उमेर नपुग्दै आमा बन्छन् कर्णालीका बालिका

सुर्खेत । सिमकोट गाउँपालिकाकी २१ वर्षीया सपना केही हप्ताअगाडि ‘डिपो’ (गर्भ निरोधक सुई) लगाउन जिल्ला अस्पताल, हुम्ला पुगेकी थिइन् । परिवार नियोजनका लागि डिपो लगाउन अस्पताल पुगेकी उनी दुई सन्तानकी आमा हुन् । १४ वर्षको उमेरमा विवाह गरेर १९ वर्षमा दुई सन्तान जन्माएकी सपना पछिल्लो दुई वर्षदेखि अस्थायी परिवार नियोजनको साधनका रूपमा डिपो लगाउँदै आइरहेकी छन् ।

२०७३ मंसिर ५ गते विवाह गर्दा सिमकोटकै सुजाता कक्षा ८ मा पढ्दै थिइन् । उमेर भर्खर १४ वर्ष पुगेको थियो । महिनावारीसमेत भएको थिएन । विवाह भएको तीन सातापछि २४ मंसिरमा मात्र उनी पहिलोपटक महिनावारी भइन् । ‘८ कक्षा पढ्दैमा विवाह भो, विवाहपछि मात्र पहिलो छाउ (महिनावारी) भया हो,’ सुजाता भन्छिन् ।

कलिलै उमेरमा विवाह गरेकी उनी १९ वर्ष पुग्दा–नपुग्दै दुई सन्तानकी आमा भइसकेकी छन् । अब उनलाई थप सन्तानको रहर छैन । जसका लागि उनले परिवार नियोजनको साधन ‘डिपो’ (गर्भ निरोधक सुई) लगाउँदै आएकी छन् । डिपो लगाउन थालेको उनले एक वर्षभन्दा बढी भइसकेको छ ।

सुजताजस्तै खार्पुनाथकी केशरीको पनि कलिलै उमेरमा विवाह भयो । १६ वर्षको उमेरमा बेहुली बनेकी उनले एक वर्षभित्रै पहिलो सन्तान जन्माइन् । सानै उमेरमा विवाह गरेकी उनको स्वास्थ्यमा समस्या देखियो । पहिलो सन्तान जन्माइसकेपछि केशरीलाई चिकित्सकले पाठेघरमा समस्या भएका कारण थप बच्चा नजन्माउन सुझाए ।

आफू अस्वस्थ हुँदाहुँदै पनि उनले थप तीन सन्तान जन्माइन् । कानुनले २० वर्षभन्दा मुनिको विवाहलाई गैरकानुनी मान्ने गरेको छ । तर, हुम्लाका सुजाता, केसरी र सपना कलिलै उमेरमा गर्भवती भएका प्रतिनिधि पात्र मात्रै हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेको जनाएको छ ।

त्यसमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशमा छ । कर्णालीमा १५ देखि १९ वर्ष उमेर समूहका २१ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेको सर्वेक्षणमा उल्लेख छ । बालविवाहको तथ्यांक पनि डरलाग्दो छ । तीन प्रतिशत किशोरीहरू र एक प्रतिशत हाराहारीका किशोरले १५ वर्षको उमेर नपुग्दै विवाह गर्ने गरेको पाइएको छ ।

र, १५ वर्ष नपुग्दै वा १५ वर्ष उमेर हाराहारीमा दुई प्रतिशत किशोर–किशोरीले यौन सम्पर्क राख्ने गरेका सर्वेक्षणले देखाएको छ । बाल विवाह हुने र सानै उमेरमा गर्भवती हुँदा त्यसले किशोरीको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने विशेषज्ञहरु बताउँछन् । १४ प्रतिशत किशोरी गर्भवती हुनुले अहिले पनि सानै उमेरमा विवाह गर्ने र कलिलैमा सन्तान जन्माउने तथ्यलाई उजागर गरेको चिकित्सकहरु बताउँछन् ।

कलिलै उमेरमा बच्चा जन्माउँदा आमा र शिशुलाई शारीरिक असर पर्ने प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. जागेश्वर गौतमले बताए ।

कानूनलाई नै चुनौती

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा २ मा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरका कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ ।

सोही दफाको उपदफा ३ मा जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद हुने उल्लेख छ । जसमा १६ वर्ष वा १६ वर्षभन्दा बढी तर १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैदको व्यवस्था गरेको छ । यस्तै, मुलुकी अपराध संहिता २०७४ को दफा १७३ मा २० वर्ष नपुगी विवाह गर्न वा गराउन बन्देज लगाइएको छ ।

उमेर नपुगी भएको विवाह स्वतः बदर हुने र यस्तो कसुर गर्नेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । तर, १४ प्रतिशत विवाहमा यो कानुन लागू भएको देखिँदैन । बालविवाह रोक्न बनाइएको कानुनविपरीत कलिलै उमेरमा विवाह हुने र किशोरावस्थामै आमा बन्ने स्थितिले कानुन कार्यान्वयन हुन नसकेकोे अधिवक्ता दुर्गा सापकोटाले बताए ।

‘सर्वेक्षणको आंकडाले अपराध भएको देखिएको छ । यस्तो हुन नदिन राज्यले दायित्व बहन गर्नु प¥यो,’ सापकोटा भन्छन्, ‘शिक्षालाई बाध्यकारी गर्नुपर्ने अवस्था देखिएको छ ।’

दिगो विकास लक्ष्यमा असर

सरकारले सन् २०३० सम्म मातृ मृत्युदर घटाउन दिगो विकास लक्ष्य लिएर काम गरिरहेको छ । तर, मन्त्रालयलको सर्वेक्षणलाई आधार मान्ने हो भने यसलाई असर गर्ने देखिन्छ ।
बालविवाहको ठूलो संख्या र सानै उमेर गर्भवतीले हुनेको तथ्यांकले कर्णालीको मातृ मृत्युदर कम गर्न गाह्रो पर्ने देखिन्छ ।

किशोरावस्थामा मातृ मृत्यु र शिशु मृत्युदर बढी हुने विभिन्न अध्ययनले देखाएका छन् । यसले अल्पकालीन र दीर्घकालीन अवस्थालाई चित्रित गर्नेहुँदा यसलाई रोक्न आवश्यक रहेको अधिवत्ता सापकोटाको भनाई छ ।

उमेर नपुग्दै आमा बन्छन् कर्णालीका बालिका

YUGAAWHAN NATIONAL DAILY (2080-03-19)

उमेर नपुग्दै आमा बन्छन् कर्णालीका बालिका

चीन जानुअघि किन नेकपा ब्युँताउने कुरा गर्दैछन्

Leave a comment

Your email address will not be published. Required fields are marked *