ५७ हजार तीन सय ७६, मधेश प्रदेशमा २४ हजार आठ सय २५, कोशी प्रदेशमा २३ हजार नौं सय १२ र गण्डकी प्रदेशमा ११ हजार चार सय ६२ जनामा औलो परिक्षण भएको थियो । यि परिक्षणहरुबाट कोशीमा पाँच जना, मधेशमा ४४ जना, बागमतीमा ४३ जना, गण्डकीमा १२ जना, लुम्बिनीमा एक सय ५८ जना र सुदुरपश्चिममा एक सय ८१ जना औलो संक्रमित विरामी फेला परेका थिए । कणर्ालीमा भने ४८ जनामा औलो संक्रमण पुष्टी भएको निर्देशनालयको तथ्यांक छ ।
उन्मुलन होला औलो ?
नेपाल औलो रणनीतिक योजना अनुसार सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य छ । सो अनुरुप नै सबैभन्दा पहिले स्थानीय औलो बिरामीको संख्या शून्यमा झार्ने योजनाको उद्देश्य हो ।
कर्णालीमा २०७८/०७९ मा १८ जना स्थानीय औलोबाट संक्रमित भएका थिए । यो संख्या देशभरमै सबैभन्दा उच्च संख्या हो । सन् २०२५ आईपुग्न दुई वर्षको समय छ ।
तर यता कर्णालीमा भने स्थानीय औलो रोग पुष्टी भएका विरामीको संख्या देशभरमै सबैभन्दा उच्च देखिन्छ । सुदुर पश्चिममा १६ जना र लुम्बिनी प्रदेशमा चार जना स्थानीय औलो रोगका विरामी फेला परेका थिए । अन्य प्रदेशमा भने यो संख्या शुन्यमा झरेको छ । स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रविन खड्काले दिएको जानकारी अनुसार स्थानीय औलो भन्नाले स्थानीय स्तरमै संक्रमण भएको औलो भन्ने बुझिन्छ । कर्णाली प्रदेशमा अन्यन्त्रबाट भित्रिएका नागरिकहरु उतैबाट संक्रमित भएर आए भने त्यसलाई आयातित औलोका रुपमा वर्गिकरण गरिएको छ । कर्णालीमा आयातित औलो पुष्टी भएका विरामीहरुको संख्या ३० जना थियो ।
औलो ‘टेष्टकिट’सहितका स्वास्थ्य सामाग्री प्रयाप्त
औलो उन्मुलन योजनाको अन्तिम समयावधीमा आईपुग्दा धेरै मेहनत आवश्यक पर्ने डा. खड्का बताउछन् । यसका लागि स्थानीय तह लगायत सबैको सहयोग आवश्यक पर्ने उनको धारणा छ । लामखुट्टे वसोवास गर्ने सम्भावित क्षेत्रलाई नास गर्ने, कीटनाशक औषधी छर्कने, लामखुट्टेको लार्भा नास गर्ने लगायतका क्रियाकलाप अभियानमा महत्वपूणर् हुन्छन् । परिक्षण दायरा समेत फराकिलो बनाउँन यसका लागि आवश्यक पर्ने ‘टेष्टकिट’लगायतका स्वास्थ्य सामाग्रीहरु हालको समयमा प्रयाप्त मात्रामा रहेको स्वास्थ्य सेवा निर्देशनालयका भेक्टर नियन्त्रण अधिकारी श्यामलाल आचार्यले जानकारी दिए ।
उनले भने, ‘हामीसँग आरडिटी किटहरु प्रयाप्त मात्रामा उपलब्ध छन् । यसमा समस्या छैन । तर जनशक्तिमा भने अलि समस्या नै छ ।’ औलो र यसका प्रकार पहिचानका लागि ल्यावमा आवश्यक पर्ने जनशक्तिको भने कणर्ालीमा अभाव नै छ । आचार्यका अनुसार ल्यावमा ‘इन्टोमिलिजिष्ट’ जनशक्ति आवश्यक पर्छ । हालको समयमा यस क्षेत्रमा आचार्य सहित दुई जना मात्र जनशक्ति उपलब्ध छन् ।







