माओवादी केन्द्रको रुकुम पश्चिममा जनप्रतिनिधि हुन पालो सिस्टम

प्रचण्ड खत्री
रुकुम पश्चिम, ६ बैशाख ।
नेकपा माओवादी केन्द्रले रुकुम पश्चिमका ६ वटै स्थानीय तहको उम्मेदवार टुंगो लगाएको छ । आसन्न स्थानीय चुनाबलाई लक्षित गर्दै उम्मेदवार टुंगो लगाएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक गोबिन्द रोकाले बताए । स्थानीय तहकाे जनप्रतिनिधिका लागि पालाे सिष्टम लगाइएकाे छ ।
जिल्ला समन्वय समितिमा महिलालाई प्रमुख बनाउने गरी स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष र प्रमुख, उपप्रमुखको टुङ्गो लगाएको संयोजक रोकाले जानकारी दिए ।
चौरजहारीमा प्रमुख पुष्प बादी, उपप्रमुख ईश्वरी कुमारी शर्मा बियम, आठबिसकोट नगरपालिकामा प्रमुख रबि केसी, उपप्रमुखमा धनकुमारी शर्मा, मुसिकोटमा प्रमुख बसन्त शर्मा, उपप्रमुखमा मिलन खड्का, सानिभेरीमा अध्यक्ष बिर्ख बहादुर बिष्ट, उपाध्यक्षमा कमला रोका पुन रहेको जिल्ला प्रचार–प्रसार समितिका संयोजक धुर्बबिक्रम बुढाथोकीले बताए ।
त्यस्तै त्रिबेणी गाउँपालिका अध्यक्षमा गणेश कुमार केसी, उपाध्यक्ष राजकुमारी रेउले, बाफिकोट गाउँपालिका अध्यक्षमा चन्द्रबहादुर केसी, उपाध्यक्ष तारा बुढा केसीलाई उम्मेदवारी बनाउने निर्णय भएको बुढाथोकीको भनाई छ । वडा अध्यक्ष र सदस्य केही दिनमा टुङ्गो लगाईने भएको छ ।






