ब्राण्ड स्टाेरी : ‘सकस’मै कर्णालीको अचार

पुनम वी.सि
सुर्खेत,२१ पौष ।

अचार’ अर्थात अलिकति चाख्नलाई रसिलो । सामान्यतया पहाडी नेपाली खानामा एक पित्को भएपनि टाँठोपिरो अचार हुनैपर्छ, तब मात्र खानाको स्वाद आउँछ, नत्र खान्की पूरा हुँदैन । स्वाद अनुसारका अचार भए जिब्रो फड्कारेर पेट अघाउञ्जेल खाने धोको र रहर लगभग हामी सबैको हुन्छ ।

पहाडीया नेपालीको यहि स्वादे बानी तर व्यस्त दैनिकीका कारण समय व्यवस्थापन हुन नसक्दा घरमा अचार बनाउनका लागि पूरा गर्नुपर्ने लामै प्रक्रिया र लठारो गर्ने फुर्सद नहुने भएपछि अहिले धेरैका भातभान्सामा बजारका बनिबनाउ अचारका डब्बा पुगिसकेका छन् । नेपालकै विभिन्न ठाउँमा बनाएर ल्याइएका विभिन्न परिकार अनि स्वादका मात्र नभई भारतीय उद्योगमा उत्पादित अचार समेत अहिले कर्णालीका पहाडी जिल्लाहरुमा समेत धाक जमाउन थालेका छन् ।

यिनै देशी विदेशी अचारहरुसंगको एक्लो प्रतिष्पर्धामा उत्रिएको कर्णालीको नाम, रैथाने स्वाद र मौलिक पहिचान बोकेको ‘कर्णालीको अचार’ । उत्पादनका क्षेत्रमा दिनानुदिन परनिर्भर बनिरहेको कणालीमा यहिंको रैथाने स्वादलाई नै ‘ब्राण्ड’ बनाउने उद्देश्यले ‘कर्णालीको अचार’ अहिले बजारमा छ ।

विगत केहि वर्ष यता कर्णालीको अचारले यहाँ वीरेन्द्रनगरको बजारसँगै नेपालगञ्ज र काठमाण्डौंका बजारमा आफ्नो रवाफिलो उपस्थिति जनाईसकेको पनि छ । बजारमा कर्णालीको अचार नयाँ उत्पादन हो । प्रदेशमा कृषि उत्पादनका क्षेत्रमा समेत सक्रिय युवा सद्दामसिंह राठौरले कर्णालीको अचारलाई कर्णालीका बजारमा ल्याएका हुन् ।

यो उत्पादनले हाल खासगरी ६ प्रकारका अचारहरु समेटेको छ । अकबरे खुर्सानीको अचार, तामा र अकबरेको अचार, कागती र अकबरेको अचार, टिमुरको छोप, सिन्कीको छोप, लसुन–अदुवा–खुर्सानीको अचार उद्योगका उत्पादनहरु हुन् । वीरेन्द्रनगर–३ मा स्थापना भएको कर्णाली अचार उद्योगले यी उत्पादनहरुलाई राम्रो प्याकेजिङ्ग तथा लेभलिङ्गका साथ बजारमा पठाइरहेको छ ।

कर्णालीमा यसैपनि उद्योगमैत्री वातावरण निर्माण हुन सकेको छैन। उहाँ सञ्चालित साना उद्योगहरुलाई कच्चापदार्थ, लागत उत्पादन, बजारलगायतका क्षेत्रमा समस्या भोग्नुपर्ने बाध्यता उस्तै छ । जयन्ता शाहीको सञ्चालनमा १० लाख रुपैयाँ लगानीमा सुरु भएको कर्णाली अचार उद्योगले हालसम्ममा १२ लाख रुपैयाँ बरारबरमा उत्पादन बजारमा पठाईसकेको छ । तर उद्योग भने आफैमा सञ्चालनको कठिनाई भोग्न वाध्य छ ।

कर्णालीको कच्चापदार्थ, अन्त सस्तो

अचार उद्योगका लागि आवश्यक अकबरे खुर्सानी, उद्योग सञ्चालक आफैले उत्पादन गर्ने गर्छन् । खुर्सानी खरिदका लागि उद्योगलाई त्यति समस्या छैन । तर अचार बनाउनका लागि नभई नहुने कागती, टिमुर, लसुन जस्ता खाद्यवस्तु खरिदमा भने उद्योगले समस्या भोग्नुपर्छ ।

सञ्चालक राठौर भन्छन्, ‘उद्योग चलाउन समस्या नै समस्या छ । कच्चापदाथ भनेको बेला पाइदैन । त्यसमाथि पनि यसको मूल्य घटबढ भईरहन्छ ।’ कच्चापदार्थको समस्यामा उद्योगसँग टिमुरको उदाहरण छ । अचार बनाउन प्रयोग हुने टिमुर उद्योगले कर्णालीबाटै खरिद गर्दा झन् बढी लागत लाग्छ ।

‘ कर्णालीको टिमुर यहाँ खरिद गर्ने हो भने झन् महंगो पर्छ ।’ उनले भने, ‘तर यहि टिमुर काठमाडौंमा खरिद गर्दा भने सस्तोमा पाइन्छ ।’ उद्योगलाई टिमुर खरिद गर्दा कानूनी अड्चनहरु धेरै नै छन् । बजारमा उद्योगमैत्री मूल्यमा सधैंभर टिमुर उपलब्ध पनि हुँदैन । टिमुरको उत्पादन तथा निर्यातमा कानूनी अड्चनले विचौलिया हावी हुने र कच्चापदार्थको मूल्य बढ्ने उद्योगको भोगाई छ ।

कर्णालीबाट निर्यात भएको टिमुर अन्यन्त्र प्रदेशमा पुगेपछि प्रशोधन हुन्छ । आवश्यकता बमोजिम त्यसको बोक्रा तथा दाना पनि खरिद गर्न सकिन्छ । प्रशोधनले उद्योगहरुका लागि लागत मूल्य घटाइदिन्छ । टिमुरबाट तेल निमालिसकेपछि बाँकी अंश त्यहाँका उद्योगहरुले अचारमा प्रयोग गर्छन् । यसले उनीहरुको कच्चापदार्थमा लगानीलाई घटाउँछ । तर कर्णालीमा भने प्रशोधन नै नभएको टिमुर अन्यत्रको भन्दा महंगोमा खरिद गर्नुपर्ने उद्योगलाई बाध्यता छ ।

साना उद्योगलाई थिचोमिचो

कर्णालीको अचारको बजार भोगाईले समेत यहाँ साना उद्योगहरुलाई व्यवसायमैत्री बजार नभएको पुष्टि गर्छ ।  बजारमा कर्णालीको अचारको उत्पादन पुगेका छन् । तर पहिलेदेखि बजार कब्जा गरेर बसेका ठूला उद्योगहरुले भने नयाँ उत्पादनलाई थिचलोमा पार्छन् ।

उत्पादनमा थोरै वस्तु, थोक मूल्यको प्रतिशत, बजार व्यवस्थापनमा ठूला उद्योगको लगानीले कर्णालीको बजारमा यहाँका उत्पादनहरुलाई सकस नै हुन्छ । ‘बजारका एजेन्टहरुलाई नयाँ उत्पादनले बढी प्रतिशत दिनुपर्ने हुन्छ । ’ राठौरले भने, ‘एकातिर कर्णालीमा उत्पादन लगानी धेरै छ ।

अर्कातिर एजेन्टलाई धेरै प्रतिशत दिएर बजार प्रतिस्पर्धा गर्न पनि गाह्रो छ ।’ वीरेन्द्रगरमा अहिले तीन स्थानमा उद्योग आफैले समन्वयमा आफ्ना उत्पादन बिक्रिका लागि राखेको छ । वीरेन्द्रनगरस्थित कर्णाली मार्ट र मल तथा नेपाली सेनाद्वारा सञ्चालित खाद्य बिक्रि केन्द्रमा कर्णालीको अचार उपलब्ध छन् । नेपालगञ्ज तथा काठमाडौंका बजारमा भने एजेन्टले यी उत्पादन आफै बिक्रि गर्छन् ।

‘बी टु सी’ बाहेकको बजार छैन

कर्णाली प्रदेशका लागि ठूलो बजार भनेकै वीरेन्द्रनगर आसपास मात्र हो । यहाँका साना उद्योगहरुले यहि स्थानीय बजारलाई मात्र ध्यानमा राखेर उत्पादन गर्न सक्छन् । अन्यत्रको बजारका लागि भने सरकारी संयन्त्रबाट समेत उद्योगहरुलाई प्रोत्साहन र प्रवद्र्धनको आवश्यकता देखिन्छ । अचार उद्योगको लागि समेत कर्णालीमा ‘बी टु सी’ बजारको मात्र सम्भावना छ । ‘बिजनेशमेन टु कष्टमर’ अर्थात उत्पादकदेखि सिधै उपभोक्ता । यस्तो बजारले यहाँका उद्योग फष्टाउने सम्भावना बलियो नै छ ।

ग्राहकसँगको छोटो तथा सिधा सम्पर्कले यहाँका उद्योगलाई फाइदा हुन्छ । बाहिरका अन्य उद्योगले कर्णालीमा अस्वस्थ प्रतिष्पर्धाको सृजना गरिदिनाले पनि यहाँका उद्योगलाई सञ्चालनमै समस्या सृजना हुन्छ । राठौर भन्छन्, ‘हामीलाई सुलभ मूल्यमा कच्चापदार्थ उपलब्ध भएपनि हामीले उद्योगलाई राम्रै चलाउन सक्छौ । तर अवस्था भने कर्णालीको टिमुर यहाँभन्दा काठमाण्डौंमा सस्तो हुने भएपनि समस्या हुन्छ ।

’ कर्णालीका उत्पादन सरकारले नै खरिद गरी बिक्रि गर्ने खालको परिपाटी निर्माण हुन सके कच्चापदार्थको सहज उपलब्धतामा सहयोग हुने उनको धारणा छ । कर्णालीमा ठूलो परिमाणमा उद्योगलाई आवश्यक कच्चा पदार्थ उत्पादन समेत नभएकोतर्फ संकेत गर्दै उनले भने, ‘५० केजी, ४० केजी कागती खरिद गरिरहनुभन्दा हामीले एकैसाथ खरिद गर्न पाउँदा पनि राम्रै हुन्थ्यो । अहिले हामीले अचारलाई चाहिने कच्चापदार्थ छैन । 

ब्राण्ड स्टाेरी : ‘सकस’मै कर्णालीको अचार

अकालमा ज्यान गुमाउँदै राउटे बालबालिका

ब्राण्ड स्टाेरी : ‘सकस’मै कर्णालीको अचार

पैसा नहुँदा पेन्सन खुवाउन सकेन त्रिविले

Leave a comment

Your email address will not be published. Required fields are marked *