सुर्खेत उद्योग बाणिज्य संघको अध्यक्षमा कँडेल र खड्काको चर्चा

सुर्खेत, १२ फागुन ।
सुर्खेतमा निजी क्षेत्रको साझा संस्थाको रुपमा रहेको सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन नजिकिदै छ । उद्योगी तथा व्यवसायीहरुको छाता संस्था भएकाले पनि यसको नेतृत्वमा धेरैको चासो हुन्छ ।
यहीकारण संघको नेतृत्व हात पार्नका लागि व्यवसायीहरु कसरतमा जुटेका छन् । नेतृत्वका लागि आकाँक्षीहरुले दौडधूप पनि बढाएका छन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार आउँदो चैत २६ गते संघको निर्वाचन हुनेछ । तर सदस्यता विवादका कारण घोषित मितिमा नै चुनाव हुनेमा आंशका पनि छ ।
यद्यपि संघले तोकिएकै मितिमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने जनाएको छ । सुर्खेत उद्योग बाणिज्य संघको नेतृत्वमा नेपाली काँग्रेस समर्थित व्यवसायीहरुको बाहुल्यता छ । अन्य राजनीतिक दलमा आस्था राख्ने व्यवसायीको सहभागिता न्यून छ । काँग्रेस निकटका व्यापारीको बाहुल्यता भए पनि सर्वसम्मत नेतृत्व चयन हु्ने अवस्था छैन ।
काँग्रेस भित्रको आन्तरिक गुटको प्रभाव व्यवसायीहरुमा पनि पुगेको छ । पार्टीको दुई समूह जस्तै व्यापारीहरुमा पनि प्रष्ट दुई गुट छन् । सोहीकारण यसपाली पनि संघको नेतृत्वका लागि काँग्रेस भित्रकै दुई गुटबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
अहिले सम्मको माहोलअनुसार संस्थापन (शेरबहादुर देउवा) पक्षबाट हालका संघका बरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का र संस्थापनइतर अर्थात (शेखर कोइराला) समूहबाट हालका संघका महासचिव लक्ष्मण कँडेलबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुने चर्चा छ ।
उनीहरु नै अध्यक्षका लागि उम्मेदवार बन्ने व्यवसायीहरु बताउँछन् । अघिल्लो निर्वाचनमा संस्थापन पक्षबाट पदाधिकारीमा खड्का र गणेश बस्नेत मात्रै विजयी भएका थिए । यही कारण संस्थापन पक्षले खड्काले नै अध्यक्षमा अगाडि सार्ने तयारी गरेको हो ।
‘अन्य पदमा छलफल होला, तर हाम्रो लाइनबाट हर्षविक्रम खड्का नै अध्यक्षमा उठ्नुहुन्छ’ संस्थापन पक्षका एक व्यापारीले भने, ‘अध्यक्षमा उहाँ (खड्का) उठ्ने लगभग फाइनल नै हो ।’ यद्यपि संस्थापन पक्षकै प्रकाश उप्रेती पनि अध्यक्षका दाबेदार हुन् ।
अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका उप्रेती यसअघिको निर्वाचनमा पनि अध्यक्षमा पराजित बनेका थिए । नेतृत्व हात पार्न संस्थापन समूहका व्यापारीहरुले अन्य राजनीतिक दल निकट व्यापारीसँग पनि गठबन्धनका लागि छलफल बढाएको छ ।
यस्तै संस्थापन इतरले बहालवाला महासचिव कँडेललाइ नै अध्यक्षको उम्मेद्वार बनाउने भएको छ । ‘हाम्रो तर्फबाट उम्मेद्वार फाइनल भइसक्यो’ संस्थापन इतर समूहका एक व्यापारीले भने, ‘अन्य पदमा सबै पक्षका साथीहरुलाई समेट्छौँ, तर अध्यक्षमा कँडेलको विकल्प छैन ।’
कँडेल समूहले संघको मुल नेतृत्व आफूले गर्ने र बाँकी पदमा अन्य दल निकट व्यापारीलाई समेट्ने रणनीति लिएको छ । सोही रणनीति अनुसार यो समूहले पनि अन्य दल निकट व्यापारीसँग पनि निर्वाचन लक्षित भेटघाट गर्न थालेको छ । ‘अध्यक्ष बाहेकका पदमा सबै विचार समूहका साथीहरु अटाउँछौँ’ ति व्यापारीले भने, ‘नेतृत्व हामीले गरे पनि अन्य सबै साथीहरुलाई समेटेर लैजान्छौँ ।’
‘सदस्यता नविकरण गर्ने मौका दिनुपर्छ’
संघको निर्वाचन नजिकिदै गर्दा सदस्यता विवाद मिल्न सकेको छैन । विवादकै कारण असन्तुष्ट पक्षले संघका तालाबन्दी गरेको छ । निर्वाचनको मिति घोषणा गरेसँगै संघमा सदस्यता विवाद चुलिएको छ ।
संघका बरिष्ठ उपाध्यक्ष हर्षिविक्रम खड्का समूहले कोरोना महामारीका कारण सदस्यता नवीकरण गर्न छुटेका व्यवसायीलाई निर्वाचन अघि नै सदस्यता नविकरण गर्नुपर्ने र आफूखुशी बनाइएका नयाँ सदस्यको हकमा छानबिन गरिनुपर्ने माग राखेको छ ।
‘कोरोनाका कारण सदस्यता नविकरण गर्न छुटेका व्यवसायीलाई समय दिएर सदस्यता नविकरणको मौका दिनुपर्छ’ खड्का भन्छन्, ‘महामारीमा सदस्यता खारेज गर्नु व्यवसायीमाथि अन्याय हुन्छ, अब निश्चित समय दिएर सदस्यता नविकरण गर्ने मौका दिनुपर्छ ।’
संघको विधान र कानूनी कुराभन्दा पनि संस्था र व्यवसायी हितको लागि सदस्यता नविकरणको विकल्प नभएको उनको दाबी छ । उनले एक हजार पाँचसय भन्दा बढी व्यवसायीहरुको सदस्यता नविकरणका लागि व्यवस्था मिलाउनुपर्ने, सर्वपक्षीय निर्वाचन समिति गठन गर्नुपर्ने, संस्थालाई पारदर्शी बनाइनुपर्ने र संघमा भएको गैरसदस्यहरुको सदस्यता छानबिन गर्नुपर्ने आफूहरुको माग रहेको बताए ।
‘कुनै पनि हालतमा नविकरण गर्न सकिदैन’
तर संघका अध्यक्ष धनबहादुर रावत समूहले भने तोकिएको अवधिभित्र सदस्यता नविकरण नगर्र्ने व्यवसायीको सदस्यतको स्वतः खारेज भइसकेको जनाएको छ ।
‘२०७३ सालमा भएको साधारणसभाले नै गरेको विधान संशोधन अनुसार दुई आर्थिक वर्षसम्म सदस्यता नविकरण नगर्ने सदस्यको सदस्यता स्वतः निष्क्रिय हुने व्यवस्था छ’ अध्यक्ष रावतले भने, ‘तोकिएको अवधिभित्र सदस्यता नविकरण नहुने व्यवसायीको सदस्यता स्वतः खारेज भइसक्यो ।’
विद्यानअनुसार दुई बर्षसम्म सदस्यता नविकरण नगरेका व्यवसायीले अब नयाँ सदस्यता लिनसक्ने भए पनि कुनै पनि हालतमा नविकरण भने नहुने उनको भनाइ छ ।
संघको नेतृत्व हत्याउन र वर्तमान नेतृत्वलाई विवादमा पार्न जानाजान अर्काे समूहले सदस्यता नविकरण नगरेर विवाद झिकेको रावतको आरोप छ । यही विवादकै कारण तीन हप्तादेखि संघको कार्यालयमा तालाबन्दी छ ।
माघको अन्तिम साता असन्तुष्ट पक्षले गरेको तालाबन्दी फागुन ३ गते खुलाइएको थियो । तर असन्तुष्ट पक्षले पुनः संघको कार्यालयमा तालावन्दी गरेको छ । विवाद मिलाउन तीन चरणमा वार्ता भए पनि सहमति भएको छैन ।







