जुम्लाका एक सय ४३ जना किसानले पाए गोठालो भत्ता

जुम्ला,२ साउन ।
जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका कृषकको अनुगमन गरेर १४३ किसानलाई भत्ता दिईएको हो ।
स्थलगत रिपोर्ट र मूल्याङ्कनपछि मात्र एक सय ४३ जनाले गोठालो भत्ता पाएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिए । उनँका अनुसार सरकारले जुम्लामा भेडाको उत्पादन बढाउन यस्तो व्यवस्था गरेको हो । एक वर्षभरि भेडा हेर्ने जाँदा आवश्यक सामान किन्न केही सहज होस भनेर उनीहरूलाई प्रोत्साहन स्वरूप गोठालो भत्ता दिने गरिएको छ ।
कर्णाली प्रदेश सरकार भूमि ब्यवस्था तथा कृषि मन्त्रालयको सहयोगमा भेडा पालक किसानलाई प्रोत्साहन गर्न ‘गोठालो भत्ता’ दिने कार्यक्रम लागु गरिएको हो । कार्यालय प्रमुख महतका अनुसार ५० देखि माथि भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार रुपियाँ भत्ता दिइएको छ ।
आइतवार चट्याङले मरेका भेडाका पिडित किसानलाई राहत वितरण कार्यक्रममा कार्यालय प्रमुख महतले भेडापालन किसानलाई सरकारले भत्ता कार्यक्रम निकै राम्रो ल्याएको बताए । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय कर्णालीका सचिव डाक्टर लेखराज दाहालले आफु भर्खरै आएपनि गोठालो भत्ता जस्ता कार्यक्रम लोकिप्रिय भएकाले थप सुदृढ गरिने बताए । गोठालो भत्ताले पशु अस्पताल तथा पशु सेवा कार्यालयमा दुई सय ८४ किसानले आफ्नो फम सूचीकृत गराएका छन् ।
चट्याङमा मरेका भेडा पिडित किसानलाई राहत
जिल्लाको पातारासी गाउँपालिकामा चट्याङमा परि ठूलो मात्रामा भेडा गुमाएका किसानलाई कर्णाली प्रदेश सरकारले राहत वितरण गरेको छ । मरेका १३० वटा भेडाको पाँच जना भेडा किसानलाई ५ लाख २० हजार रुपियाँ राहत वितरण गरिएको छ ।
किसानलाई राहात बाड्न कर्णाली प्रदेश सरकारका सचिव डाक्टर लेखराज दाहाल जुम्ला पुगेर चेक हस्तान्तरण गरेका हुन े । पशु अस्पताल तथा पशुुसेवा कार्यालयका अनुसार पातारासी गाउँपालिका ४ स्थित बागजाले पाटनमा यही असार १७ गते चट्याङ पर्दा १३० भेडा मर्नुका साथै ३०० वेपत्ता भएका थिए ।
कर्णाली प्रदेश भूमि तथा कृषि सहकारी मन्त्रालय सुर्खेतका सचिव डाक्टर लेखराज दाहाल, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्य, चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायत र प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले संयुक्त रुपमा कृषकहरुलाई राहत वितरण गरेका छन् ।
कृषकलाई कूल ५ लाख २० हजार रुपियाँ बराबरको राहत उपलब्ध गराइएको मध्य भेडापालक पिडित किसान धर्मसिंह रिउले एक लाख ४४ हजार, सुक रिउले एक लाख ७६ हजार, मान बहादुर रोकायाले ८० हजार, शंकर नेपालीले ४० हजार र जोरा रोकाया ८० हजारको चेक बुझेका हुन ।

कर्णाली सरकारको पशुपक्षी राहात वितरण कार्यविधी अनुसार प्रति भेडाको चार हजारका दरले वितरण गरिएको पशु सेवा कार्यलयले जनाएको छ । राहत वितरण गर्दै भूमि तथा कृषि सहकारी मन्त्रालयका सुर्खेतका सचिव दाहालले किसानलाई ठूलो क्षेति भएपछि चाडै राहातको व्यवस्था गरिएको बताए । उनँले अब वीमा कार्यक्रमलाई व्यापक गरि दिर्घकालिन भेडापालन व्यवसायमा जोड दिनुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पिडित किसानले समयमै राहात पाएकोमा स्थानीय प्रशासन, कार्यालय र प्रदेश सरकारलाई धन्यवाद दिए । चन्दननाथ नगपालिकाका नगरप्रमुख राजुसिंह कठायतले गुठिचौर जस्तो भेडा फारम उचित व्यवस्थापन नहुदा ओझेलमा परेको बताए ।
स्रोत : गोरखापत्र






