मतदाता फकाउदै गाउँ–टोलमा विभिन्न दलका नेता

सुर्खेत, १६ फागुन ।
जनताको सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय तह हुन् । संघीयताले स्थानीय तहलाई पनि अधिकार र स्रोतमा सम्पन्न बनाएको छ । यहीकारण पनि राजनीतिक दलहरु स्थानीय तहमा आफ्नो पकड जमाउन चाहान्छन् ।
सरकारले स्थानीय तहमा नयाँ नेतृत्व चयका लागि निर्वाचनको घोषणासमेत गरिसकेको छ । आउँदो बैशाख ३० गते निर्वाचन हुने भएपछि दलहरु पनि स्थानीय तहमा केन्द्रीत हुन थालेका छन् ।
हिजोआज राजनीनीतिक दल र तिनका नेताहरुलाई भ्याइनभ्याई छ । कारण दलहरुले दिनहुँ आफ्ना भेला, कार्यक्रम र प्रशिक्षण थालेका छन् । स्थानीय तहका गाउँ र टोलसम्मै कार्यक्रम र गतिविधि हुन थालेपछि नेताहरुको व्यस्तता पनि बढ्न थालेको छ ।
दलहरुले गाउँमा पुगेर मतदाता फकाउन थालेका छन् । यसका लागि उनीहरुले दलका कार्यकर्ताल्ँर्य खटाउने र मतदातालाई फकाउने रणनीति अपनाएका छन् । शनिबार मात्रै सुर्खेतमा राजनीतिक दलका दजर्नाैं कार्यक्रमहरु भए ।
माओवादी केन्द्रका नेताहरुले पश्चिमका दर्जनौं ठाउँमा कार्यकर्ता भेटघाट र विभिन्न कार्यक्रम आयोजना गरे । प्रदेशसभा सदस्य एवम् आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट, राष्ट्रिय सभा सदस्य नरबहादुर विष्ट लगायतको टोलीले पञ्चपुरी–९ रागमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम राखियाे ।
पञ्चपुरी ११ ताउले कृषि तथा पशुपालन सहकारी संस्था संस्थाको साधारणसभा, सोही वडाको पेरिसडाँडा लिफ्ट सिँचाइ योजनाको अनुगमन, बाबियाचौर–भक्तडी–जंगलाघाट सडक कालोपत्रेको अनुगमन, चौकुने गाउँपालिका–९ घाटगाउँको वीरगौडा आधारभूत विद्यालयको भवन उद्घाटन लगायतका कार्यक्रममा सहभागि भए ।
शनिबार नै काँग्रेसका नेताहरु पनि उत्तिकै व्यस्त भए । नेपाली काँग्रेसका नेताहरु गुर्भाकोट र चिङ्गाडका विभिन्न स्थानमा केन्द्रीत भए । जिल्ला तहका नेताहरुले गुर्भाकोट–९ बोटेचौरमा एकैपटक नेपाल दलित संघ र नेपाल महिला संघ गठन गरे । चिङ्गाड ४ का विभिन्न स्थानमा टोल कमिटी गठन तथा भेटघाट गरे । शनिबार नै नेकपा एकिकृत समाजवादीको पञ्चपुरी नगर कमिटीले बाबियाचौरमा कार्यक्रम गरयो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही र जिल्ला अध्यक्ष मोहनसिं बडुवालसहितका नेताले सम्बोधन गरे । एमाले वीरेन्द्रनगर कमिटीले पनि शनिबार नै वडा नं. ४ मा टोल कमिटी गठन ग¥यो । माओवादी, काँग्रेस, एमाले र समाजवादीका नेताहरु मात्रै होइन, स्थानीय निर्वाचन नजिकिएसँगै सबैजसो दलका नेताहरु दौडधुपमा व्यस्त भएका छन् ।
चुनाव लक्षित एमालेको कार्यकर्ता प्रशिक्षण
नेकपा एमालेले स्थानीय तहलक्षित प्रशिक्षण कार्यक्रम थालेको छ । शनिबार मात्रै एमालेले सुर्खेतमा कर्णाली प्रदेशस्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेको हो ।
शुक्रबार र शनिबारसम्म चलेकाे प्रशिक्षण कार्यक्रममा संघीय तथा प्रदेश सांसदहरू, कर्णालीबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधि, पार्टीको स्थानीय तह कमिटीका अध्यक्षहरु लगायत दुई सय बढी नेता तथा कार्यकर्ताहरु सहभागी छन् ।
एमालेका केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा, एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल, स्थायी कमिटी सदस्य गोरख बोगटी, युवा नेता विष्णु रिजाल, निरज आचार्य लगायतका नेताहरुले प्रशिक्षण दिने छन् । प्रशिक्षणमा सहभागी नेताहरुले जिल्ला, स्थानीय तह र वडामा पुगेर चुनावमा बहुमत ल्याउने गरी प्रशिक्षण दिने एमालेको रणनीति छ ।
आफूखुसी उम्मेदवारी घोषणा गरे कारवाही !
नेपाली काँग्रेस जाजरकोटले आफूखुशी उम्मेदवारी घोषणा गर्ने नेता र कार्यकर्ताहरुलाई कारबाही गर्ने भएको छ । आफूखुसी चिया पसल र चोकचोक लगायतका सार्वजनिक स्थलमा उम्मेदवारी घोषणा गरे कारबाही गर्ने काँग्रेस जाजरकोटका सचिव बद्री पन्तले जानकारी दिए ।
आफूखुशी उम्मेदवारी घोषणा गर्दा आगामी निर्वाचनमा पार्टीलाई कमजोर हुने, मनमुटाव बढ्ने र प्रतिस्पर्धी दलहरुलाई फाइदा हुने भन्दै आफूखुशी उम्मेदवारी घोषणामा प्रतिबन्ध लगाएको काँग्रेसले जनाएको छ ।
उम्मेदवारी घोषणा गर्न थालियो
स्थानीय तहको निर्वाचन नजिकिएसँगै केही व्यक्तिहरुले उम्मेददारी घोषणा गर्न थालेका छन् । कर्णाली प्रदेशका सुर्खेत र डोल्पामा एकएक जनाले उम्मेदवारी घोषणा गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि स्थानीय अनिल ढकाल र डोल्पाको ठूलीभेरी नगरपालिकाको मेयरमा प्रेमबहादुर बोहराले उम्मेदवारी घोषणा गरेका हुन् ।
ढकालले माघ २४ गते र बोहोराले फागुन १३ गते उम्मेदवारी घोषणा गरेका हुन् । ‘लुटतन्त्रलाई लोकतन्त्रमा बदल्न म स्थानीय निर्वाचन लड्दै छु’ ढकालले फेसबुकबाट उम्मेद्वारी घोषणा गर्दै भनेका छन्, ‘राज्य भएको न्यानो आभास नागरिकलाई दिलाउन म यो हिम्मत गर्दैछु ।’
बोहराले सुगम, सुव्यवस्थित र सु–सम्पन्न ठुलीभेरी नगर बनाउन मेयरमा उम्मेदवारी घोषणा गरेका हुन् । ढकाल विवेकशील साझा र बोहोरा जनता समाजवादी पार्टीमा आबद्ध छन् ।





