सप्तरंगी उल्लास

काठमाडौँ,२२ फागुन ।

 सेतो टिसर्टमा सप्तरंगी अक्षरमा लेखिएका छन् दुई शब्द– ‘ह्याप्पी होली ।’ अंग्रेजी शब्दको ‘ह्याप्पी’ र संस्कृत शब्द ‘होली’ को यो फ्युजन जस्तै मिश्रित भएको छ, युवापुस्ताको होली मनाउने शैली पनि ।

यो पौराणिक पर्वलाई उनीहरू यस्तो उत्सव बनाउन चाहन्छन्, जहाँ आधुनिकताको रङ पनि मिसिएको होस् । त्यसैले त जिन्स–टिसर्टमा ठाँटिएर, चर्को संगीतमा नाच्दै–रमाउँदै यो पुस्ता आफैंलाई होलीमय बनाइरहेका हुन्छन् । युवा पुस्ताको यस्तै मनोविज्ञानलाई मध्यनजर गर्दै बजारमा ‘होली’ टिसर्टदेखि रङ एवं अबिरहरूको मेला लाग्ने गर्छ ।

धुमधामले होली मनाउने प्रवृत्ति बढेसँगै युवाहरूका लागि यो प्रतीक्षित पर्व बनेको छ । जस्तो अनिमेष गुरुङको कुरा सुनौं । नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीमा कक्षा ११ मा पढिरहेका अनिमेष सुनाउँछन्, ‘अरू बेला हामीले मनाइरहेको चाडभन्दा फरक लाग्छ । अरू बेला चाडपर्वमा मान्छेहरू आ–आफ्नै घरभित्र हुन्छन् । होलीमा चाहिँ सबैजना बाहिर निस्केर एकआपसमा रङ दलेर रमाउँछन् । यही कुरा मलाई एकदमै राम्रो लाग्छ ।’

आफन्त, इष्टमित्र मात्र होइन चिनेजानेका साथीभाइदेखि अपरिचितसम्मले उत्तिकै हार्दिकतासाथ व्यवहार गर्ने भएकाले पनि होली मनपर्छ उनलाई । उनकै सहपाठी निकेश राई पनि यो पर्वलाई ‘साथी–साथीमाझ मनाइने पर्व’ का रूपमा बुझ्छन् । ‘अरू चाडचाहिँ नातागोता मात्र सहभागी भएर मनाइन्छ,’ निकेश भन्छन्, ‘होलीमा चाहिँ सबै जना परिचित झैं बनेर रमाइरहेका हुन्छन् । नचिनेका मान्छेसँग पनि बोल्ने, रमाउने, रङ दल्ने गरिन्छ ।’

यद्यपि होली खेल्ने क्रममा कसैलाई पनि अनुमतिबिना रङ दल्न, पानी छ्याप्न, लोला हान्न नपाइने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजाल बताउँछन् । उनी भन्छन्, ‘कसैको इच्छाविपरीत रङ दल्ने र लोला हान्ने गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिन्छ ।’

विगत केही वर्षअघिसम्म होली पर्व मनाउने शैली उच्छृंखल हुने गरेको थियो । होलीको बहानामा बाटो हिँडिरहेका बटुवालाई फोहोर पानी छ्याप्ने, लोला हान्ने जस्ता गतिविधि अनियन्त्रित रूपमा बढेको थियो । त्यसैले पछिल्लो वर्ष होलीका दिन प्रहरीले विशेष निगरानी गर्दै आएको छ । त्यसपछिका दिनहरूमा भने होली अलि बढी संयमित देखिएको प्रवक्ता रिजाल बताउँछन् ।

खासमा होली मनाउनुको आफ्नै महत्त्व र अर्थ छ । जाडोयाम सकिएलगत्तै प्रकृतिमा हरियाली छाउन थाल्छ । रूखबिरुवाले पालुवा फेर्छ । रंगबिरंगी फूलहरू फुल्न थाल्छ । वसन्तयामको आगमनसँगै प्रकृति आफैंमा मनमोहक बन्छ । वसन्त ऋतुको सुरुवातसँगै जीवनलाई उत्सवमय बनाउने सांकेतिक अर्थसहित होली मनाइन्छ ।

जीवनलाई नै उत्सव बनाउनुपर्छ भन्ने अहिलेका युवा पुस्तालाई होलीको ग्ल्यामरले पनि लोभ्याएको छ । उन्मुक्त भएर आ–आफ्नै मर्जीअनुसार ‘सेलिब्रेट’ गर्न पाइने भएकाले हुन सक्छ, उनीहरू होली पर्वलाई आफ्नोपनसँग जोड्ने गर्छन् । भृकुटीमण्डपस्थित रत्नराज्यलक्ष्मी कलेजमा पढिरहेकी मन्दिरा खत्री भन्छिन्, ‘परिवारसँग नभई साथीभाइसँग मनाइने भएकाले पनि होली युवा पुस्ताका लागि निकै रमाइलो लागेको हुनुपर्छ ।’

होलीमा युवा पुस्तालाई लोभ्याउने अर्को माध्यम बनेका छन्, सांगीतिक कार्यक्रमहरू । होलीको छेको पारेर विभिन्न ठाउँमा सांगीतिक कार्यक्रम हुने गरेका छन् । घरको आँगनदेखि मञ्चको प्रांगणसम्म होलीमय भइरहँदा युवाहरू सबैतिर रमाइलो गर्न भ्याइनभ्याई हुन्छन् ।

‘गत वर्ष म पनि साथीहरूसँग होली खेल्दैखेल्दै वसन्तपुरसम्म पुगेकी थिएँ,’ मन्दिरा भन्छिन्, ‘घरमा, सडकमा, डबलीमा सबैमा मान्छेहरू रमाइरहेको देख्दा आफूलाई पनि निकै रमाइलो लाग्ने रहेछ । तर, भीडभाडमा हामी केटीलाई चाहिँ अलि असहज हुने ।’

हुन पनि होलीको बहानामा जथाभावी छुने, पानी वा लोला छ्याप्ने, गिज्याउने जस्ता गतिविधि बढी देखिन्छ । ‘होलीमा यस्तो विकृति बढेको छ,’ मन्दिरा भन्छिन्, ‘यसलाई चाहिँ नियन्त्रण गर्नैपर्छ ।’ मन्दिराको कुरामा सहमत जनाउँदै बन्सिका शाही भन्छिन्, ‘आफूले रमाइलो गर्दा अरूलाई पनि रमाइलो हुनुपर्छ भनेर सोच्नुपर्छ । रमाइलो गर्ने निहुँमा अरूलाई अप्ठ्यारोमा पार्नु ठीक लाग्दैन ।’

इर्स्टन इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट, बिर्तामोडमा पढिरहेकी बन्सिका होलीको संस्कृति र महत्त्व बुझेर मनाउन जोड दिन्छन् । ‘अन्धाधुन्ध रङ दल्ने वा लोला हान्नेभन्दा पनि यसको महत्त्व बुझेर त्यहीअनुसार उमंगमय ढंगले होली मनाउनु राम्रो हो,’ उनी भन्छिन्, ‘आफूले होली मनाउँदा अरूलाई हानि नभए त क्या गजब ।’

त्यसैलाई विचार गरेर नेपाल प्रहरीले पनि उपत्यकालगायतका स्थानमा सुरक्षा व्यवस्था कडा पारेको छ । उपत्यकाका विभिन्न स्थानमा प्रहरी खटाउनुका साथै सामुदायसँग मिलेर सचेतनामूलक कार्यक्रम गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालले ‘महानगरीय प्रहरी परिसर काठमाडौं’ को फेसबुक पेज र अन्य सामाजिक सञ्जालबाट पनि बुँदागत रूपमा सचेत गराएको जनाएका छन् । जथाभावी लोला हान्ने, रसायन मिसाएको रङ दल्नेलाई कानुनबमोजिम कारबाही गरिने उनले जनाए ।

होलीको संस्कृति

होली पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइने चाड हो । धार्मिक कथनअनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसलाई भगवान् विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । उनको छोरा प्रह्लाद विष्णुका परम भक्त भएकाले उनलाई मार्ने योजना बनाएका थिए ।

उनको बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसीयाली मनाउन आपसमा रङ र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।

नेपालमा होली

प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएसँगै फागुपर्व सुरु हुन्छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि मुलुकभर विधिवत् रूपमा होलीको सुरुवात हुन्छ । वसन्तपुरमा चीर

ठड्याउनुअघि पशुपतिस्थित गोरखनाथको मन्दिरमा पृथ्वीनारायण शाहको गुर्जु पल्टनले सलामी दिइन्छ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रूखको हाँगामा रंगीचंगी कपडा झुन्ड्याएर पूजा गरी चीर ठड्याइन्छ । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एकआपसमा अबिर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न सुरु हुन्छ ।

भक्तपुरमा चीर स्वायगू अर्थात् लिंग घुमाएपछि फागुपर्वको सुरुवात भएको मानिन्छ । जगतप्रकाश मल्लको समयमा बनेको दत्तात्रय मन्दिरसँगै रहेको भीमसेनको मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरुवात गरिन्छ ।

त्यस्तै, पहाड र तराईमा फरक–फरक दिनमा होली मनाइन्छ । फागु पूर्णिमाको दिन पहाडमा र त्यसको भोलिपल्ट तराईमा मनाउने चलन पुरानै हो । मिथिला संस्कृतिमा फागु पूर्णिमाको दिन विशेष मेला लाग्ने भएकाले होली भोलिपल्ट मनाइने चलन बसेको हुन सक्ने अनुमान गरिन्छ ।

अर्को, अघिल्लो दिन साँझ होलीका दहन गरिसकेपछि त्यसको भोलिपल्ट त्यसको खुसीयाली मनाउनलाई होली खेलिएको हुन सक्ने पनि संस्कृतविद्हरूले बताउँदै आएका छन् । पछिल्लो समय होली मनाउने शैलीमा केही परिवर्तन आएको देख्न सकिन्छ । होलीको दिन स्कुल, कलेज बिदा हुने भएकाले धेरैले अघिल्लो दिन नै होली मनाउने गरेको पाइन्छ ।

‘स्वास्थ्यको ख्याल गरौं’  :  डा. धर्मेन्द्र कर्ण, छाला रोग विशेषज्ञ

होलीमा पहिला प्राकृतिक रङ जस्तो हिना, गुलाब, चन्दन आदिबाट बनाइन्थ्यो । पछिल्लो समय बजारमा मरकरी, एस्बेस्टस, सिलिका, माइका, लिडजस्ता हानिकारक रसायन मिसाइएका रङ भित्रिएको छ । यसले हाम्रो छालामा मात्र नभएर अनुहार वरिपरिका अंगमा समेत असर पु¥याउँछ । नाकमा पस्यो भने रुघाखोकी गराउँछ, मुखभित्र पुग्यो भने निमोनियासमेत गराउन सक्छ । छालामा एलर्जी गराउने, कालो दाग बस्ने हुन्छ । त्यसबाहेक चायापोतो, एक्जिमा, केश झर्ने, चाया पर्ने हुन्छ ।

होली खेल्ने रङ सुक्खा र पानीमा घोलेर खेल्ने गरी दुई प्रकारको पाइन्छ । सुक्खा रङ पानीले पखाल्दा जान्छ । पानीमा घोल्नुपर्ने रङको प्रयोग गर्नु हुँदैन । होली खेल्नु अघिल्लो दिन पूरै जीउमा तेल लगाउने र होली खेल्नुपूर्व पनि तेल लगाउने । यसले रङ भित्रसम्म पुग्न पाउँदैन ।

रङ सजिलै हटाउन सकिन्छ । होली खेल्दा पूरै शरीर ढाक्ने पहिरन लगाउनुपर्छ । होली खेल्दा केशलाई कभर गर्नुपर्छ । नङ काट्नुपर्छ, लामो नङमा रङ जमेर खानाद्वारा पेटसम्म पुग्न सक्छ । मोस्चराइजर र सनस्क्रिनको प्रयोग गर्नुपर्छ ।

डेढदेखि २ घण्टाभन्दा बढी रङ खेल्नु हुँदैन । रङ पखाल्दा पानीको मात्र प्रयोग गर्नुपर्छ । रङ गएन भने नरम क्लिन्जर वा साबुनको प्रयोग गर्न सकिन्छ । सफा गर्दा बेस्सरी घोट्नु हुँदैन । नुहाइसकेपछि पनि पूरै शरीरमा तेल लगाउन सकिन्छ । केही समस्या देखिए तुरुन्त चिकित्सककहाँ जानुपर्छ ।

कान्तिपुर 

सप्तरंगी उल्लास

वडा तहमै सुरक्षित हाटबजार

सप्तरंगी उल्लास

YUGAAWHAN NATIONAL DAILY (2079-11-22)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!