कर्णालीलाई आकासे पानीकै भर, धेरै भूभाग रोपाई हुन सकेन

सुर्खेत, १६ असार ।
नेपालमा मनसुन भित्रिएसँगै यता कर्णाली प्रदेशमा पनि धान रोपाई सुरु हुन थालेको छ । सिँचाई. सुविधा भएका कर्णालीका खेतहरुमा रोपाईं सुरु भएपनि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेका खेतवारीमा भने रोपाईं सुरु हुन सकेको छैन ।

वीरेन्द्रनगर–१०, सानो सुर्खेतका किसान शिव थापाले भने, ‘हाम्रो तिर त अहिले बल्ल बाँझो मार्न थालेका छौँ । खोला छेउछाउका खेतमा धानको बिउ त राखियो । तर के गर्नु रोप्नलाई पानी छैन । त्यसैले ढिला गरिएको हो ।’ कर्णालीमा कुल दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर खेतीयोग्य जमिन छ ।

यी सबै क्षेत्रमा सिँचाई सुविधा भने पुगेका छैनन् । कहिँ पानीको समस्या छ, त कही पानी सिँचाईंका लागि चाहिने पूर्वाधारको । कर्णालीका किसान अझैपनि धान रोप्ने बेला आकाशे पानीकै भर पर्ने गरेका छन् ।

थापाले भने, ‘खेत सुख्खा भएको थियो । आज (असार १५) गते विहान परेको पानीले केहि भिजेको छ । अहिले जग्गा बाँझो मार्दै छौ । अव अर्को पानीमा रोपाईं गर्ने हो ।’ वीरेन्द्रनगर–१० को सानोसुर्खेत भुभागमा सिंचाई सुविधा अझै पुगेको छैन । यहाँका नागरिकलाई रोपाईंका लागि आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता छ । थापाले भने, ‘सरकारका योजनाहरु त यहाँ आएकै हुन् । तर चाहिएको बेलामा सञ्चालनमा आएको भने छैनन् । हामी आकाशे पानीकै भरमा छौ ।’

कर्णालीमा कुल दुई लाख १६ हजार आठ सय ८० हेक्टर जमिनमा मात्र खेती गरिएको छ । जसमध्ये ६८ हजार तीन सय ३५ हेक्टर जमिनमा सिंचाई सुविधा छ । खेती सञ्चालन भएका जमिनको ३१ दशमलव ५१ प्रतिशत भुभागमा सिंचाई सुविधा छ । बाँकी एक लाख ४८ हजार पाँच सय ४५ हेक्टर जमिनमा आकाशे पानीको भरमा खेति गरिँदै आइएको छ ।

सिंचाई सुविधा रहेका जमिनमध्ये पनि वर्षभरी कुल ३८ हजार ३३ हेक्टर जमिनमा सिंचाई पुग्छ । बाँकी ३० हजार तीन सय दुई हेक्टर जमिनमा आंशिक रुपमा मात्र सिंचाई पुगेको छ । जिल्लागत रुपमा हेर्दा सल्यानमा सबैभन्दा धेरै भूभागमा खेती गरिएको छ । सल्यानमा कुल ३८ हजार नौं सय २९ हेक्टर जमिनमा खेती गरिएको छ ।

रुकुम पश्चिममा २५ हजार एक सय २६, सुर्खेतमा ३७ हजार चार सय ४४, दैलेखमा ३४ हजार चार सय ९७, जाजरकोटमा १६ हजार ६ सय ९८, डोल्पामा ६ हजार पाँच सय ६०, जुम्लामा २५ हजार चार सय ३५, कालिकोटमा आठ हजार सात सय ५०, मुगुमा १८ हजार चार सय २१ र हुम्लामा कुल पाँच हजार २० हेक्टर जमिनमा खेती गरिएको भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयको तथ्यांक छ ।

मन्त्रालयका अनुसार खेती गरिएका जमिनमा सिँचाई सुविधा पुगेको जिल्लामा सबैभन्दा बढी कालिकोट रहेको छ । कालिकोटमा खेती गरिएका जमिन मध्ये ६१.१९ प्रतिशत जमिनमा सिंचाई सुविधा पुगेको छ ।

रुकुम पश्चिमको २७.७२ प्रशितशत, सल्यानको १९, सुर्खेतको ६०.६९, दैलेखको २८.३६, जाजरकोटको ४७.५४, डोल्पाको २७.९७, जुम्लाको १२.९९, मुगुको १०.४७ र हुम्लाको २१.९९ प्रतिशत खेति गरिएका जमिनमा सिंचाई सुविधा छ ।

२८ प्रतिशत क्षेत्रमा रोपाईं सकियो
कर्णालीमा धान रोपाईं गरिने क्षेत्र मध्ये २८ प्रतिशत भुभागमा धान रोपाईं भएको छ । मंगलबार साँझसम्म कर्णालीमा अहिलेसम्म जम्मा २८ प्रतिशतमात्र धान रोपाइँ भएको हो । कर्णालीमा हुल दुई लाख १६ हजार आठ सय ८० हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । खेती गरिने कुल जमिनमध्ये ३८ हजार आठ सय ८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हँुदै आएको छ ।

धान रोपाइँ हुने मध्ये १० हजार आठ सय ९२ हेक्टर क्षेत्रफल जमिनमा हालसम्म रोपाइँ सकिएको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयका अनुसार हालसम्म जुम्लामा ९८ प्रतिशत रोपाइँ सकिसकेको छ । यस क्षेत्रमा जेठ महिनादेखिनै रोपाइँ सुरु हुन्छ । झण्डै २९ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने जुम्लाका अधिकांश ठाउँमा मार्सी धान रोपिन्छ ।

धान रोपाईं कम भएको जिल्ला भने सुर्खेत छ । यहाँ हालसम्म जम्मा पाँच प्रतिशत भुभागमा रोपाईं सकिएको छ । यस्तै, कालिकोटमा ६०, हुम्लामा ७२, मुगुमा ३४, सल्यानमा ३०, डोल्पामा ९६ प्रतिशत रोपाइँ भएको छ । अघिल्लो वर्ष यी जिल्लाहरुमा ४ देखि ५ प्रतिशतभन्दा बढीका दरले रोपाइँ सम्पन्न भएका थिए ।

अघिल्लो वर्ष झण्डै ५० प्रतिशत रोपाइँ सम्पन्न भएको दैलेखमा यो पटक जम्मा १५ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले जानकारी दिए । यसका साथै जाजरकोटमा ३८ र रुकुम पश्चिममा ४० प्रतिशत धान रोपाइँ भएको छ । अघिल्लो वर्षमा यो अवधिमा यी जिल्लामा ४५ प्रतिशतभन्दा माथि रोपाइँ सम्पन्न भएका थिए ।

सिंचाईंका कार्यक्रम ल्याएका छौँः कृषि मन्त्री
१९ औं धान दिवस वीरेन्द्रनगरमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ मुल नाराका साथ कृषि विकास निर्देशनालयको आयोजनामा वीरेन्द्रनगर–१० स्थित मनिकापुर कृषि तथा सहकारी संस्थासँगको समन्वयमा धान दिवस विविध कार्यक्रमका साथ मनाइएको छ ।

धान दिवसका अवसरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीलगायतको उपस्थिती रहेको थियो । आयोजित कार्यक्रममा मन्त्री शाहीले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कर्णाली प्रदेश सरकारले सिंचाई क्षेत्रका विविध कार्यक्रमहरु ल्याएको बताएका छन् ।

उनले भने, ‘प्रदेश सरकारले ल्याएको कार्यक्रममा सिचाईंका धेरै आयोजनाहरु जोडिएको छ । यसले कर्णालीमा सिचाईं सुविधा नभएका धेरै भुभागको समस्या समाधान गर्ने विश्वास लिएका छौँ ।’ यसका साथै कर्णालीमा मल अभावको गुनासो विषयमा मन्त्री शाहीले संघीय सरकारसँग मलका लागि पहल गरेपनि संघिय सरकारले कर्णालीलाई मल उपलब्ध गराउन नसकेको जनाए । उनले भने, ‘कर्णालीका लागि मल उपलब्ध लगाउन हामीले अनुरोध गरिरहेका छौँ । तर यो राष्ट्रिय समस्या नै हो । संघीय सरकारले नै नेपालमा मल भित्राउन सकिरहेको छैन ।’

कर्णालीलाई आकासे पानीकै भर, धेरै भूभाग रोपाई हुन सकेन

सम्पादकिय :  कर्णालीको औद्योगिक अवस्था

Leave a comment

Your email address will not be published. Required fields are marked *