कर्णालीमा विकास गर्ने हैन खाने प्रवृत्ति छः कँडेल

सुर्खेत । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीका विकास गर्ने नभई खाने प्रवृत्ति भएको बताएका छन् ।
सोमबार प्रदेशसभाको दशौं अधिवेशनको सातौं बैठकमा आगामी आर्थिक बर्षको लागि प्रस्तुत नीति, कार्यक्रम र बजेटका उद्देश्य र सिद्धान्तमाथीको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
यस्तै प्रवृत्तिको अन्त्य हुन आवाश्यक रहेको उनले बताए । उनले भने,‘ आफ्नो आम्दानीको हिस्सा सरकारको दस्तावेजमा प्राथमिकता दिइएको छैन । संघीय सरकारले दिएको अनुदानमा प्रदेश संरचना चलाउने तहका मान्छे हामी छौं ।’
कँडेलले कर्णालीलाई मगन्ते र भिखारी प्रदेशको रुपमा स्वीकार गर्ने कुरा राम्रो नभएको भन्दै सरकारले आफ्नो आन्तरिक आम्दानीलाई बढवा दिन सरकारलाई सुझाव समेत दिए ।
प्रदेश सरकारले प्रस्तुत गरेको नीति, उद्देश्यमा नै आगामी आर्थिक बर्षकालाई अधुरा योजना सम्पन्न गर्ने बर्षको रुपमा लिइने उल्लेख गरिएको छ । कँडेलले उक्त विषयबारे टिप्पणी गर्दै भने,‘बर्ष नै अधुरा योजना सम्पन्न गर्ने हो भने नयाँ योजना नल्याउने कुरा मैले बुझ्छु ।’
साथै उनले सिद्धान्त र नीति अनुसार अघि बढे आफ्नो दलले सरकारलाई रचनात्मक सहयोग गर्ने समेत बताए ।






