कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रम : असार नलाग्दै काम सक्ने कसरत

सुर्खेत, १५ चैत ।
मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि सुर्खेतको बराहताल गाउँपालिकामा विभिन्न १३ वटा आयोजनाहरु छन् । तिमध्ये ११ वटा आयोजनाहरु सम्पन्न भइसकेका छन् । केही योजनाहरु भुक्तानीको प्रक्रियामै पुगेका छन् ।
यसपाली गाउँपालिकाले मुख्यमन्त्री रोजगार कार्यक्रमलाई चैत मसान्तभित्र नै सम्पन्न गर्ने र सबै आयोजनाको भुक्तानी गर्ने तयारी गरेको छ । ‘वडा नंम्बर १० मा बाहेक सबै योजनाहरु चैत मसान्तभित्र सम्पन्न हुन्छन्’ बराहताल गाउँपालिकाका रोजगार संयोजक रामकृष्ण गौतमले भने, ‘यसपाली मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि असार कुर्नु पर्दैन ।’
त्यहाँ वडा नम्बर १० मा बाहेक अन्यत्र असार नलाग्दै आयोजनाहरु सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सुर्खेतकै गुर्भाकोट नगरपालिकामा पनि मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि विभिन्न १५ वटा आयोजनाहरु छनौट भएका छन् । त्यहाँ पनि एउटा बाहेक सबै आयोजनाहरु अन्तिम चरणमा छन् ।
‘नगरपालिकामा १५ वटा मध्ये १४ वटा आयोजना कार्यान्वयनको चरणमा छन्’ नगरपालिकाका रोजगार संयोजक जीवन वलीले भने, ‘अहिले १३ वटा आयोजनाहरु निर्माणको चरणमा छन् ।’ त्यहाँ वडा नं. ११ को आयोजना सम्पन्न भइसकेको छ ।
वडा नं. १३ र १४ को आयोजना निर्माणको अन्तिम चरणमा छन् । गुर्भाकोटमा पनि असारअघि नै मुख्यमन्त्री रोजगार कार्यक्रमका आयोजनाहरु सम्पन्न गर्ने लक्ष्य छ । त्यस्तै भेरीगंगा नगरपालिकामा पनि मुख्यमन्त्री रोजगार कार्यक्रमका १३ वटा कार्यक्रमहरु छन् । जसमध्ये दुई वटा बाहेक अन्य आयोजनाहरु कार्यान्वयनमा गइसकेका छन् ।
‘नगरपालिकाका १३ वटै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रमका योजना छन्’ भेरीगंगा नगरपालिकाका रोजगार प्राविधिक (सव इन्जिनियर) गणेश थापाले भने, ‘वडा नं. ५ र १ बाहेक सबै वडामा काम भइरहेको छ ।’ जसमध्ये दुई वटा आयोजवनाहरु अन्तिम चरणमा पुगेका छन् ।
वडा नं. ५ र १ का आयोजना पनि छिट्टै कार्यान्वयनमा जाने थापाले बताए । त्यहाँ पनि असार नलाग्दै सबै आयोजनारु सम्पन्न गर्ने लक्ष्य छ । बराहताल, गुर्भाकोट र भेरीगंगा मात्र होइन ।
यो बर्ष सबै स्थानीय तहले असार नलाग्दै मुख्यमन्त्री रोजगार कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखेका छन् । अघिल्ला बर्षहरु असारमा मात्रै आयोजनाहरु कार्यान्वयन हुने गरेको र धुलो कोट्यार रकम सक्ने गरेको भन्दै मुख्यमन्त्री रोजगार कार्यक्रम विवादित बनेको थियो ।
आर्थिक बर्षको अन्तिममा कार्यान्वयन हुँदा गुणस्तरीयता र पारदर्शीतामा प्रश्न उठाउँदै आएका थिए । यसअघि मुख्यमन्त्री रोजगार कार्यक्रमका नाममा पानीपधेरो सफा गरेर लाखौं रकम सक्ने गरेको, कृते हस्ताक्षर गरेर रकम दुरुपयोग गरेको, बजेट अनुसार उपलब्धि नभएको भन्दै विवादित बन्दै आएको थियो ।
तर यसपाली भने कर्णालीका सबै स्थानीय तहले असारअघि नै मुख्यमन्त्री रोजगार कार्यक्रमा आयोजनाहरु सक्ने लक्ष्य राखेका छन् । धुलोमाटो कोट्याएर रकम सक्ने गरेको आरोप लागेपछि योबर्ष कर्णाली प्रदेश सरकारले निश्चित आयोजनाहरु छनौट गरेर कार्यक्रम लागू गरेको छ । जसमध्ये अधिकाशं आयोजनाहरु भौतिक पूर्वाधारतर्फ केन्द्रीत छन् ।
यो बर्ष सरकारले अनलाइनमार्फत योजना माग गरेको थियो । जसमा आयोजना माग गर्दै चार हजार आवेदन परेका थिए । तिमध्ये एक हजार ५५ वटा योजनाहरु छनौट भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता/सूचना अधिकारी केशवप्रसाद उपाध्यायले जानकारी दिए ।
कार्यक्रमको उद्देश्य अनुसार कार्यान्वयन गर्न र उपलब्धि देखिने गरी असारअघि नै आयोजनाहरु सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो बर्ष असारअघि नै सबै आयोजनाहरु सम्पन्न हुने सरकारको दावी छ ।
अधिकांश योजनाको रकम निकासा
असारअघि नै आयोजना सम्पन्न गर्न प्रदेश सरकारले रकम निकासा दिएको छ । कर्णालीका सात सय १८ वडामध्ये अहिलेसम्म सात सय १५ वडाका आयोजनाको रकम निकासा दिइसकेको प्रदेश सरकारले जनाएको छ ।
जनसंख्या, भुगोल र दुर्गमताको आधारमा एउटा वडालाई १३ लाखदेखि बढीमा ३३ लाखका योजनाहरु छन् । बाँकी तीन वडामा पनि चाँडै बजेट निकासा गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी उपाध्यायले बताए ।
यो बर्ष मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि कर्णाली प्रदेश सरकारले एक अर्ब पचास करोड रुपैंया बजेट विनियोजन गरेको छ । बेरोजगार युवा, रोजगारी गुमाएका नागरिक र विपन्नलाई रोजगारी दिने उद्देश्यले मुख्यमन्त्री रोजगार कार्यक्रम लागू गरिदै आएको छ ।
सुर्खेतमा एकसय ५७ वटा आयोजना सञ्चालनमा
मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि सुर्खेतमा एक सय ५७ वटा आयोजनाहरु छनौट भएका छन् । जसमध्ये वीरेन्द्रनगर नगरपालिकामा मात्रै ३५ वटा आयोजना छन् ।
सुर्खेतकै गुर्भाकोट नगरपालिकामा १५ वटा, चिङ्गाड गाउँपालिकामा १३ वटा, चौकुने गाउँपालिकामा १४ वटा र पञ्चपुरी नगरपालिकामा २४ वटा आयोजनाहरु छन् ।
त्यसैगरी बराहताल गाउँपालिकामा १३ वटा, भेरीगंगा नगरपालिकामा १३ वटा, लेकवेशी नगरपालिकामा १८ वटा र सिम्ता गाउँपालिकामा १२ वटा आयोजना कार्यान्वयनको चरणमा छन् ।
सबैभन्दा धेरै आयोजना भएको वीरेन्द्रनगरका सबै आयोजनाहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् । केही आयोजनाहरु रकम भुक्तानीको प्रक्रिया पुगिसकेको नगरपालिकाका सूचना अधिकारी उत्तम आचार्यले जानकारी दिए ।






