संसदीय भूमिकामा तेश्रो इनिङ : अवसर र चुनौतीको चाङमा थानी

सिर्जना बुढाथोकी
सुर्खेत, ७ मंसिर ।

संसदीय राजनीतिका पुराना खेलाडी हृदयराम थानी सुर्खेत क्षेत्र नं. २ बाट निर्वाचित भएर प्रतिनिधिसभामा आफनो तेश्रो इनिङ शुरुवात गर्ने तरखरमा छन् । चुनावी प्रतिष्पर्धामा बिल्कुलै नयाँ खेलाडी एमालेका अमृत वीसीलाई करिव ५ हजारको मतान्तरले पराजित गर्दै तेश्रो इनिङ शुरुवात गर्ने तयारीमा रहेका थानीको अगाडि जिम्मेवारी, अवसर र चुनौति उत्तिकै छन् ।

साविकको निर्वाचन क्षेत्र नं. २ बाट दुई पटक संसदमा प्रतिनिधित्व गर्दै गर्दा सुर्खेत उपत्यका र हालको चिंगाड क्षेत्रको भूगोल समेटिएको थियो र थानीका लागि दौडधुप गर्नुपर्ने भू–भाग अनि रिझाउनुपर्ने मतदातापनि कमै थिए। अहिले पुरानो निर्वाचन क्षेत्र नं. ३ समेत संग्लै २ मा मिसिएर ठूलो निर्वाचन क्षेत्र बनेसंगै नेता थानीका जिम्मेवारी र चुनौतिपनि झनै ठूला र फराकिला भएका छन् ।

सुर्खेतको पश्चिमबाट वि.सं. २०४८ को आमनिर्वाचन, २०५१ को मध्यावधि र २०५६ को आम निर्वाचन लगालग जितेका कांग्रेसका शिवराज जोशी सांसद, राज्यमन्त्री हुँदै मन्त्री समेत बने । सडक, बिजुली र सञ्चारजस्ता आधारभूत आवश्यक्तालाई चुनावी एजेण्डा बनाएर जोशीले चुनाव जितेर मन्त्री हुँदासमेत पश्चिम सुर्खेतले अपेक्षित विकासबाट वञ्चित हुनुपर्याे ।

सोतखोला पारिको निर्वाचन क्षेत्र नं. ३ बाट २०६४ मा संविधानसभाको निर्वाचनमा नरबहादुर विष्टले चुनाव जित्दै गर्दा पश्चिमवासीको आवश्यक्ता अनुसारको विकासको मागलाई सम्वोधन गर्न नसकेको गुनासो उठिनै रह्यो। त्यसपछिको चुनावमा क्षेत्र नं. ३ बाट कांग्रेसका तप्तबहादुर पहिलो पल्ट चुनाव लडेर जितेनन् मात्र पहिलो प्रयासमै सञ्चार राज्यमन्त्री बन्न सफल भए र आफनो क्षेत्रमा पूर्वाधार विकासका लागि सक्दो प्रयास गरेको स्थानीयहरु बताउँछन् ।

हक्की स्वभावका विष्टले पश्चिम क्षेत्रको विकासको पहिलो आवश्यक्ता बनेको सडक सञ्जाललाई जोड्ने क्रममा जामु र कुहिनेमा ठूला पुल निर्माणमा महत्वपूर्ण भूमिका खेले । जसका कारण अहिलेपनि धेरलै विष्टको काम र स्वभावलाई सम्झिरहेकै छन् ।

२०७४ को चुनावमा फेरि २ र ३ मिसिएर बनेको करिव साढे ११ सय वर्ग किलोमिटर क्षेत्रफलको निर्वाचन क्षेत्रबाट थानी तेश्रो पटक सांसद चुनिंदै गर्दा उनका सामू उनी आफैले गरेका चुनावी प्रतिवद्धता चुनौति बनेर उभिएका छन् । धिमा गतिमा रहेको पश्चिमको विकासलाई तीव्रता दिंदै सुर्खेत उपत्यकालाई प्रादेशिक राजधानीका लागि आवश्यक थप संरचना र पूर्वाधार निर्माणका लागि फाइल बोकेर सिंहदरबारका कोठाचोटा नचाहरेसम्म, मन्त्रालय र विभागमा तारन्तार नधाएसम्म थानीले धर पाउने छैनन् ।

थानीलाई आफनो  प्रतिवद्धताको कसौटीमा शतप्रतिशत नभएपनि कम्तिमा डिष्टिक्ंशनसहित उत्तीर्ण हुनुपर्ने दारोमदार छ । पश्चिम सुर्खेतको विकासको व्यग्रता र नागरिकमा रहेको निराशाका बीच ‘जस्ट पास’ हुने सुविधा उनलाई छैन । यसअघिका निर्वाचन जितेर थानीले भनेअनुसारका काम गरेको जिकिर गर्दै पञ्चपुरी नगरपालिकाका पूर्वमेयर उपेन्द्रबहादुर थापाले भने, ‘चुनावअघि सार्वजनिक गरेका १६ वटा संकल्प पूरा गर्नेमा हामी पश्चिम क्षेत्रका जनता आशावादी छौं ।’

पटक पटक प्रदेशदेखि केन्द्रिय सरकारको मन्त्री समेत पाएको पश्चिम क्षेत्र अहिले पनि सामान्यभन्दा पनि सामान्य विकास र परिवर्तनको पर्खाइमा छ । किनकी त्यस क्षेत्रमा अझैंपनि सडकका नाममा धुलौटे सडक, उज्यालोको नाममा टुकी र सोलार अनि स्वास्थ्यसेवाका नाममा एउटा अस्पताल रहेको छ ।

बड्डिचौरकी शुशिला गिरीले पश्चिमका गाउँ गाउँमा फोनको नेटवर्क नलाग्ने, स्वास्थ्य चौकीमा दक्ष अनुभवी चिकित्सक अभाव र सडकको समस्या वर्षौदेख ज्यूँका त्यूँ रहेको प्रतिक्रिया दिईन् । उनले भनिन्, ‘छैन् भन्ने हो भने, हेर्दा सबै छ तर काम पर्दा केही पनि छैन् हाम्रो ठाउँमा ।’

पश्चिमको यहि क्षेत्र र भूगोलबाट कांग्रेसका जोशी, तप्त विष्ट र एमालेका नवराज रावत संघीय सरकारका राज्यमन्त्री भए भने यस्तै, कांग्रेसका यज्ञबहादुर बुढाक्षेत्री र माओवादी केन्द्रका विन्दमान विष्ट कर्णाली सरकारका आर्थिक मामिला मन्त्री र माओवादीकै पुष्पा घर्ती विष्ट कर्णाली प्रदेश सभाकी उपसभामुख बनिसकेकी छन्। आधा दर्जन हाराहारीका मन्त्री र त्योभन्दा धेरै सांसद् पाएपनि अपेक्षित

विकास र पूर्वाधार पाउन नसकेको पश्चिम सुर्खेतमा अहिलेसम्म चुनावी प्रतिवद्धता अनुसार नेताहरूले काम गर्न नसकेको गुनासो र दुःखेसो अलि बाक्लै छ । विकासका आधारभूत पूर्वाधार हरूबाटै पछाडि रहेको पश्चिम सुर्खेतका चौकुने र बराहताल गाँउपालिका तथा पञ्चपुरी नगरपालिकामै पनि सडक र बिजुलीको प्रमुख समस्या रहँदै आएको स्थानीय ईश्वर पोख्रेलले बताए ।

पश्चिम क्षेत्रका धेरै ठाउँमा सडक पुग्नै नसकेको, पुगेका सडकपनि वर्षातमा हिलाम्य र गर्मीमा धुलाम्य भएर गाडी चलाउन सकिने स्थिति नभएको उनले गुनासो गरे ।‘बाबियाचौरमा स्थानीय रूपमै जलविद्युत उत्पादन गरिएको छ तर त्यो सम्पूर्ण पश्चिम सुर्खेतमा पर्याप्त छैन’, पोख्रेलले भने, ‘आजसम्म जति नेतालाई जिताएपनि जितेपछि फर्किएर हेरेनन् अब नयाँ नेतृत्वबाट केहि हुन्छ कि भन्ने पुरानै आशा छ ।’

पश्चिमका बाटाहरुमा वर्षाको समयमा ठूला साना सबै सवारीलाई सवारी सञ्चालनको लागि निकै कठिन हुने गरेको छ । बाटोमा पर्ने खोलाहरूमा पुल नभएकाले वर्षातमा बढि सताउने गरेको गुटुका बालराम खड्काले बताए । बड्डीचौरदेखि लगामसम्म ९४ किलोमिटरको सडक खण्डमा गाडीले यात्री बोक्नेभन्दा पनि यात्रीले गाडी ठेल्नुधकेल्नुपर्ने  रहेको बताउँदै उनले पश्चिमकै प्रमुख सडकको हालत वर्षौंदेखि उस्तै रहेको उल्लेख गरे ।

‘हाम्रा जनप्रतिनिधिहरूले हिजोका दिनसम्म सोचेअनुरूप काम गर्न सकेनन्’, उनले भने, ‘विकासका आधारभूत पूर्वाधारहरूलाई आफ्नो चुनावी नारा बनाउँछन् चुनाव जितेपछि बिर्सिने गलत प्रवृत्तिकै कारण पश्चिम क्षेत्र पछाडि परेको छ ।’

समग्र सुर्खेत जिल्लाको बाटो, विद्युत, शिक्षा, स्वास्थ्य र खानेपानीका समस्यालाई समाधान गर्नसके मात्र आफुले दिएको मतको सदुपयोग हुनेमा मतदाताको एकमत रहेका छन । व्हिलचियरको सहायतामा दिएको भोट खेर नजानेमा आफु विश्वस्त रहेको वीरेन्द्रनगर–९ का धर्मराज रावलले बताए।

‘कुनै एक क्षेत्रको लागि भन्दापनि नेतृत्वले समग्र सुर्खेतको विकासका लागि काम गर्नुपर्छ’, उनले भने, ‘यो अन्तिम मौका हो, अब पनि जनताका दुःख यस्तै भए स्वतन्त्रलाई साथ दिइन्छ ।’ यता, मध्यपश्चिम विश्वविद्यालयका पूर्व डिनसमेत रहेका विश्लेषक पीताम्बर ढकालले थानीका अगाडि चुनौतिको चाङ रहेको बताउँदै भन्छन, ‘आफ्नो अनुकलको सरकार बने, गरेका प्रतिवद्धता पूरा गर्न सम्भव हुन्छ नत्र गाह्रो नै छ ।

सुर्खेतको क्षेत्र नं. २ प्रदेशको राजधानीपनि भएकाले काम गर्न अलि सकस हुने उनको आँकलन छ । ‘सबै भन्दा पहिले त राजधानीलाई राजधानी जस्तै बनाउनुपर्ने छ’, उनले भने, ‘कर्णाली प्रदेशको स्वरुप परिवर्तनका लागि उहाँले पहिला त वीरेन्द्रनगरको श्रृंगार नै गर्नुपर्ला ।’

सुर्खेत जिल्ला कर्णाली प्रदेशको प्रवेशद्वार पनि भएकाले शुरुमा वीरेन्द्रनगर राम्रो देखिए मात्र कर्णालीको राम्रो छाप पर्ने भएकाले सोहि अनुसारको काम गर्नुपर्ने सुझावपनि उनले दिए । यसको स्वरुपमा परिवर्तन ल्याउन सके थानी सफल हुने बताउँदै ढकालले भने, ‘थानीजीका अगाडि जिम्मेवारी र चुनौती दुबै छन् ।’

‘१६ संकल्प पूरा गर्न डटेरै लाग्छु’

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद थानीले आफनो निर्वाचन क्षेत्रमा रहेका विकास निर्माणका समस्यालाई चुनौती भन्दा पनि अवसरको रुपमा लिएको प्रतिक्रिया दिएका छन् । निर्वाचित भएपछिको प्रतिक्रियामा उनले चुनावअघि आफुले गरेका १६ संकल्प पूरा गर्न डटेरै लाग्ने प्रतिवद्धता दोहोर्याउँदै आफनो वचन पूरा गर्नेमा विश्वस्त हुन मतदातालाई आग्रहपनि गरेका छन् ।

थानीको संकल्पमा बाटो, बिजुली, खानेपानी, स्वास्थ्य, हवाई उडानको व्यवस्था, धार्मिक तथा पर्यटकीय सर्किट सन्जाल, पश्चिमका सबै पालिकामा विद्युतको पहुच, चौकुने गुटु र लखरपाटा सिमेन्ट उद्योग स्थापनालाई प्राथमिकताका साथ समेटिएको छ । जितपछि उत्साहित हुँदै थानीले चुनावअघि आफुले गरेको प्रतिबद्धता पूरा गर्न वि.सं. २०५६ र २०७० मा आफुले गरेको संकल्प पूरा गरेको उल्लेख गर्दै थानीले यसपटकको संकल्प पनि पूरा गर्ने दाबी गरे ।

विशेष गरेर पश्चिम क्षेत्रका नागरिकलाई त्यहाँको समस्या समाधानका लागि काम गर्न दिएको वचनको स्मरण गर्दै थानीले अबको पाँच वर्षमा पिछडिएको नभएर विकासशील स्थानको रुपमा रुपान्तरण गर्ने बताए । ‘जनताले जुन आश र विश्वास गरेर मलाई मत दिनुभयो त्यसको लागी धन्यवाद व्यक्त गर्छु’, उनले भने, ‘सुर्खेतको विकास र पश्चिमलाई हेर्न लायक बनाउने छु।’ सुर्खेतमा रहेको खानेपानी, विद्युत, बाटो, स्वास्थ्य र शिक्षा जस्ता मुख्य समस्याहरुको वर्गीकरण गरी प्राथमिकता अनुसार समाधन गर्दै लगिने प्रतिवद्धता थानीले दोहोर्याएका छन् ।

संसदीय भूमिकामा तेश्रो इनिङ :  अवसर र चुनौतीको चाङमा थानी

सुर्खेत २ प्रदेश सभा (ख) मा माओवादीका

संसदीय भूमिकामा तेश्रो इनिङ :  अवसर र चुनौतीको चाङमा थानी

विद्युत अभावले सताएको दुनाटपरी उद्योग

Leave a comment

Your email address will not be published. Required fields are marked *