साहित्य : गर्भ रचना

उमालाल अाचार्य/वीरेन्द्रनगर-१२, सुर्खेत
साहित्यमा आजभोलि रचनाको गर्भलाई पनि महत्त्व दिने गरिएको छ । रचना कुन प्रेरणाले कुन अवस्थामा कसरी सीर्जना गरियो, त्यसको नालिबेली खोतलिन्छ । त्यतातिर मन दिने पाठकलाई यसले आनन्द पनि दिन्छ ।
“इतिहास साक्षी छ “भन्ने शिर्षकको कविता लेखिएको थियो २०६३ सालमा । त्यो कविता लेख्न केले प्रेरित गर्यो भन्ने सन्दर्भमा, सानो छँदा राजा त्रिभुवनप्रती पाठ्यक्रममा पढ्दै आएको इतिहासले मनमा एउटा धारणा बनाएको थियोे । राणा शासनको अन्याय अत्याचार र थिचोमिचो सहन गर्न नसकी आफ्नो राजगद्दी समेत त्यागेर प्रजातन्त्र नल्याई नछाड्ने दृढ़ संकल्प गरेका राजाले यो देशमा प्रजातन्त्र स्थापना गरे र प्रजातन्त्रका पिता कहलाए, भन्ने व्यहोरा पाठमा विस्तारित थियोे ।
फुर्सदमा त्यसको समिक्षा हुँदा, प्रजातन्त्रले राणाहरु सबै लाई धपाए पनि विपी कोइराला नामको व्यक्तिले राजाको शासन सत्ता खोसेर आफै राजा हुन खोज्दै छरे भन्ने सुनिन आयो । अरु इलम गरेर खाए हुने प्रजातन्त्र ल्याउने राजाको सत्ता किन खोस्ने ! मनमा आक्रोश चढ्यो । विपी कोइराला त ठूला विद्वान हुन देशमा प्रधानमन्त्री भैसकेका व्यक्ति हुन ।
हाम्रा अलि ठूला दौंतरहरुले त्यसो भने । राजाको शासन खोस्न खोज्ने मान्छेलाई प्रधानमन्त्री बनाउन राजालाई के बाध्यता आइपर्यो त बालमस्तिष्कमा छिर्न सकेनन ती अप्ठ्यारा कुरा । समयले उचालिदिएर वयस्क बनाएपछि र जिज्ञासु मनमा पनि थोरै चेतना चढेपछी प्रजातन्त्रको बिषय सत्यापन हुँदा भित्री कथा फरक रहेछ, बाहिर खेतालाहरुले शब्दका फूल माला गाँसेर लिपपोत गरेर प्रजातन्त्रका पिता बनाएका पो रहेछन् । २०४६ सालमा आएको परिवर्तन पछि लेखक, पत्रकार राजनीतिज्ञ, प्राध्यापक र विद्वानहरुले लेख टिप्पणी र अन्तर्वार्ता मार्फत सबै छर्लङ्ग उदाङ्ग पारे ।
त्यसो त राजा महेन्द्र शाह पनि व्यवहार र राजनीतिमा कम विवादित छैनन् आफ्नो जीवन कालमा । विधिवत विवाह हुनु अगाडि नै उनी एक पुत्रका पिता भैसकेका व्यक्ति थिए। नारायणहिटी दरबार, राज्यलाई बेचेर पछि आफैले हकभोग गरेका थिए । कालापानीको समस्या उनैले बल्झाएका हुन भन्छन् मान्छेहरु ।
२००७ सालमा रोपेको प्रजातन्त्रको जरो २०१७ सालमा ओखेलेर फालिदिएका थिए । यति हुँदाहुँदै पनि संविधान बनाए, भूमिसुधार लागू गरे । बिदेशी नागरिक लाई संसदमा उपस्थिति जनाउन बन्द गरे । देशमा निर्बाध गतिविधि गर्ने बिदेशी सेनालाई फिर्ता गरे । पूर्व-पश्चिम राजमार्ग खुलाए । उद्योग कलकारखाना र विकासका पूर्वाधार खडा गरे । गुण र दोषीलाई निर्ममता पूर्वक चिर फार गर्दा र पूर्वाग्रह छोडी निष्पक्ष आँखाले हेर्दा राजा महेन्द्रलाई राष्ट्रवादी रुझानका व्यक्ति हुन भन्न हिचकिचाउनु पर्दैन ।
राजनीतिक दल र राजनीतिज्ञहरुलाई पन्चायतले बन्देज लगाएका कारण पाठ्यक्रममा हामी बच्चाहरुको जानकारी बाट धेरै टाढा थिए । २०४६ सालको प्रजातन्त्रको उज्यालो मा छर्लङ्ग देखिए सबै । विश्वेश्वरप्रसाद कोइराला सुप्रसिद्ध राजनितिज्ञ मात्र होइन रहेछन, साहित्यका ठूला भण्डार पनि रहेछन् ।
बालमस्तिष्कमा बसेको गलत धारणा उनका पुस्तकहरुले पुछेर फालिदिए । जसको सपनाले देशमा एउटा ठूलो राजनैतिक दल चलायमान छ, उही व्यक्तिलाई कोसीको कालो धब्बा पनि त लागेको छ । सर्वस्वीकार्य छ दोषलाई गुणले जित्यो भने त्यो व्यक्ति गुणि नै कहलाउँछ ।
दबिन्छ गुणिको दोष गुणका राशिमा परी
रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।
काठमान्डु गौचरनमा त्यतिखेर जहाज अवतरण गरेको राजा त्रिभुवन र सपरिवारलाई दिल्ली पुर्याउनका लागि रहेछ । ३/४ महिनासम्म भारतीय प्रधानमन्त्री जहवारलाल नेहरुले पाहुना बनाइ पालेछन त्रिभुवनलाई । सन्धि सम्झौता के भएको छ त्यस अबधिमा ? सोझा देशबासीलाई पटक्कै थाह छैन ।
वास्तविकता के थियोे, आधिकारिक पुष्टि बिना मैदानबाट कान कानमा आएका केही गम्भीर कुराले मन उद्वेलित बनाउँछ । १९५० को असमान सन्धि खारेज गर भन्दै राजनीतिक वृत्तमा घरीघरी यो नारा लागिरहने गर्छ । इत्यादी कारणले त्यो सन्धि सम्झौता अवश्य पनि देशको हित अनुकूल थिएन भन्ने जनाउँछ । प्रजातन्त्र प्राप्तिका लागि उनको योगदान छैन भन्न खोजिएको हुँदै होइन, तर भ्रम र झुट मिसाएर सत्यलाई बङ्ग्याउँदै टाढा लैजानु पनि हुँदैन ।
प्रजातन्त्रले वास्तविकता खुलाई सक्दा पनि फागुन ७ गते का दिन फेरि उही कर्मकाण्ड थाम्ने हेतुले मिथ्यामा सिङ पुच्छर गाँसेर व्यक्ति विशेषको महिमा गान र बखानले दिक्दार बनायो । परम्परागत चाकरीबाजलाई चिर्न र सहि सत्यतथ्य उजागर पारि यथार्थ चित्रण गर्न मनमा रोपिएको हो त्यो कविताको बीउ । कसैले कथेको इतिहास र देशले भोगेको यथार्थ इतिहासको तुलना गरेको छ “इतिहास साक्षी छ ” भन्ने कविताले ।
सुर्खेतमा साहित्यगोष्ठी कविता वाचन र प्रतियोगिता जस्ता कार्यक्रमको संचालनबाट बिशेष चर्चा आर्जन गरि पहिचान बनाएको हिमाली पुस्तकालयले निम्ता गरेको थियोे कविता वाचनका लागि ।
कार्यक्रममा सुर्खेतका प्रतिष्ठित सर्जक तथा साहित्यकारहरु लीलाधर गौतम, महेन्द्रप्रसाद गिरी, प्रेमदेव गिरी, भीमवहादुर भण्डारी, डा. दीपक गौतम, ऋषि थानी,मणिकुमार पोखरेल, गणेश भक्त गौतम, सरस्वती गौतम लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो । कविता वाचन प्रतियोगितामा निर्णायकको भूमिका निभाउँदै डा.गौतमबाट “इतिहास साक्षी छ ” कवितालाई प्रथम घोषणा गरिएको थियोे ।
प्रस्तुत छ कविता “इतिहास साक्षी छ”
तिमी प्रजावत्सल राजा प्रजाको दु:ख पीडामा बेचैन बन्थ्यौरे
जहाँनीया शासन अन्त्य गर्न गुप्त रुपले जनताको साथ लिन्थ्यौरे ।
यो सारा विश्व जगतमा तिमी मात्र एक उदाहरण हौरे
देश र जनताका लागि अरु त के, आफ्नो गद्दी नै त्याग्यौरे ।
हामीलाई सब थाहा छ,
श्री ५ को चालढाल र गतिविधि श्री ३ ले हेरिरह्यो लुकिछिपी
फन्दामा परे सहिदहरु आफ्नो प्राण आहुती गरे हासिखुसी ।
ती ४ सहिदको मृत्युपत्रमा तिमीले ठोकेकै हो पन्जाछाप
आफै बोक्सी तिमी आफै धामी जनता मरे तिमीलाई के सन्ताप ।
इतिहास साक्षी छ,
लात मार्यौरे सुख सयल र ऐश आराम रत्ति संकोच नमानी
संकल्प मनमा लिइ स-परिवार पुग्यौरे भारतको राजधानी ।
दिनको भोक र रातको निद बिर्सेर महिनौं बितायौरे बिदेशमा
प्रजातन्त्र नलगी जाँदैजान्न फर्कदै फर्कन्न भन्यौरे स्वदेशमा ।
हामीलाई सब थाहा छ,
राणा सरकारले तिम्रो चलखेल एकेक जानकारी लियो
तिमीलाई गोरखामा लगि नजरबन्दमा राख्ने सुरसार थियोे ।
संभावित नजरबन्दले षड्यन्त्रको गन्धले आत्तियय बेस्सरी
जहाँन केटाकेटी परिवार समेटी भाग्नु थियो जसरी तसरी ।
इतिहास साक्षी छ,
यो प्यारो मातृभूमि र प्रजाका लागि श्रीपेच दाउमा लगाउने
प्रजा प्यारा राष्ट्रपिताले नत्यागे सम्म प्रजातन्त्र नआउने ।
प्रजातन्त्रले ढाल्यो जहाँनीया शासन बिलायो रक्षानमा
श्रीमान गम्भीर नेपाली प्रचण्ड प्रतापी भुपती श्री ५ महाराज सिंहासनमा ।
हामीलाई सब थाहा छ,
दरबार त्याग्यौ देश त्याग्यौ, त्यागेनौ आफ्ना जहान परिवार
बसाइँ सर्न पो देश त्याग्यौ फर्की आउने हुँदै होइन विचार ।
प्रजातन्त्र ल्याउन परिवारै जानुपर्ने त्यो काफल होकि केरा
फर्की आउने भए किन पो लान्थ्यौ जहान केटाकेटी सारा ।
हामीलाई सब थाहा छ,
संविधानसभाको घोषणा मुखमा राम राम बगलिमा छुरा
सुरामा डुब्यौ सुन्दरीहरुमा रम्यौ आफ्नै वचन गरेनौ पूरा ।
त्यो सातसाले प्रजातन्त्र कौवालाई बेल पाके सरी भयो
आस्थामा असिना पर्यो नेपालीको सपना बगेर खेरै गयो ।
झेली र कपटी इतिहास चोरलाई चौतारी साधुलाई सुलि
केको इतिहास, निरंकुशतावादीको बयान तिनकै वंशावली ।
तिम्रो जुठोपुरोमा बाँच्ने कोही धुर्त दासले लेखेको इतिहास
महिमा गायो तिम्रो, देश र जनताको गर्यो ठूलो उपहास ।
इतिहास साक्षी छ तर हामीलाई सब थाहा छ ।







