मेराे पाैरख मेराे गाैरव : जातै सानाे कामैमा हुदैन्

सावित्रा उपाध्याय
सुर्खेत ११ साउन।
एलएलसीको परीक्षा दिएलगत्तै सिलाकटाईमा लागेका हुन ऐवान जी.सी । कक्षा ८ मा पढ्दादेखि नै सिलाकटाईको रुचि थियो उनीमा । त्यहि रुचि भएकै कारण उनले एसएलसीको परीक्षा दिएपछि सिलाकटाईको तीन महिने तालिम लिए । तालिम पश्चात दुई महिना तालिम गरेको ठाँउमा सहयोग र आफूले काम सिक्ने लक्ष्यले काम गरे ।

जातले क्षेत्री थिए उनी र तालिम सिक्ने समयमा समाजका मान्छेले ‘यसले त जात फाल्न लाग्यो’ भन्दै विभिन्न कुराहरु काट्न थालेका थिए तर कसैको कुरालाई मतलब नगरि आफ्नो रुचिको पेशालाई निरन्तरता दिन थाल्य । उनले जातको आधारमा मात्रै नभई सिप सिकेपछि जसले पनि सिकेको सीप प्रयोग गर्नुपर्छ भन्ने सोच रहेको बताउछन् ।

उनले सुर्खेतको मटेला मालिका टेलरमा सिलाइकटाई सिकेपछि जाजरकोटको शिवालय गाँउपालिका खनेटामा साढे दुई वर्ष बसेर काम गरे । त्यस लगत्तै नेपालगञ्ज गएर फेरी सिलाकटाईको कामलाई निरन्तरता दिए । यो सबै गरेर उनले सिलाकटाई गर्न लागेको अहिले आठ वर्ष भयो ।

सामान्य परिवारमा गाउँमा जन्मिएका उनी पढाई संगसंगै जिम्मेवारीको बोझ पनि आएको थियो । त्यो समयमा एसएलसी दिएपछि इन्डिया जाने भन्ने र जाने चलन थियो तर उनले आफ्नै ठाँउमा केहि गर्छु भनी संघर्ष गर्न थाले । एसएलसीको परीक्षा दिए पछि प्राय
गाउँमा युवाहरु कमै संख्यामा मात्रै हुन्थिए ।
गाउँमा निश्चित समुदायबाहेक अरु कसैले नगर्ने, गर्न नरुचाउने या भनौं आंट गर्न नसक्ने पेशा अंगालेका जी.सीले सिलाईकटाई सिकेको चार वर्ष कहिले कतै त कहिले कतै भौतारिएर बिताए ।
उनलाई उनकी श्रीमतिले पनि उत्तिकै साथ दिईरहेकी छन् । बिहान बेलुका घरायसी काम गरी अरु समय सिलाईकटाईमा नै दिने
गरेकी छन् उनकी श्रीमतीले पनि । सुरुवात गर्दा तीन हजार रुपैयाँ लगानी गरेका जी.सी. दम्पत्ति अहिले सिजन अनुसार मासिक लगभग पैतीस हजार रुपैयाँसम्म आम्दानी गर्ने भएका छन्
। त्यहि आम्दानीबाट नै छोरीहरु पढाउने घरव्यवहार चलाउने र घर निर्माण गर्दा लागेको ऋणको किस्ता मासिक रुपमा तिर्दै आएका छन् । ब्यापार पनि यति चलेको छ कि बिहानको झिसमिसेमा टेलरको सटर खोलेपछि साँझ अबेरसम्म उनीहरु दुबै जनाको हात एकछिन खालि हुँदैन । आफ्नो पिता पुर्खा कसैले नगरेको पेशा अंगालेपनि चुनौति र जोखिम मो लेरै भएपनि सिकेको सीप र सुरु गरेको व्यवसायमा गौरव गर्ने यो जोडीले यहि पेशालाई निरन्तरता दिने बताएका छन् ।

वीरेन्द्रनगरमा आएर कपडा सिलाउन लागेको चार वर्ष सम्म सबै ग्राहकले राम्रो व्यवहार गर्देै आएको उनीहरुको अनुभव छ । काम गर्दा समस्याहरु आउँछन्, उनीहरुलाई पनि त्यस्ता अनेकौ बाधा अड्चन र समस्या नआएका होईनन् । तर पनि आफ्नो कामलाई निरन्तरता दिनलाई घरपरिवार अन्य सदस्यलाई गाउँमै छोडेर र जग्गा जमिन छोडेर विदेशिनु भन्दा शहरमै बसेर संघर्ष गर्न उनले उचित ठाने ।
गर्दै जाँदा तीन चार जिल्लाको अनुभव संगाल्ने मौका उनले पाए । आफ्नै ठाउँ सुर्खेतको मटेला जाजरकोट, नेपालगञ्ज र अहिले हाल वीरेन्द्रनगरमा जमेर बसेका छन् । सबै ठाउँको अनुभव संगालेका उनले आम्दानी, ग्राहको माग अनुसार सन्तुष्टि व्यवसाय अन्यत्र भन्दा यहि राम्रो भएको बताउँछन् ।
आफूसंग भएको सीपलाई प्रयोग गर्न डर, त्रास लाज र बेइज्जत नमान्ने हो भने अरुको भरमा बाँच्नुपर्दैन । मिहिनेत गरेमा रुचि भएको पेशालाई सिकेर निरन्तरता दिए सफलता मिल्ने उनको अनुभव छ ।






