अज्ञात समूहद्वारा कालिमाटी गाउँपालिकाको कार्यालय तोडफोड

दुर्गा विसि
सल्लीबजार, १३ फागुन ।
अज्ञात समुहले गय राती सल्यानको कालिमाटी गाउँपालिका कार्यालय तोडफोड गरेको छ । सो समुहद्वारा गाउँपालिका लगायत, वडा कार्यालय, स्थानीय बासिका पसल, लघुबितिय संस्था र स्थानीय मन्दीरमा तोडफोड हुनुका साथै लाखौ रकम चोरी भएको कालिमाटी गाउँपालिकाले जनाएको छ ।
गय राती कालिमाटी गाउँपालिका कार्यालयका सम्पुर्ण ढोका ताल्चा फोरिएको, कार्यालयमा जडान गरिएको सिसि टिभी फुटाउनुका साथै प्रमुख प्रशासकीय कार्यकक्ष लगाएका ताला फुटाएर विभिन्न शाखाहरुमा तोडफोड गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताएका छन् ।
त्यस्तै कालिमाटी गाउँपालिका वडा नं.३ को वडा कार्यालय, कालिमाटीमा रहेको जाल्पा सामुदायिक लघुबित्त, स्थानीय पुतलिबजारमा रहेको स्थानीय प्रेम बिकको पसल र गंगामाला मन्दिरमा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
गाउँपालिका कार्यालयका सम्पुर्ण कार्यकक्षामा दराज खुल्ला राखेको, जाल्पा सामुदायिक लघुबित्तबाट २ लाख नगद चोरी भएको र गंगामाला मन्दिरको दान पेटिका फुटाएको प्रहरीले जनाएको छ । घटना स्थललाई प्रहरीले सुरक्षित राखेर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।







