बाल संरक्षणका कार्यक्रम प्रभावकारी बनाउन राजापुरका दुई विद्यालयमा बाल संरक्षण कार्यक्रमको संयुक्त अनुगमन

बर्दिया, असोज २५ ।

बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लागि सञ्चालन भइरहेका कार्यक्रमको प्रगति र उपलब्धिबारे जानकारी लिन राजापुर नगरपालिकाका जनप्रतिनिधि तथा संस्थाको व्यवस्थापन टोलीले दुई विद्यालयमा संयुक्त अनुगमन गरेको छ ।


बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत राजापुर नगरपालिका–१० स्थित जनचेतना माध्यमिक विद्यालय र वडा नं. ८ स्थित भेरी माध्यमिक विद्यालयमा अनुगमन गरिएको हो ।
अनुगमन टोलीमा नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरी, वडा नं. ५, ८ र १० का वडाध्यक्षहरू, महिला तथा बालबालिका इकाइ प्रमुख अनिता चौधरी, क्लबका कार्यकारी निर्देशक रविकुमार तुलाधर, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, परियोजना संयोजक ईश्वर बिक तथा क्षेत्रीय पर्यवेक्षक प्रमिशा थारु सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको सहजीकरण परियोजना संयोजक ईश्वर बिकले गर्नुभएको थियो ।


जनचेतना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षकहरूसँग छलफल गर्दै परियोजनाअन्तर्गत सञ्चालन भइरहेका विभिन्न गतिविधिको अवस्था र प्रभावबारे जानकारी लिइएको थियो । छलफलमा ‘स्टिक्स एन्ड स्टोन्स’ सत्र, अभिभावक शिक्षा कार्यक्रम तथा समुदाय–प्रहरी साझेदारी अभियानलगायतका गतिविधिबारे समीक्षा गरिएको थियो ।


यी कार्यक्रमले बाल अधिकार, व्यक्तिगत सुरक्षा, मानव बेचबिखन रोकथाम, सकारात्मक अभिभावकत्व तथा बाल संरक्षणमा समुदायको जिम्मेवारीबारे चेतना अभिवृद्धि गर्न योगदान पु¥याएको सहभागीहरूले बताएका थिए ।
त्यसैगरी, भेरी माध्यमिक विद्यालयमा कक्षाकोठाको अवलोकन गर्नुका साथै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिसँग अन्तरक्रिया गरिएको थियो। छलफलमा बाल संरक्षणसम्बन्धी विद्यार्थीको चेतनामा आएको सुधार, सुरक्षित सिकाइ वातावरण निर्माण, बालबालिकाको सुरक्षामा शिक्षकको भूमिका तथा विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यका विषयमा समीक्षा गरिएको थियो ।


अनुगमन टोलीले विद्यालयमा बाल संरक्षणसम्बन्धी गतिविधिलाई नियमित रूपमा सञ्चालन गर्न, विद्यालयस्तरमा उजुरी तथा घटनाको जानकारी दिने र आवश्यक निकायमा सिफारिस गर्ने संयन्त्रलाई सुदृढ बनाउन सुझाव दिएको थियो ।
परियोजनाअन्तर्गत सञ्चालन भएका सफल अभ्यासहरूको अभिलेखीकरण गर्दै तिनलाई निरन्तरता दिनुपर्ने विषय पनि अनुगमनका क्रममा उठाइएको थियो। बाल संरक्षणसम्बन्धी गतिविधि परियोजनाको अवधिमा मात्र सीमित नराखी दीर्घकालसम्म प्रभावकारी रूपमा सञ्चालन गर्न विद्यालय तथा स्थानीय तहले अपनत्व लिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।


संयुक्त अनुगमनले स्थानीय सरकार, विद्यालय र बाँके युनेस्को क्लबबीचको सहकार्यलाई थप सुदृढ बनाउनुका साथै बाल संरक्षणका कार्यक्रमको प्रभावकारिता समीक्षा गर्ने अवसर प्रदान गरेको छ ।

बाल संरक्षणका कार्यक्रम प्रभावकारी बनाउन राजापुरका दुई विद्यालयमा बाल संरक्षण कार्यक्रमको संयुक्त अनुगमन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत

बाल संरक्षणका कार्यक्रम प्रभावकारी बनाउन राजापुरका दुई विद्यालयमा बाल संरक्षण कार्यक्रमको संयुक्त अनुगमन

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा खत्री

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!