अनुगमन निर्माणाधिन आयोजनाको निगरानी कि सस्तो प्रचारबाजी ?

सुर्खेत, १५ फागुन ।
कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही सत्तामा हुँदा विकास आयोजनाहरुको कमै अनुगमन गर्थे । गृह जिल्ला कालिकोट र पार्टीका कार्यक्रममा हुँदा बाटोमा पर्ने केही आयोजनाको अनुगमन गरे पनि अनुगमनका लागि नै भनेर निस्केनन् ।

तर गएको शनिबार उनी सुटुक्क वीरेन्द्रनगरमा निर्माणाधिन प्रादेशिक रंगशालाको अनुगमनमा पुगे । सत्ता बाहिर भएका कारण उनले गरेको अनुगमनले खासै अर्थ राख्थेन । तर पनि उनले दलबलसहित रंगशालाको अनुगमन गरे । अनुगमनका तस्विरहरु आफ्नो फेसबुक पेजमा शेयर पनि गरे ।

यही फागुन १० गते हालका मुख्यमन्त्री जीवनबहादुर शाही पनि त्यही रंगशालाको अनुगमनमा पुगे । उनले पनि जम्मो टोलीसहित रंगशालाको अनुगमन गरे । उनले पनि अनुगमनका तस्विरहरु फेसबुक पेजमा राखे ।

बिहीबार पुनः मुख्यमन्त्री शाही विकास आयोजनाको अनुगमनमा निस्किए । एकैदिन वीरेन्द्रनगरका काँक्रेविहार–लाटिकोईली सडक र भैरवीचोक–कालुंचोकको हटलाइन सडकको अुनगमन गरे ।

दुबै सडकमा स्थानीयको अवरोध थियो । लाटीकोइली सडक खण्डको सडक निर्माणमा स्थानीयले अवरोध गरेको लिखित जनगुनासो नै आएको थियो । भैरवीचौक–कालुचौकको पनि उस्तै अवरोध थियो । दुबै ठाउँका स्थानीयसँग विकासमा अवरोध नगरी सहयोग गर्न अनुरोध गर्दै उनी फर्किए ।

सुरुवातदेखि नै विकास आयोजनाको अनुगमनमा दौडिएका मुख्यमन्त्रीले वीरेन्द्रनगर भित्रका धेरै आयोजनाको अनुगमन गरेका छन् । गएको मंसिर २० गतेदेखि निर्माण थालिएको यो रंगलामाको मुख्यमन्त्री शाहीले त दुई पटक अनुगमन गरिसकेका छन् ।

हिजोआज अन्य मन्त्रीहरुलाई पनि विकास आयोजनाको अनुगमन गर्न भ्याइनभ्याई छ । मुख्यमन्त्री जस्तै कर्णालीका अन्य मन्त्रीलाई पनि आयोजना अनुगमनको भोक छ । त्यसमा भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री पदमबहादुर रोकाया अल्ली अगाडि छन् ।

शुक्रबार मात्रै मन्त्री रोकाया विकास आयोजनाको अनुगमन गर्न छिन्चु पुगे । मुरलीखोला मोटरेवल पुल र सडकको अनुगमन गरे । अनुगमनपछि उनले निर्माण कम्पनीलाई बाँकी काम तोकिएको मितिभित्र सम्पन्न गर्न र आयोजनामा गुणस्तर कायम गर्न निर्देशन दिए ।

बिहीबार मात्रै उनै रोकायाले सुर्खेत उपत्यका भित्रका निर्माणाधीन सडक तथा पुलहरूको अनुगमन गरेका थिए । अनुगमनपछि उनले सडक तथा पुल मापदण्ड र गुणस्तरिय बनाउन निर्देशन दिए ।

रोकाया जस्तै सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीलाई पनि अनुगमनमा निस्कन थालेका छन् । पछिल्लो समय उनी निरन्तर विकास आयोजनाको अनुगमन र शिलान्यासमा व्यस्त छन् ।

चालु आर्थिक बर्षमा सामाजिक विकास मन्त्रालयबाट सञ्चालन भएका विकास आयोजनाको अनुगमन र शिलान्यास गर्नमा उनी व्यस्त छन् । मन्त्रीहरुले विकास आयोजनाको अनुगमनको नाममा दौडधुप गरिरहँदा त्यसले प्रचार बढी भइरहेको सर्वसाधारणको गुनासो छ ।

छैन प्राविधिक टोली, हुँदैन कारबाही
विकास आयोजनाको काम के कस्तो भइरहेको छ ? गुणस्तर छ वा छैन ? मापदण्डअनुसार काम भएको छ कि छैन ? यि सबैको लेखाजोखा गर्ने काम प्राविधिक कर्मचारीको हो । तर मन्त्रीले गर्ने अनुगमनमा भने प्राविधिक कर्मचारी देखिदैनन् ।

सुटुक्क मन्त्रीहरुले अनुगमनमा जाने तर कामको गुणस्तर लेखाजोखा गर्ने प्राविधिक टोलीलाई समावेश नगर्दा अनुगमनको खासै उपलब्धि देखिएको छैन । ‘मन्त्रीहरु सुटुक्क अनुगमनमा जानुहुन्छ, हामीलाई केही थाहा हुँदैन’ मन्त्रालयका एक प्राविधिकले भने, ‘प्राविधिक मूल्याङ्कन विनाको अनुगमन उपलब्धिमूलक हुँदैन ।’ ति कर्मचारीले नै मन्त्रीहरुले सस्तो लोकप्रियताका लागि मात्र अनुगमनमा जाने गरेको बताए ।

‘प्राविधिक लेखाजोखा बिना के को अनुगमन ?’ं ति कर्मचारी भन्छन्, ‘मन्त्रीहरु त सस्तो लोकप्रियताको लागि अनुगमनमा जानुहुन्छ ।’ प्राविधिक कर्मचारी बिना अनुगमनमा जाँदा उपलब्धि मापन गर्न नसकिने र ठेकेदारलेसमेत अनुगमनलाई सामान्य रुपमा लिने ति कर्मचारीको बुझाइ छ ।

अनुगमन गरिए पनि काम नगर्ने र गुणस्तर विनाको काम गर्नेलाई कारबाही पनि हुन सकेको छैन । तर कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले भने अनुगमनले विकास आयोजनाको कामले गति लिने र बजेट कार्यान्वयनमा बल पुग्ने बताउँछन् । ‘विकास आयोजनालाई गुणस्तरिय बनाउन र बजेट कार्यान्वयनकै लागि अनुगमनलाई तीब्रता दिइएको छ’ उनले भने, ‘अनुगमनले विकास बजेटको कार्यान्वयनलाई सघाउँछ ।’

जश लिने होडबाजी
कुनै पनि आयोजनाले अनुगमनले विकास निर्माणमा सहयोग पु¥याउँछ । मन्त्री नै आयोजनास्थलमा पुग्दा निगरानी बढ्छ । तर कर्णालीमा मन्त्रीहरुले भने सस्तो लोकप्रियताका लागि अनुगमन गरेको स्थानीयको बुझाई छ ।

मुख्यमन्त्री शाही र भौतिक पूर्वाधार मन्त्री रोकायले लाटीकोइली सडकमा गरेको अनुगमन पनि सस्तो लोकप्रियताकै लागि गरिएको स्थानीय भरत शाही बताउँछन् ।

‘मन्त्रीले काँक्रेविहार सडकखण्ड र लाटिकोइली पुलदेखि शिव मन्दिरमा निर्माण भइरहेको नालीको पटक पटक अनुगमन गर्नुभएको छ, तर निर्माण कम्पनीले गुणस्तरहीन माटोसहितको बालुवा र सामग्री प्रयोग गर्न छोडेको देखिदैन’ उनले फेसबुकमा लेखेका छन्, ‘त्यसैले सस्तो लोकप्रियताको लागि गरेको अनुगमनले नेताहरुको विश्वसनीयतामै कमी आउने त होइन ?’

कर्णालीका मन्त्रीहरुले सस्तो लाकप्रियता र जश लिने होडबाजीमा नै अनुगमनलाई तीब्रता दिएको देखिन्छ । मन्त्रीहरुले आफू र आफ्नो पार्टीको कारणले विकास भएको हो भन्ने भ्रम सिर्जना गर्न र त्यसको जश लिने उद्देश्यले अनुगमन गर्दै आएको देखिन्छ । विकासमा जश लिने र आउने निर्वाचलाई आफ्नो पक्षमा पार्ने स्वार्थ अनुकुल हुनेगरी अनुगमन गर्ने गरेको स्थानीयको भनाइ छ ।

अनुगमन निर्माणाधिन आयोजनाको निगरानी कि सस्तो प्रचारबाजी ?

अवैध सुन भित्र्याउन विमानस्थलमै खटिएका कर्मचारी संलग्न

अनुगमन निर्माणाधिन आयोजनाको निगरानी कि सस्तो प्रचारबाजी ?

युक्रेनबाट नेपालीको उद्धारमा दुतावास र नेपाली समुदाय

Leave a comment

Your email address will not be published. Required fields are marked *