सीता परियार बनिन दलित समुदायबाट महिला सीडीओ

काठमाडौं, ६ फागुन ।
गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा सीता परियारलाई खटाएको छ । यसअघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी उनलाई मन्त्रालयले हुम्लाको सीडीओ बनाएर पठाएको हो ।
परियार दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला हुन् । दलित समुदायका पुरुषहरू यसअघि पनि सीडीओ बनिसकेका छन् । तर, महिला भने निजामती सेवामै कम छन् ।
कास्कीको रुपा गाउँपालिका–१ स्थायी निवासी परियारले शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् । उनी सेवा प्रवेश गरेको दशक बितिसकेको छ ।
परियार ०६८ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन । त्यसको तीन वर्षपछि नै खुला प्रतियोगिताबाट उपसचिवमा नाम निकालेकी उनी पछिल्लो समय जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत थिइन ।
दलित समुदायबाट पहिलो महिला सिडिओ हुन पाउँदा आफूलाई गर्व लागेको उनले बताइन । ‘आफ्नो समुदायबाट पहिलो महिला सिडिओ हुन पाउनु गर्वको कुरा हो,’ उनले भनिन्, ‘गृह मन्त्रालयले जुन जिम्मेवारी दिएको छ, त्यसलाई व्यावसायिक भएर तन, मन र ध्यान दिएर पूरा गर्ने प्रयास गर्नेछु ।’
भक्तपुरमा सहायक सीडीओ हुनुअघि उनले तत्कालिन जिल्ला विकास समितिको कार्यालयमा स्थानीय विकास अधिकारीको रुपमा समेत अनुभव संगालेकी छिन् । यस बीचमा उनले तीनवटा उपमहानगरपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा समेत काम गरिन् ।
उनले धनुषाको जनकपुरधाम उपमहानगरपालिका, काठमाडौंको किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेकी थिइन् ।
त्यस्तै, गृृहले नुवाकोट, धनकुटा, रुकुम पूर्व तथा जाजरकोटका सिडिओको पनि सरुवा गरेको छ । धनकुटामा उपसचिव युवराज कट्टेल, नुवाकोटमा सहसचिव नारायणप्रसाद रिसाल, रुकुम पूर्वमा कृष्ण खड्का तथा जाजरकोटमा गणेश शाहीलाई सिडिओका रूपमा पठाइएको छ । पाँच जिल्लाका सिडिओको नियमित सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए ।






