अटोमा बेहोस हुने औषधि खुवाएर भेरी किनारमा बलात्कार

सुर्खेत  । सुर्खेतको भेरीगंगा नगरपालिका स्थायी घर भएकी १६ वर्षीया नाबालिका शनिबार दिउँसो वीरेन्द्रनगरबाट घर फर्किंदै थिइन् । उनी साँझ करिब ५ बजे घरनजिकैको जहरे बजार पुगिन् । उनले घर जान बजारदेखि करिब तीन किलोमिटरको यात्रा गर्नुपर्ने थियो । साँझ छिप्पिँदै गएकाले परिवर्तित नाम (क-१५) अटोको खोजीमा यताउता गरिरहेकी थिइन् । सोही क्रममा गुर्भाकोट नगरपालिका- ८, मेहेलकुनाका अन्दाजी २५ वर्षीय अटोचालक विवश घर्तीमगर एक जना साथीसहित अटो लिएर पुगे । घर्तीले (क-१५) लाई घर पुर्‍याइदिने भन्दै अटोमा बस्न लगाए । पीडित किशोरी र घर्तीबीच पहिलेदेखि नै चिनजान थियो ।

उनीहरू जहरे बजारबाट पूर्वतर्फ हिँडे । केही पर पुगेपछि अटोचालक घर्तीले चक्लेट खान दिए । चक्लेट नखाने भनेकी (क-१५) लाई घर्तीले बारम्बार कर गरेपछि उनले चक्लेट खाइन् । चक्लेट खाएको केही समयमै रिङ्गटा लागेको अनुभव उनलाई भयो । (क-१५) बहोस हुन लागेपछि घर्तीले जहरे बजारसँगै जोडिएको भेरी किनारतर्फ अटो मोडे । होस गुमाउँदै गएकी उनले कुनै प्रतिक्रिया जनाउन सकिनन् ।

‘जहरे बजारबाट घर जान अटोमा चढेँ । अटो चालकसँगै अर्काे एक जना केटा पनि थियो । उनीहरूले मलाई बाटोमै चक्लेट खान दिए । मैले खान्नँ भनेकी थिएँ तर उनीहरूले धेरै कर गरेपछि मैले चक्लेट खाएँ । खाएको केही बेरमै मलाई रिङ्गटा लाग्न थाल्यो । भेरी किनारमा पुगेपछि दुई जना मिलेर मेरो मुख खोलेर झोलजस्तो औषधि खुवाए । त्यसपछि के भयो म थाहा नपाउने भएँ,’ पीडित किशोरीले शिलापत्रसँग भनिन्, ‘मेरो शरीर आधा पानीमा र आधा जमिनमा घोप्टो पारेर फालिएको रहेछ । होस आएपछि आमालाई फोन गरेँ । म पूर्ण रूपमा होसमा थिइनँ, रिङ्गटा लागिरहेको थियो । घर पुगेपछि झन् गाह्रो भयो । हातखुट्टा साँघुरिएर श्वास फेर्न गाह्रो भएको महसुस हुन थाल्यो ।’

अटो चालक घर्ती र उनका साथीले आफूलाई बेहोस हुने औषधि खुवाएर जबर्जस्ती करणी गरेको उनको आरोप छ । घर्तीले केही दिनअघि पनि जबर्जस्ती करणीको प्रयास गरेको उनले बताएकी छिन् । ‘दिदीको घर जाँदा पहिला पनि जबर्जस्ती करणीको प्रयास गरेको थियो । त्यसपछि दिदीको घर गएकी छैन,’ पीडितले किशाेरीले भनिन् ।

‘शुक्रबार साँझ सायद त्यही ८ बजेतिरको समयमा बहिनीले आमालाई फोन गरेकी रहिछ,’ पीडित किशोरीका दाइले भने, ‘बहिनीले आफू भेरीको किनारमा रहेको बताएपछि गाउँलेसहित हामी त्यहाँ पुग्दा पूरै शरीर भिजेर अचेत अवस्थामा पल्टिरहेको भेट्टायौँ ।’

बेहोस अवस्थामै घरमा ल्याइएकी ती किशोरी अचेत अवस्थामै कराउने, चिच्याउने गरिरहेकी थिइन् । उनलाई थप समस्या हुन थालेपछि भोलिपल्ट जहरे बजारको एक मेडिकलमा पुर्‍याइयो । घटनाबारे परिवार बेखबर थियो । चिसोको कारण हुन सक्ने ठानेका उनका दाजुले मेडिकलमा उपचार नहुने भएपछि मेहेलकुना अस्पतालमा पुर्‍याए । तर, त्यहाँ उनको होस आउन नसकेपछि अस्पतालका डाक्टरहरूले प्रदेश अस्पताल लैजान सुझाए ।

प्रदेश अस्पतालमा थप उपचारपछि उनी पूर्ण होसमा आइन् । मंगलबार पूर्ण होसमा आएपछि मात्रै पीडित किशोरीले घटनाबारे परिवारलाई बताएपछि घटना बाहिरिएको हो । हाल स्वास्थ्य अवस्था सामान्य रहेकी उनलाई अस्पतालले १५ दिनसम्म औषधि खान सुझाउँदै डिस्चार्ज गरेको छ । घटनामा संलग्न भएको आरोपमा अटोचालक विवश घर्तीलाई छिन्चु प्रहरीले पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाएको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार आरोपित दुई जनाविरुद्ध जबर्जस्ती करणी मुद्दामा जाहेरी दर्ता भएको छ ।

‘जाहेरीका आधारमा आरोपित व्यक्तिमध्ये एक जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ । इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी प्रमुख रमेश राईले भने, ‘आरोपितमध्येका अर्का व्यक्तिको पहिचान हुन सकेको छैन ।’ प्रमुख राईका अनुसार पक्राउ परेका अटोचालक घर्तीले आफूमाथि लगाइएको आरोप इन्कार गर्दै आएका छन् ।

अटोमा बेहोस हुने औषधि खुवाएर भेरी किनारमा बलात्कार

अर्थमन्त्रीले मन लाग्दी याेजना बाँडे : का‌ग्रेस

Leave a comment

Your email address will not be published. Required fields are marked *