गाउँ पस्दै नेता–कार्यकर्ता

सल्यान,३१असोज ।
मंसिर ४ मा हुने गरी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै जिल्लाका सबै क्षेत्रमा चहलपहल बढेको छ । निर्वाचन आउन झन्डै एक महिना बाँकी रहँदा दलहरूले गाउँगाउँमा प्रशिक्षण, कार्यकर्ता भेटघाट, पार्टीका टोल समितिहरू परिचालनलगायतलाई तीव्रता दिएका हुन् ।
सल्यानको शारदा–२ मा घरदैलो कार्यक्रम गर्दै सत्ता गठबन्धनका नेता–कार्यकर्ता र उम्मेदवार । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न प्रदान गरेपछि उम्मेदवारसहित दलका नेता–कार्यकर्ता गाउँघर छिर्न थालेको स्थानीय कमल शर्माले बताए । ‘
तिहार नजिकिएकाले युवाहरू पनि गाउँघरमै छन्, जसले चुनावी सरगर्मी बढाएको छ,’ उनले भने, ‘बिहानैदेखि विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता जमघट भएर मतदातालाई रिझाउन थालेका छन् ।’ निर्वाचनमा होमिएका दलहरूले आफ्नो पक्षमा माहोल बढाउन पार्टीका वडा समितिका बैठकहरू बस्ने, घरदैलो कार्यक्रम, कार्यकर्ता भेटघाट, परिचालनलगायतलाई तीव्रता दिएको उनले बताए ।
![]()
विभिन्न दलका नेताहरूले मत आफ्ना उम्मेदवारको पक्षमा पार्न बाढीपहिरोपीडितका घरमा गएर विभिन्न आश्वासन दिन थालेका छन् । अहिले सबैतिर राजनीतिक चहलपहल बढिरहेको बन्गाडकुपिण्डे नगरपालिका–९ जयतपानीका दलबहादुर बुढाथोकीले बताए । ‘जिल्लास्तरीय नेताहरूको पनि गाउँमा आउने क्रम बढेको छ,’ उनले भने, ‘गाउँमा अहिले नै मत माग्ने क्रम सुरु भइसकेको छ ।’
चाडपर्वका कारण बाहिर बस्नेहरू पनि गाउँमै रहेकाले राजनीतिक चहलपहल बढिरहेको कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरका कर्णबहादुर भण्डारीले बताए । उनका अनुसार गाउँमा अहिले दिनहुँजसो कुनै न कुनै पार्टीका जिल्ला नेताहरू आएकै छन् । ‘गाउँघरमा चहलपहल बढ्नु राम्रो भए पनि चुनावका बेला मात्र नेताहरू देखिनु राम्रो होइन,’ उनले भने ‘स्थानीय निर्वाचनपछि सुनसान भएको गाउँको राजनीतिक चहलपहल फेरि तातेको छ ।’
गाउँघर र बजार क्षेत्रमा चुनावी चहलपहल बढेसँगै व्यापार व्यवसाय पनि फस्टाएको श्रीनगरका होटेल व्यवसायी नन्दराम रेउलेले बताए । ‘नेताहरू गाउँ पसेसँगै चुनाव नजिकिएको आभास भइरहेको छ,’ उनले भने, ‘उम्मेदवारले पनि एक चरणमा कार्यकर्ता भेटघाट गरिसकेका छन् तर उनीहरू लिखित घोषणापत्रबिनै गाउँमा पसिरहेका छन ।’
कालिमाटी गाउँपालिकास्थित माओवादी केन्द्रका संयोजक पुरुषोत्तम भट्टराईले उम्मेदवारबिनै एक चरणमा पालिकाभरि अभियान सञ्चालन गरिएको र अब उम्मेदवारसँगै घरदैलो कार्यक्रम गर्न लागिएको बताए । ‘गठबन्धनका कारण पनि घोषणापत्र तयार हुन सकेको छैन, टिकट माग्दै काठमाडौं गएका नेताहरू पनि जिल्ला फर्किसकेका छन्,’ उनले भने, ‘अब तिहारअघि नै गठबन्धनका सबै दलहरूको दोस्रो चरणको साझा चुनावी अभियान सुरु हुनेछ ।’
एकीकृत समाजवादीका जिल्ला सचिव रमेश गौतमले निर्वाचन नजिकिएसँगै चिया पसल, चौतारो, विभिन्न सार्वजनिक ठाउँहरूमा चुनावी गफहरू हुनु स्वाभाविक रहेको बताए । उनले एक साताभित्रै उम्मेदवारसहित स्थानीय तह केन्द्रित कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
कान्तिपुर




