भेरिगंगा नगरपालिकाद्वारा बर्ष २०८० लाई सरसफाई वर्ष घोषणा

दिलिप ढकाल
भेरिगंगा, सुर्खेत ।
विश्व वातावरण दिवस, २०२३ को अवसरमा पूर्वि सुर्खेको भेरिगंगा नगरपालिकाले वि.सं. २०८० लाई सरसफाई वर्ष घोषणा गरेको छ । नगर क्षेत्रलाई स्वस्थ, स्वच्छ, सुरक्षित र सुन्दर बनाउने उदेश्यले विश्व वातावरण दिवसका अवसरमा पालिकाले सरसफाई वर्ष घोषणा गरेको हो । बाजागाजासहित नगरपालिकाबाट निकालिएकाे र्याली ईलाका प्रहरी कार्यालय, गंगामाला मन्दिर, बजार क्षेत्रबाट पिपल चौतारी हुँदै दुर्गा मन्दिर नजिक रहेको कार्यक्रमा स्थलमा पुगेर कोण सभामा परिणत भएको थियाे ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रि कृष्ण जिसीले भेरिगंगा नगरपालिकाले पहिलो पटक बर्ष २०८० लाई सरसफाई वर्ष घोषणा गरेकोमा प्रदेश सरकारको पूर्ण साथ र समर्थन रहेको बताए । घोषणा गरेर मात्र पुरा नहुने भन्दै यसकाे कार्यान्वयनकाे निकाय नगरपालिका भएपनि नागरिक, सामाजिक संघ सस्थाको तर्फबाट अभियानलाई सफल पार्न महत्वपुर्ण भुमिका हुने मन्त्री जिसीकाे भनाइ छ । साथै उनले दिवसका दिनदेखि नै प्लाष्टिक झोला प्रयोग नगर्न तथा बजारमा तरकारी लिन जाँदा पनि घरबाटै कपडाको झोला लिएर जान अनुराेध गरे ।
सरसफाईका क्षेत्रमा अभियान्ताको रुपमा राम्रो काम गर्ने ५० जनालाई आगामी आर्थिक बर्षमा कर्णाली प्रदेश सरकारले विभिन्न पदकबाट पुरस्कृत गरिने भन्दै सरसफाईमा खटेर लाग्न मन्त्री जिसीकाे आग्रह थियाे ।

यस्तै भेरिगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल तथा उपप्रमुख धनसरा बोहोराले कार्यक्रममा आफ्नो भनाई राख्दै सार्बजनिक यातायातमा पनि साेमबारदेखि लागु हुनेगरि डस्बिन अनिवार्य रुपमा राख्न र झोछेखोला, भेरी नदी र बबइको बिचमा प्लाष्टिकजन्य सामाग्री नफाल्न अनुराेध गरे । नगरपालिकाकाे अभियानमा असहयाेग गर्ने जाे काेहीलाई कारवाही गरिने उनीहरूकाे भनाइ छ ।
घर वरपर फोहोर नजलाउन तथा फोहोर नगर्न, फोहोर जम्मा भएमा कुनै एक ठाउमा जम्मा गरेर आवश्यक स्थानमा विसर्जन गर्न नगरपालिकाकाे आग्रह छ । नगरपालिका क्षेत्रभित्र प्लाष्टिक जन्य वस्तुको विक्रि वितरण नगर्नसमेत भनिएकाे छ । नगरपालिकाको ग्रिन सिटि, क्लिन सिटी अभियानलाई सार्थक र सफल बनाउन सम्पूर्ण नगरवासीकाे सहयाेगकाे अपेक्षा नगरपालिकाकाे छ ।
सरसफाई अभियानका अध्यक्ष नगर प्रमुख यज्ञ प्रसाद ढकाल, प्रमुख अतिथि कृष्णप्रसाद जिसी, बिशेष अतिथि नगर उपप्रमुख धनसरा बोहोरा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेल, विभिन्न शाखामा कार्यरत कर्मचारी, बिभिन्न राजनीति दलका प्रतिनिधि, उद्योग बाणिज्य संघका अध्यक्ष सोम ढकाल, निर्बाचित वडा अध्यक्ष तथा सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थीह, सुरक्षा निकायका प्रतिनिधि, संचारकर्मी लगायत स्थानीयको उपस्थितिमा सरसफाई वर्ष घोषणा कार्यक्रम सम्पन्न भएको हो ।






