सुर्खेतमा सार्वजनिक यातायात बन्द, सयौं यात्रु अलपत्र

सुर्खेत, ९ चैत्र ।
बुधबार विहानैदेखि सुर्खेतबाट छुट्ने छोटो तथा लामो दुरीका सार्वजनिक यातायातका सवारी साधनहरु बन्द गरिएको छ । कालो नम्बर प्लेटमा सार्वजनिक यातायात सञ्चालन गर्ने यातायात कम्पनीहरुले बुधबारदेखि अनिश्चितकालका लागि भन्दै सार्वजनिक यातायात बन्द गरेका हुन ।
सार्वजनिक यातायात बन्द हुँदो गन्तव्यमा हिडेका सयौं यात्रुहरु बाटोमा अलपत्र परेका छन् । रातो नम्बर प्लेटमा चल्ने निजी तथा भाडाका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन भैरहेका छन् । गन्तव्यमा हिडेका यात्रुहरु सार्वजनिक यातायात नचलेपछि रातो नम्बर प्लेटका निजी भाडाका स्कारपियो, बोलेरो, कार, जीप गाडीहरु रिजर्भ गरेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता भएको एक यात्रुले बताउनुभयो ।
रातो नम्बर प्लेटका भाडाका नीजि सवारीहरुले मनलाग्दी यात्रु बोकेको भन्दै स्थानीय प्रशासन र प्रहरीले त्यसको नियन्त्रणमा कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरुले स्वतस्फूर्त सार्वजनिक यातायात बन्द गरेका हुन ।
विहानैदेखि व्यवसायीहरुले बसपार्कबाट कुनै पनि सार्वजनिक सवारी छुटाएका छैनन् । बसपार्कमा वीरेन्द्रनगरबाट बाहिरिने यात्रुहरुको भने विचल्ली भएको छ । मुख्यगरी नीजि (रातो नम्बर प्लेट) का सवारीहरुले खुलेयाम यात्रुहरु ओसार्ने कार्य गरेकाले व्यवसायीहरुले बाध्य भएर सार्वजनिक यातायात बन्द गर्नु परेको देउती नागरिक यातायात प्रा.लि.का अध्यक्ष कमल खड्का (जुनी) ले जानकारी दिनुभयो ।
उहाँअनुसार बुधबार विहानदेखी प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिरिने कुनै सवारी सञ्चालनमा आएका छैनन् । ‘बारम्बार स्थानीय प्रशासन र प्रहरीलाई यातायात व्यवसायीहरुले संयुक्त रुपमा यस विषयमा जानकारी गराउँदा पनि सुनुवाई भएन्,’ सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले भन्नुभयो ।
‘एकातिर तेलको मूल्य बढ्दा पनि सरकारले भाडा समायोजन गरेको छैन्, सार्वजनिक सवारीमा जानु पर्ने यात्रुहरुलाई प्रहरीकै अघिबाट ओहोरदोहोर गर्दा नियन्त्रण हुँदैन् यस्तो अवस्थामा कसरी सार्वजनिक सवारी सञ्चालनमा ल्याउनु । अब नीजिले नै यात्रुहरु बोक्छन् हामी गाडी चलाउँदैनौं ।’






