हतियार बुझाउन जाजरकोट प्रशासनको अल्टिमेटम

जाजरकोट, १५ चैत ।
इजाजतप्राप्त हातहतियार चैत मसान्तभित्र बुझाउन जिल्ला प्रशासन कार्यालय जाजरकोटले समय सिमा तोकेर अल्टिमेटम दिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत झलक केसीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्त, भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जिल्लाका नागरिकलाई इजाजत प्राप्त सबै हतियार बुझाउन प्रशासनले निर्देशन दिएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय जाजरकाेटले एक सूचना जारी गर्दै चैत मसान्तभित्र आफ्नो नजिकको प्रहरी कार्यालय वा प्रशासनमा हातहतियार बुझाउन सार्वजनिक रूपमा सूचना जारी गरेको अधिकृत केसीको भनाइ छ ।
निर्धारित समयमै हतियार बुझाएमा हातहतियार प्रहरी कार्यालयमा सुरक्षित ढंगले राखिने र निर्वाचन कार्य सम्पन्न भएपछि सम्बन्धित व्यक्तिलाई नै बुझाउने केसीले बताउनुभयो । निर्धारित समयभित्र नबुझाएर अटेर गरेमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।






