कर्णाली साहित्य पुरस्कार पाण्डेको ‘जियारा’ कृतिलाई

सुर्खेत, ७ फागुन ।
यो वर्षको कर्णाली साहित्य कृति पुरस्कार नयनराज पाण्डेको कृति जियारालाई प्रदान गर्ने भएको छ । कर्णाली साहित्य समाजले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।
२०७७ सालभित्र प्रकाशित कृतिहरु मध्येबाट जियारालाई ५० हजार राशीको यो पुरस्कार दिने निर्णय गरिएको संस्थाका संस्थापक संरक्षक महेशविक्रम शाहले बताए ।
यस्तै कर्णाली साहित्य समाज साधना सम्मान प्रा.डा. राजाराम सुवेदीलाई प्रदान गरिने छ । यस्तै २५ हजार राशीको पुरस्कार कर्णाली प्रदेशका विभिन्न लोक नृत्यलाई देशभर चिनाउन सफल कलाकार तथा नृत्य निर्देशक कुलमान नेपालीलाई प्रदान गरिने भएको छ ।
आगामी चैतमा संस्थाको स्थापना दिवसको अवसर पारेर उक्त सम्मान तथा पुरस्कारहरु प्रदान गरिने संस्थाका अध्यक्ष खगेन्द्र अधिकारीले बताए । कर्णाली साहित्य समाज नेपाली भाषा, साहित्य र कलाको संरक्षण, सम्वद्र्धन र विकास गर्ने उद्देश्यले स्थापना भएको संस्था हो ।
यसअघि महेश थापाद्वारा लिखित मरिचिका कथा संग्रह र ललित विष्टद्वारा लिखित मोहपथलाई कर्णाली साहित्य समाज कृति पुरस्कार, कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार चर्चित साहित्यकार बुद्धिसागर र वरिष्ठ कलाकार प्रेमदेव गिरीलाई, कर्णाली साहित्य समाज साधना सम्मान कवि श्यामल र कर्णालीको लोकसंस्कृति लगायतका कृतिका लेखकसत्यमोहन जोशीलाई प्रदान गरिएको थियो ।






