चुनावी तालमेल गठबन्धनलाई आवश्यक छ : उपमहासचिव ज्वाला

सुर्खेत, ७ चैत्र ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले गठबन्धनमा रहेका सबै दललाई चुनावी तालमेल आवश्यक रहेको बताएका छन् ।
नेकपा एस कर्णाली प्रदेशको दोश्रो पूर्ण वैठकपछि आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उनले गठबन्धनलाई प्रतिनिधिसभाको निर्वाचनसम्मै लैजाने सहमति भइसकेको बताउँदै कोही कसैले गठबन्धन हुँदैन भनेर भन्नुको कुनै अर्थ नभएको दाबी गरे ।
उनले आफ्नो नीति सिद्धान्तमा भर पर्ने बताउँदै आफ्नै शक्तिमा विश्वास गरेर अघि बढेको बताए । ‘तालमेल चुनावको बेला हुनसक्छ । सरकार गठनको बेला हुनसक्छ । एउटैको बहुमत नआउँदा हुनसक्छ । विभिन्न दलहरुले गठबन्धनको आवश्यकता महसुस गर्दा खेरि तालमेल हुने हो ।’
उनले भने, ‘राष्ट्रिय सभाको चुनावमा गठबन्धन बनाएर गयौं जित निकाल्यौं । त्यसैले सबै दललाई गठबन्धनको आवश्यकता छ ।’ यता, दलको वैठकले नेकपा जनवादी र राष्ट्रिय जागरण परिषद हाम्रो पार्टीमा समाहित भएपछि पार्टी केन्द्रद्धारा थप गरिएका ११ जना प्रदेश कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्य सम्पन्न भएको प्रदेश कमिटी अध्यक्ष अम्मरबहादुर थापाले बताए ।
‘१२ सदस्यीय कार्यालय, ४७ सदस्यीय सचिवालय गठन गरिएको छ । प्रदेश स्तरीय २७ वटा विभाग गठन गरी पदाधिकारी र सदस्यहरुको कार्यविभाजन गरिएको छ ।
त्यसैगरी प्रदेश स्तरीय अनुशासन आयोग, लेखापरिपक्षण आयोग, निर्वाचन आयोग, सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्च र प्रदेश परिषद पनि गठन गरिएको छ ।’ उनले भने, ‘“जनतामा जाऔं, एकीकृत समाजवादीलाई जिताऔं‘” भन्ने मुलनाराका साथ यही २०७८ चैत्र २० गतेसम्म सम्पन्न गर्ने गरी जिल्ला, पालिका, वडा र टोल स्तरीय १५ दिने जनपरिचालन अभियान संचालन गर्ने कार्य तालिका पारित गरिएको छ ।
साथै यस अभियानलाई सफल वनाउन सहजकर्ताको रुपमा कर्णाली प्रदेश सहइन्चाजहर्रु चन्द्र वहादुर शाही हुम्ला, शेर वहादुर के. सी. रुकुम पश्चिम, हंश वहादुर शाही डोल्पा, अध्यक्ष अम्मर वहादुर थापा दैलेख, उपाध्यक्ष देविलाल थापा जुम्ला, उपाध्यक्ष नन्दा शर्मा चपाई सल्यान, सचिव ठगेन्द्र प्रकाश पुरी सुर्खेत, उपसचिव कृष्ण वहादुर वि.सी. जाजरकोट, उपसचिव कुर्मराज शाही कालिकोट र उपसचिव गोपाल बम मुगुमा जिम्मेवारी दिइएको छ ।’
वैठकले आगामी २०७९ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा सफलता हासिल गर्न पार्टी पंक्तिलाई सम्पूर्ण रुपमा परिचालित गर्ने साथै यही चैत्र १५ गते १० वटै जिल्लामा र चैत्र १८ गते ७९ पालिकाहरुमा निर्वाचन परिचालन कमिटीहरु घोषणा गर्ने निर्णय गरेको बताइएको छ ।
‘आगामी स्थानीय तहको निर्वाचनमा हाल गठवन्धनमा सम्मिलित दलहरु विच बाम लोकतान्त्रिक गठवन्धनको विजयलाई सुनिश्चित गर्न चुनावी तालमेललाई जोड दिने, पेट्रोलियम पदार्थ लगायत जनजीविकासंग सम्वन्धित वस्तुहरुको मूल्य नियन्त्रण गर्न तथा वालशिक्षा, विद्यालय सहयोगी कर्मचारीहरुको तलव वृद्धि गर्न सरकारसंग माग गर्ने लगायत ९ वटा समसामयिक प्रस्तावहरु पारित भएको छ ।’ अध्यक्ष थापाले भने ।






