लघुकथा – मर्दानगी

मर्दकी सातवटी स्वास्नी”बच्चादेखि सुन्दै आएको कहावत।”सन्तानले डाँडाकाँडा ढाकुन्”प्रत्येक दशैंमा पाउने आशीर्वाद । अनि,”छोरो नभए स्वर्ग जाने लिस्नो ठडिन्न” पटकपटक पण्डितले भन्ने गरेको मन्त्र ।
सायद, यिनै र यस्तै भनाइबाट प्रभावित भएर होला ! उसले सोह्र वर्ष पुग्दानपुग्दै मन परेकी ठिटीलाई पटायो। घरमा भित्र्याएको दुई महिना पुगेको थिएन, उनलाई उसकै लगौटियाले टिपेर हिँड्यो। दोश्रो विवाह गर्यो, छ महिना नपुग्दै उनले पनि छोडेर गइन्। तेस्रीले दुई सन्तान त दिइन् तर उनको बारेमा पनि राम्रो कुरा सुनिएन। अन्ततोगत्वा उनी पनि नजिकैको छिमेकीको घरमा सन्ताहरू सहित भित्रिइन्।
केही दिनको अन्तरालमा उसले चौथीलाई भित्र्यायो । चौथीसँग उ कति सन्तुष्ट छ? उ आफैं जानोस्। तर, चौथीका वरिपरि घुमेर उसको मर्दानगीलाई चुनौति दिने भमराहरूको संख्या भने उल्लेखनीय देखिन्छ।
मणिकुमार पोखरेल
अध्यक्ष
लघुकथा समाज, कर्णाली प्रदेश







