मानविय संवेदनशिलतामा ध्यान दिनुपर्छ !

वीरेन्द्रनगरमा शनिवार दुई घटना भए । विद्यालयमा अध्ययनरत एक बालकको मृत्यु र सोहि दिन सडक दुर्घटनामा अर्का एक बालकको ज्यान गएको घटनाले वीरेन्द्रनगर दुःखित भयो । यसअघि पनि सडक दुर्घटना तथा यस्ताखाले घटनामा वीरेन्द्रनगरमा आन्दोलन समेत नभएका होइनन् । यसपालि पनि आन्दोलन भयो । शनिवार र आईतवार पीडित परिवारका आफन्तले वीरेन्द्रनगरमा आन्दोलन नै गरे । शनिवारका दिन वीरेन्द्रनगर स्थित उषा बालवाटिकाको ‘होस्टेल’ मा समेत भौतिक क्षति पुर्याइयो । त्यहाँ अध्ययन गर्ने अन्य बालबालिकाले समेत प्रयोग गर्ने भौतिक सामाग्रीहरु आक्रोशित पीडित परिवारका सर्मथकहरुले जलाएका थिए ।
घटना यो मात्र होइन, वीरेन्द्रनगरमा यसअघि समेत भएका आन्दोलनका घटनाहरुमा आफ्ना माग राखेका समुहरु हिंस्रक भएका घटनाहरु छन् । यस्ताखाले हिंस्रक घटनामा अन्य व्यक्ति तथा समुदायले अस्वभाविक रुपमा क्षति व्यहोर्नु परेको छ । सडक दुर्घटना तथा मानविय क्षति पुगेका घटनाहरुमा हाम्रो समाज अहिले अधिकारको माग सहित हिंसाको बाटोमा अघि बढेको देखिन्छ । आफ्ना अधिकारहरुका लागि हाम्रो समाजले अरुका अधिकारको विषयमा ख्याल नै गर्दैन । बाटो हिडेका बटुवाको पनि उनका अधिकारहरु छन्, वीरेन्द्रनगरमा व्यवसाय सञ्चालन गरेका व्यवसायिका समेत अधिकारहरु छन् । यि लगायतका विषयमा हामी संवेदनशिल हुन सकिरहेका छैनौं । हामी हाम्रा अधिकारको माग तथा कानूनी न्यायका लागि पहिलो प्राथमिकता नै आन्दोलनलाई दिईरहेका छौँ ।
द्वन्द्वको जगमा स्थापना भएको हालको व्यवस्था कार्यान्वयनका समयमा यस्ता घटनाहरु दोह्रोरिनु कुनै नौलो विषय पनि होइन । अधिकारको मागका लागि आन्दोलन नै गर्नुपर्ने भन्ने विषय हाम्रो मानसपटलमा पहिलो स्थानमा आउँछ । यसअघिका शिक्षक आन्दोलनले समेत यही जनाएको छ । तीन तहका सरकारमा रहेका पदाधिकारीहरु समेत नागरिकले सडक आन्दोलन नगरेसम्म उनीहरुका मागका विषयमा त्यति गम्भिर भएका देखिदैनन् । यसको पहिलो कारण भनेकै कानून कार्यान्वयन गर्न–गराउन अधिकार प्राप्त निकायको सुस्तता समेत हो । उनीहरु प्रति आमनागरिकको विश्वास घट्दै गएको देखिन्छ । सडक दुर्घटनामा आन्दोलन नै गर्नुपर्ने अवस्था हाम्रा कानून तथा कानून कार्यान्वयन गराउने निकायका गतिविधिका कारण हुन् । कानून कार्यान्वयन गराउन पहिलो भूमिका निर्वाह गर्ने प्रहरीको कमजोरी छ भनेर भन्न खोजिएको होइन । प्रहरीले अनुसन्धानबाट ठुला खाले अपराधहरुलाई कानूनी दायरामा ल्याएको पनि छ । तर सवाल यहाँ के छ भने आम नागरिकहरु उनीहरुमा विश्वास गरिरहेका छैनन् । प्रहरीले विभिन्न खाले दवावका आधारमा घटनालाई अनुसन्धानमा प्रभाव पारेरै अघि बढ्छ भन्ने आमनागरिकको बुझाई छ । आफ्नै राज्यका संयन्त्रलाई यसरी बुझ्नु नागरिकका लागि भ्रम हो । तर, उनीहरुलाई आफुप्रति बुझाउन नसक्नु तथा आफ्ना कामका प्रगति सहित प्रहरी समेत सबै नागरिक सामु उपस्थित हुन नसक्नु कमजोरी देखिन्छ । यि लगायतका विविध कारणले वीरेन्द्रनगरको समाज यस्ता घटनामा हिंस्रक बनिरहेको छ । आफ्ना अधिकारको सवालमा अरुको मानव अधिकारमाथि आक्रमण गर्नु हुदैन । यस तर्फ सबै नागरिकहरुको ध्यान जान जरुरी छ । आन्दोलन मात्र अधिकार प्राप्तीका बाटोहरु होइनन् । नागरिकमा संवेदनशिलता हुन जरुरी छ । राज्य संयन्त्रमा कुनै निकायले नागरिक अधिकार दवाउन खोज्यो भने त्यो निकाय भन्दा माथिल्ला निकायमा उजुर गर्न सकिन्छ, उनीहरुलाई गुनासो गर्न सकिन्छ । तर, अधिकार प्राप्तीको वहानामा अरुका अधिकार हनन गर्नु र क्षति पु¥याउनु मानविय संवेदनशिलता होइन । यस तर्फ हामी सबैको ध्यान जान जरुरी छ !






