संक्रमण फैलन रोक्दा एचआईभी नियन्त्रण सम्भव छ’

पुनम वि.सी., सुर्खेत ।
वीरेन्द्रनगरकी एक युवतिलाई एचआईभी संक्रमण भएको २४ वर्ष बढी भईसकेको छ । एचआईभी संक्रमण विरुद्द अहिलेपनि उनले नियमित औषधी सेवन गरिरहेकी छिन् ।
एचआईभीमा पनि चिकित्सा शास्त्रले धेरै प्रगति गरिसकेको छ । अहिले एचआईभी संक्रमण सम्भावित् घटना भएको १४ दिनमै संक्रमण भए नभएको विषयमा चेकजाँच गर्न सकिन्छ । हाल संक्रमितहरुले प्रयोग गरिरहेको औषधीले समेत अन्य व्यक्तिमा संक्रमण सार्न निस्तेज गर्छ । यस्तो अवस्थामा पनि संक्रमित ति महिलालाई लुकाएर औषधी खानुपर्ने वाध्यता छ ।
उनले भनिन्, ‘हामीले औषधी खान पर्दा घर वाहिर छौ भने ट्वाइलेटमा गएर समेत लुकेर खान पर्छ । समाजले अझैपनि हामीलाई स्विकारिसकेको छैन ।’ खासगरी कर्णालीको ग्रामिण भेगमा एचआईभी संक्रमण भएका नागरिकहरु खुलेर औषधी सेवन सेवन गर्न सकिरहेका छैनन् ।
आफु वसोवास गरिरहेको क्षेत्र नजिकै औषधी वितरण हुने एआरटि सेन्टर रहेपनि नागरिकहरु सामाजिक तिरस्कारको डरले अन्यत्र टाढाका स्वास्थ्य संस्थामा पुगिरहेको उनले बताइन् । ‘यतिसम्म छ कि, केहि साथिहरु कामका लागि वाहिर जानुहुन्छ । उहाँहरु औषधी खाने समय भयो भने ट्वाइलेटमा गएर खानुहुन्छ’, शनिवार राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा एचआईभी संक्रमित मानव अधिकार र कानून पुनरावलोकन सम्बन्धि छलफल कार्यक्रममा बोल्दै उनले भनिन् ।

सामाजिक चेतना अभावले अहिले एचआईभी संक्रमण अवस्थामा वाहिर खुलेका नागरिकहरु पनि पछुताउन थालेको नवकिरण प्लसका कार्यक्रम संयोजक देवेन्द्र पाठक बताउछन् । उनका अनुसार तीन तहका सरकारले आफ्ना कार्यक्रमहरुमा एचआईभी संक्रमितहरुलाई समावेश गर्न नसक्दा तथा समाजमा समेत चेतनाको वृद्धि नहुँदा समाजमा खुलेका एचआईभी संक्रमितहरु अहिले पछुताउन थालेको उनले बताए ।
‘एचआईभी संक्रमितहरुका लागि पोषण कार्यक्रम अन्र्तगत लिटो वितरण हुन्छ । त्यतिले उहाँहरुलाई पुग्दैन । यस तर्फ ध्यान दिनैपर्छ ।
त्यसैगरी बीमा कार्यक्रमले समेत संक्रमितहरुलाई उपचारमा सहज बनाउन सकेको छैन’, उनले भने, ‘महंगा औषधी बीमाले दिदैन । सस्ता औषधी मात्र पाएर के गर्ने ?’
अहिले कर्णालीबाट रोजगारीका लागि भारत जानेहरु समेतलाई नियमित औषधी सेवन गर्न समस्या रहेको उनले बताए । ‘रोजगारदाताले एचआईभी संक्रमण भएको जानकारी पाएमा उनीहरुलाई कामैबाट निकालिन्छ । यसले झन् थप समस्याको सिर्जना भएको छ । उनीहरुलाई ६ महिनासम्मको औषधी वितरणको व्यवस्था मिलाउनु पर्छ’, उनले भने ।
संक्रमितहरुका लागि यो मात्र समस्या होइन । निशुल्क बीमाका कार्यक्रमका लागि नाम र ठेगाना खुनाउनै पर्ने अवस्था छ । यसको कारण पनि एचआईभी संक्रमितहरुलाई समाजमा खुल्नु पर्ने वाध्यता छ । तर एचआईभी संक्रमणलाई अहिले पनि अत्यधिक स्वास्थ्य जोखिम ठान्नेहरुले समाजमा खुलेका संक्रमितहरुका मानव अधिकार स्विकारिसकेका छैनन् । यस्तो अवस्थामा समाजमा एचआईभी संक्रमण झन् बढ्ने देखिन्छ ।
‘जनचेतना बढाउन पालिका अग्रसर हुनुपर्छ’
संघीयता पछि जनचेतना लगायतका विषयमा पालिकालाई जिम्मेवार बनाईएको छ । समाजमा विभिन्न खाले जनचेतना वृद्धि गर्न स्थानीय तह अग्रसर हुनुपर्छ । तर हाल नेपालमा त्यो हुन सकेको छैन ।
एभआईभि नियन्त्रण केन्द्र, काठमाडौंका निर्देशक डा. सञ्जय ठाकुरले भने, ‘पहिला जस्तो त छैन नि । पहिले तीन महिनामा पृष्टि हुन्थ्यो । अहिले १४ दिनमै एचआईभी संक्रमणको अवस्था चेकजाँच गर्न सकिन्छ । संक्रमण र संक्रमितहरु प्रति सामाजिक नजरमा अव प्रहार गर्नुपर्ने अवस्था आएको छ । समाजमा चेतनाको अभाव छ ।’
एचआईभी संक्रमितहरुबाट अहिले सन्तान पनि जन्म भईरहेका छन् । औषधीको सेवनबाट एचआईभीलाई अन्य व्यक्तिमा सर्नबाट रोक्न सकिन्छ । तर नागरिकहरु एचआईभीसँग डराईरहेका छन् । उनले भने, ‘पहिला टेष्ट गराउँछन् । संक्रमण देखियो भने उनीहरु उपचारमा नै आउदैनन् । एक–दुई वर्ष त गायव नै हुन्छन् । यो सबै मानसिक चेतनाको अभावले भएको हो । शुरुवातबाटै नियमित औषधी सेवन तथा उपचार हुन सके संक्रमण रोकथाम पनि सहज नै छ ।’
अर्को विषय भनेको हाल समाजमा रहेका एचआईभी संक्रमितहरुको यथार्त तथ्यांक समेत छैन । स्थानीय स्तरमै जनचेतना बढाएर संक्रमितहरुको तथ्यांक वडामा राख्ने व्यवस्था गर्नुपर्ने डा. ठाकुरले बताए । यसबाट उनीहरुलाई राज्यका सुविधामा जोड्न समेत सहज हुने उनको धारणा छ । यस अवस्थामा स्थानीय तहले नै एचआईभी संक्रमण, हालको उपचार पद्दती लगायतका विषयमा जनचेतना फैलाउन जरुरी छ ।
कर्णालीमा सात सय १३ जना एचआईभी संक्रमितहरु रहेको उनले जानकारी दिए ।





