चीन जानुअघि किन नेकपा ब्युँताउने कुरा गर्दैछन् प्रचण्ड ?

काठमाडाै । १७ असारमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशीको ३४औँ स्मृति दिवसमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा ब्युँताउनुपर्ने बताए । नेकपा जोगाउन नसक्नु दुर्भाग्यपूर्ण भएको भन्दै उनले पुनः एकता गर्नुपर्नेमा जोड दिए । प्रचण्डले यो कुरा पहिलोपटक भने गरेका होइनन् ।

त्यही कार्यक्रममा रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनताको जीवनस्तर सुधारका लागि देशका कम्युनिस्ट एक हुनपर्ने बताए ।
प्रचण्ड र नेपालले एकै मञ्चबाट कम्युनिस्ट पार्टीबीच एकता हुनुपर्ने बताउनुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले १० असारमा केशव बडालको पुस्तक विमोचन कार्यक्रममा नेकपा विभाजन हुनुको कारण खोज्नुपर्ने बताएका थिए । भलै त्यसबेला ओलीले नेकपा ब्युँत्याउने कुराचाहिँ गरेका थिएनन् । उनले भनेका थिए, ‘हाम्रो अढाई वर्षअगाडि पार्टी विभाजन भयो । त्यो विभाजन, यसले यसो भन्यो, उसले यसो भन्यो भनेर मात्रै हुन्न । कारणहरू के थिए ? उद्देश्यहरू के थिए ? किन विभाजन भयो ? किन गरियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजन सम्भव भयो, यी कुराहरू अलिकति आउनुपर्यो ।’
ओली, प्रचण्ड मात्र होइन नेपाल पनि कहिलेकाहीँ नेकपाको प्रसँग ल्याइरहेका छन् । २७ जेठमा नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव गरेका थिए । आफ्नो पार्टीको भक्तपुरको पहिलो जिल्ला अधिवेशनमा उनले प्रचण्ड र ओलीलाई नेकपा ब्युँताउने प्रस्ताव गरेका थिए । त्यसाे त गत फागुनमा राष्ट्रपति चुनावकाे समयमा पनि यी नेताहरूले नेकपाकाे सन्दर्भ निकालेका थिए ।
अहिले सबैभन्दा बढी नेकपाको नोस्टालजियाले प्रधानमन्त्री प्रचण्डलाई छाेपेकाे देखिन्छ । उनले पछिल्लो समयमा हरेक सार्वजनिक कार्यक्रममा नेकपा ब्युँताउनुपर्ने भन्दै आएका छन् ।
४ असारमा समाजवादी मोर्चा घोषणा कार्यक्रममा पनि प्रचण्डले २०७५ साल ३ जेठमा माओवादी र एमालेबीच एकता भएर बनेको नेकपाको खुबै चर्चा गरे । उनले भने, ‘एकता गर्नुभन्दा पहिला मोर्चा बनाएको भए टिक्थ्यो कि ? नेकपा विभाजन हुनु दुर्भाग्य भयो । जनताको, आम कार्यकर्ताको अपार समर्थन र उत्साहको बाबजुद नेकपा बचाउन सकिएन । अहिले पनि आत्मसमीक्षा गर्नुपर्छ ।’
नेकपा हुँदा अन्तर्संघर्षका कारण सर्वोच्च अदालतले नयाँ नाम राखेर पार्टी दर्ता गर्ने आदेश दिँदा पनि नयाँ नाम राख्न नचाहेर अलग-अलग पार्टी सञ्चालन गरेका प्रचण्ड, ओली र नेपाल फेरि आआफ्नो फाइदाको लागि नेकपाको प्रसँग ल्याउन थालेका छन् ।
नेकपा ब्युताउँदा पनि विचार, सांगठनिक संरचना, सिद्धान्त हुन्छ, परिस्थिति मूल्यमान्यता हुन्छ । तर यी कुनै पनि विष्यामा कुरा नगर्ने अनि नेकपा ब्युताउँने कुरा प्रधान मान्नु आआफ्नो स्वार्थ मात्र रहेको राजनीतिक विश्लेषक हरि रोका बताउँछन् ।
‘अहिले फेरि नेकपा ब्युँताउने कुरामा सबैको आआफ्नो स्वार्थ छ । कसैलाई कुर्सीको डर छ । कसैलाई पार्टीको अस्तित्वको संकट छ । कसैलाई आफ्नो जनमत घटेको चिन्ता छ,’ रोका भन्छन्, ‘ब्युँताएमा पनि तीनै नेताहरूलाई अध्यक्ष चाहिन्छ होला । त्यसपछि विवाद गर्ने, त्यही मिलाउन बैठक बस्ने हुन्छ । त्यही भएर अहिले पनि स्वार्थबाहेक केही छैन ।’
कांग्रेस एमाले मिल्न नदिने प्रचण्ड लाइन
प्रधानमन्त्री प्रचण्डलाई अहिले सरकार ढल्छ कि भन्ने चिन्ता छ । समाजवादी मोर्चा बनाएपछि कांग्रेस माओवादीसँग बिच्किएको छ । जसका कारण उसले एमालेसँग मिल्ने आकलन सुरु भएको छ । तर कांग्रेस नेताहरू यस्तो नहुने बताउदै आएका छन् । नेकपा एमालेले कांग्रेसलाई मिलेर जाने प्रस्ताव गरेको चर्चा पनि छ । एमाले कांग्रेस मिलेमा प्रचण्ड नेतृत्वको सरकार ढलेर कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्छ । यो रोक्नको लागि पनि प्रचण्डले नेकपा ब्युताउने कुरा गरेको हुन सक्ने बताइन्छ । कांग्रेस र एमालेलाई कुनै पनि हालतमा मिल्न नदिन प्रचण्डले नेकपा ब्युताउने प्रसंग ल्याएका बुझिन्छ । यदि कांग्रेसले आफ्नो सरकार ढाल्ने कोशिस गरेमा १० पुसमा जस्तै फेरी एमालेसँग मिलेर सरकारमा टिकिरहने दाउमा देखिन्छ । जसको लागि समय समयमा नेकपाको प्रसंग उठाइ राख्न चाहन्छन् ।
चीन भ्रमणकाे दैलाे खाेल्ने प्रयास
नेकपा विभाजन रोक्न चीनले धेरै कोशिस गरेको थियो । तर, सफल भएन । केही दिनपहिला पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा माओवादी नेताहरू चीन भ्रमणमा गएका थिए । चिनियाँहरूले अहिले पनि कम्युनिस्ट मिल्नुपर्छ भन्ने सल्लाह सुझाव दिने गरेका धेरै कम्युनिस्ट नेताहरू बताउँछन् ।
सापकोटासहितको टोलीलाई पनि यो पटकको भेटमा चिनियाँ नेताहरूले कूटनीतिक भाषामा नेपालका सबै कम्युनिस्टहरू मिलेर जानुपर्ने सुझाव दिएको माओवादी केन्द्रका सचिव गणेश साहले बताए । उनले भने, ‘सिधा एमाले माओवादी मिल्नुपर्छ भन्नुभएन । डिप्लोमेटिक भाषामा कम्युनिस्टहरू मिलेर जाँदा राम्रो हुन्छ भन्ने सल्लाह चिनियाँ नेताहरूले दिनुभयो ।’
२६ असार २०७९ मा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमण आएका थिए । उक्त भ्रमणमा नेपालका कम्युनिस्ट नेताहरूलाई मिल्न सुझाव दिएका थिए । विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका जियानचाओले पहिलो विदेश भ्रमण नेपाल थियो ।
पार्टी संटक टार्ने रणनीति
माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गरेर चुनाव लड्दा पनि ३२ सिटमा सिमित हुनुपर्यो । आउदो चुनावमा कांग्रेसहरूले कसैसँग पनि गठबन्धन नगर्ने भनिरहेका छन् । यस्तो अवस्थामा पार्टीको अस्तित्व नै संकटमा पर्ने देखिन्छ । त्यसको लागि फेरि कम्युनिस्टहरू एक हुनुपर्ने र सके नेकपा ब्युँताउने कुरा गर्ने गरेका छन् ।
सरकारमा जाने ओलीको रणनीति
अदालतले संसद विघटनको निर्णय उल्टाइदिएपछि एमालेका लागि सरकार दुर्लभ भएको छ । पुस १० बाट फागुनसम्म सरकारमा सहभागी भएको एमाले प्रचण्डले गठबन्धन बदलेपछि एमालेले सत्ता गुमायो । भएको कोशी प्रदेशको मुख्यमन्त्री पनि एमालेले गुमाएको छ ।
सोमबार मात्र ओलीले आफूलाई सरकारमा जानबाट रोक्न निरन्तर प्रयास भएको बताएका छन् । कांग्रेस माओवादी मिलिरहेमा एमालेको सरकार यात्रा योपटक नहुने देखिन्छ । त्यसको लागि एमाले गठबन्धन तोड्ने प्रयासमा छ । उसको पहिलो प्रयास कांग्रेसलाई सरकारको नेतृत्व दिएर भए पनि आफू सरकारमा जाने थियो । त्यो मिशन असफल भएपछि उसको दोस्रो विकल्प पुन कम्युनिस्ट मिल्ने हो । त्यसको लागि नेकपाको कुरा उठाउन सुरु गरेको छ ।
एमालेकाे घट्दो जनमतकाे प्रभाव
यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएपछि त्यसको असर सबै राजनीतिक दलहरूलाई परेको छ । पछिल्लोपटक त्यस्तो असर कांग्रेस एमालेमा बढी देखिएको छ । तनहुँ- १ मा भएको उपचुनाव र मंसिरको चुनावमा एमालेले पाएको मतमा धेरै अन्तर आयो । यसले एमालेको जनमत घटेको देखाउछ । यो जनमत बचाउन कि सरकारमा जानुपर्छ कि त आउदो निर्वाचनमा वामपन्थी गठबन्धन बनाउनुपर्छ । त्यसको लागि नजिक हुने प्रमुख माध्यम नेकपाको चर्चा प्रसँग र ब्युँताउने कुरा हुन्छ ।
नेपालको रणनीति: अस्तित्वको संकट मोचन
एमालेसंग धेरै कडा रूपमा प्रस्तुत हुने एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि पछिल्लो समयमा नेकपा ब्युँताउने भन्दै आएका छन् । उनले एमालेबाट पार्टी विभाजन गरेर एकीकृत समाजवादी बनाएका छन् । यो निर्वाचनमा गठबन्धन गर्दा पनि समानुपातिकमा थ्रेस होल्ड कटाउन सकेनन् । प्रत्यक्षमा १० सिट जितेका छन् । आउदो निर्वाचनमा पनि थ्रेस होल्ड कटाउन नेकपा एसका लागि चुनौतीपूर्ण हुने देखिन्छ । त्यसको लागि उपयुक्त भनेको नेकपा ब्युँताउने र आफू पनि अध्यक्ष हुने नेपालकाे लाइन देखिन्छ । (शिलापत्र)






