संर्घष र सफलता : डबल मास्टर्स गरेका ‘बाख्रा गोठालो’

सिर्जना बुढाथोकी
सुर्खेत,१८ पौष ।

मृत्युको मुखबाट फर्किएको बाल्यकालः

वि.सं. २०५१ सालमा दैलेखको भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीमा जन्मिएको म पदमबहादुर खड्का । मेरो बाल्यकाल यति पीडादायी छ कि म सम्झन पनि चाहन्न् । एकदमै नाजुक परिवार हो मेरो । मेरो बुवा पेशाले शिक्षक हुनुहुन्थ्यो तर सन्तानको दुःखमा साथ दिंदा त्यो जागिर पनि खोसिएको हो मेरो बुवाको ।

हाम्रो परिवारमा बुवा, आमा, हामी तीन भाई अनि तीन दिदीबहिनी गरेर ८ जना थियौ । म जेठो सन्तानका रुपमा जन्मिएको हुँ। जसोतसो बाल्यावस्था कट्दै थियो अचानक एक दुर्घटना मेरो जीवनमा आयो । म पाँच वर्षको हुँदा मेरो घरको बार्दलीबाट लडेर निधारमा करिब दश भन्दा बढी टाँका लाग्ने गरी काटियो र मेरो हातपनि भाँचियो ।

जुन दिन म लडे त्यसदिनको दुई दिनपछि मात्रै मेरो होस आएछ । त्यो समय मेरो गाउँमा हस्पिटल थिएन । बुवापनि आफ्नो जागिरमा घरदेखि टाढा । आमाले मेरो टाउकोमा जडिबुटीको सहाराले घाउमा मल्हमपट्टी त गर्नुभयो तर मेरो होस भने ल्याउन सक्नुभएन । दुई दिनसम्म होस नआउँदा अब यसको जीवन रहेन भनेर मेरो परिवारले मलाई खाल्डो खनेर गाड्ने योजना बनाएको रहेछ ।

तर, मेरी आमाले मेरो श्वास चलिरहेको अनुभूति गरेर होस् आउँछ भन्दै पर्खिनुभएको त्यो पल अहिले आमाको मुखबाट सुन्दा मेरो मननै डराएर आउँछ । अनि मेरी आमाको आखाबाट आँशुको भेल । त्यसपछि दुई दिनको साँझ मात्रै मेरो होस आएपछि मेरो घरमै जडिबुटीको माध्यमबाट उपचार भयो ।

मेरो बुवा जागिरको लागि टाढा भएकाले घर आउन सक्नुभएन, किनकी सञ्चारको माध्यम पनि त्यो समय चिठ्ठी मात्रै भएकाले खबरपनि धेरै ढिला पाउनुभयो र छ महिनापछि बुवा घरमा आउनुभयो । उहाँ घर आएर मलाई उपचारका लागि भारतको चण्डीगढमा लिनुभयो । मेरो उपचारका लागि भारतमा ६ महिना बस्नुपर्यो हामी ।

र, त्यो क्रममा मेरो बुवाको जागिरनै गईसकेको थियो । उपचार गरेर घर फर्किएपछि मेरो पढाई शुरु भयो । कक्षा १ देखि ५ सम्म मेरो गाउँकै कैलाश माध्यमिक विद्यालयमा अनि ६ देखि १० कक्षासम्म ज्वाला उच्च माध्यमिक विद्यालय बेस्तडामा पढेको हो । मेरो बुवाको जागिरनै नरहेपछि पढाउनका लागि आर्थिक श्रोतपनि केहि भएन मेरो बुवासंग ।

अनि मेरो मामाहरुले मलाई आफ्नो घरमा राखेर पढाउनुभएको हो । मेरो बुवालेपनि आफु १० वर्षको उमेरमा हुँदा बुवा गुमाएर परिवारको जिम्मेवारी बोकेर हुर्किनु भएकोले सार्है संघर्ष गर्नुभएको हो । खानबस्न मामा घरमा भएपनि अन्य खर्चको लागि शुक्रबार घर गएर १० रुपैयाँ लिएर आउने र त्यसलेनै एक हप्ता पुर्याउनुपर्ने थियो ।

मेरो जीवनमा शिक्षाको ज्योति छर्ने मेरो मामाघरको परिवार पनि एक हिस्सा बन्यो । यसरी मैले वि.सं. २०६५ सालको एस.एल.सी पास गरेर विद्यालय स्तरको पढाई सके ।

उच्च शिक्षाका लागि वीरेन्द्रनगरः

एस.एल.सीपछि म उच्च शिक्षाका लागि वीरेन्द्रनगर झरे । वीरेन्द्रनगर आएर म प्राविधिक शिक्षाका लागि सुर्खेत प्राविधिक शिक्षालयमा सी.एम.ए पढ्नका लागि भर्ना भए ।

त्यसपछि मैले कामको खोजी गरे । खर्च व्यवस्थापनका लागि मैले सुर्खेतको देउती नर्सिङ्ग होममा काम गरे त्यो समय मेरो तलब १२ सय रुपैयाँ थियो । केहि महिना भोलेन्टियर काम गरेपछि मैले यो मौका पाएको थिएँ । त्यसपछि करिब डेढ वर्ष प्रदेश अस्पतालमा पनि काम गर्ने अवसर पाएँ ।

मैले पढेको प्राविधिक विषयकै स्थायी जागिरका लागि मैले लोकसेवाको पनि तयारी गरे र बुटवलबाट परीक्षा दिएँ तर मेरो नाम वैकल्पिकमा निस्कियो । त्यसपछि मैले लोकसेवाको परीक्षानै दिएन ।

युवा गैरसरकारी सस्ंथा महासंघ कर्णाली प्रदेशको उपाध्यक्ष, कर्णाली खोज अनुसन्धान केन्द्रको सदस्य, दैलेखी विद्यार्थी एकता समिति कर्णाली प्रदेशको अध्यक्ष हुँदै मैले कर्णालीको विकासको वहसका लागि स्वर्णिम कर्णाली भन्ने किताब पनि निकाले । मैले दुई वटा विषयमा मास्टर्स गरेको छु। एम.ए अंग्रेजी विषयमा र स्नातकोत्तर अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा । त्यसपछि कोभिड महामारी आयो र म आफ्नैे गाउँ दैलेख फर्किए ।

व्यवसायमा जोडिने अवसरः

कोभिड महामारीले मानिसको जीवननै जोखिममा भएपछि सबैजना आफ्ना गाउँ फर्किसकेका थिए । करिब २३ वर्षको भएपछि मैले विवाह गरेको थिएँ । अहिले मेरो छोरी छ नर्सरीमा  पढ्दै छ । बजारमा सबै सुनसान अवस्था थियो, भएका पनि घरबाट निस्किने अवस्था थिएन । गाउँ फर्किएको म अब कृषि व्यवसायतर्फ लाग्ने योजना बनाएँ र परिवारले पनि साथ दिने कुरा भयो ।

करिब १० लाखको लगानीमा मैले व्यवसायी रुपमा बाख्रा पालन गर्ने योजनाका साथ खोरहरु निर्माण गर्न थाले । युवाहरु उद्यममा लागेपछि भावी पुस्तालाई पनि प्रेरणा दिन र ज्ञान बाँड्न सहज हुने सोच मेरो आयो । आफु सक्षम भएपछि मात्रै अरुलाई सल्लाह,सुस्झाव दिन सकिन्छ भन्ने सोचले मैले यसरी कृषिलाई अंगालेको हो ।

यो मेरो महत्वकांक्षी योजना थियो, थाहा थिएन सफल हुन्छु हुँदिन तर मैले काम गरे । एक वर्षसम्म मेरो बाख्राको खोर निर्माण र बाख्राका जातहरु पहिचानमै खर्चिए । अनि शुरु गरे करिब ९ लाखको लगानीमा ५० वटाको संख्यामा बाख्रा राखेर । बीचमा बेच्दै पनि गएँ र शुरु गरेको एक वर्षमा मसंग ८६ वटा बाख्रा भए ।

अहिले १६ लाख बराबरको खसी बाख्रा मसंग छन् । बिहान घरमा बाँध्ने विकासी बाख्रालाई घरमा राखेर जंगलमा घाँस काट्न जान्थे अनि दिउँसो चराउन लग्ने बाख्रा, खसी लिएर गोठाला जान थाले । मलाई यस काममा मेरा घरका सबै परिवारले साथ दिएका छन् । मैले आफ्नो व्यवसायबाट भएको फाईदाको केहि भागले अनाथ तथा असहाय बालबालिकालाई कापी, कलम, कपडाहरु सहयोग गर्ने गरेको छु। दुई जनालाई मैले रोजगारी दिएको पनि छु।

बाख्रापालन भनेको ढिलो हुने व्यवसाय भएकाले तत्कालै नाफाको आशा हुँदैन तर मैले धेरै रकम दिन नसके पनि कामदार दुई जनाको हरेक समस्या टार्ने र अन्नपात व्यहोरिरहेको छु। करिब डेढ सय लोखल कुखुरा राखेरपनि खोर बनाएर व्यवसाय पनि गरिरहेको छु। अहिले मेरो परिवार र कामदार दुई जनाले व्यवसाय सम्हाली राख्नुभएको छ ।

शुक्रबार र शनिवार म आफ्नो फार्मको काममा हुन्छुभने बाँकी बार मैले कक्षा ११ र १२ लाई पढाउने पनि काम गरिरहेको छु। तर वास्तविक किसानले सरकारको अनुदान प्राप्त गर्न नसकेकोमध्ये एक मपनि हो । सरकारले किसानलाई दिने सहुलियत छ भन्ने भएपनि जसले पाएका छन् वास्तविक नभएर कागज देखाएर लिने र अर्को काममा लगानी लगाएका छन् तर मैले यो प्रकृया गर्दा पनि पाएन । किनकी कतिपय युवाको योजना र ईच्छा भएपनि लगानी नहुँदा जोखिम मोल्न नसकेको उदाहरण धेरै छन् ।

मैले बैंकंमा कागजात पेश गरेपनि त्यसमा हामी पर्न सकेनौ यहाँ सबै आफ् ना, राजनीतिक पहुँच, आसेपासे, नजिकको नाता चाहिदो रहेछ त्यो हाम्रो पुगेन् । मिडियामा आउँछन् सरकारका तर्फबाट आउने सहयोग किसानका लागि तर त्यो वास्तविक किसानले पाएका छैनन् भन्ने कुराको प्रमाण म आफै छू ।

मैले अझै व्यवसायलाई अगाडि बढाउन सकेको छैन हामीलाई बजार व्यवस्थापनदेखि बाटो अनि घाँसपात र दानापानीको समस्या छ । मसंग बोयर ५० प्रतिशत र अरु लोकल खरी जातका बाँकी छन् । गाउँमा ७ सयका रुपैयाँ प्रति किलो दरले ज्यूँदो खसी बिक्री भैरहेको छ । सरकारले अलिकति विक्रि वितरणमा पनि सहयोग गरेको भए हुन्थ्यो भन्ने लाग्छ ।

मेरो बुवाको संघर्षले अहिले हामी सबै रोजगारीमा जोडिएका छौ । मेरो माइलो भाई इण्डियन आर्मी, कान्छो भाई नेपाल आर्मी, माइली बहिनी बी.बी.एस पढिराछिन्, कान्छि बहिनी मात्रै अलि सानी कक्षा ७ मा पढ्दै छिन् । अनि ठूली बहिनी पढाई सकेर विवाह गरिन् । कुनै समय अति विपन्न मेरो परिवार अहिले गाउँकै राम्रो अनि सम्पन्न परिवार बनेको छ ।  मेरो सपना पनि इञ्जिनियर बन्ने थियो तर परिस्थितिले मलाई सुर्खेतबाट अगाडि जानै दिएन । अब मेरो एउटै लक्ष्य सामाजिक सेवाको भाव राखेर अघि बढ्ने हो ।

संर्घष र सफलता :  डबल मास्टर्स गरेका ‘बाख्रा गोठालो’

YUGAAWHAN NATIONAL DAILY (2079-09-18)

संर्घष र सफलता :  डबल मास्टर्स गरेका ‘बाख्रा गोठालो’

YUGAAWHAN NATIONAL DAILY (2079-09-19)

Leave a comment

Your email address will not be published. Required fields are marked *