गठबन्धनकै भर

मुगु, ३१ असोज ।
सत्ता गठबन्धनको एक घटक एकीकृत समाजवादीलाई गठबन्धनकै भरमा निर्वाचन लड्नुपर्ने भएको छ । संगठन कमजोर भएपछि पार्टीले गठबन्धनकै भरमा चुनाव जित्ने रणनीति लिएको हो । प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं. १ (१) मा सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका गोपाल बमले उम्मेदवारी दिएका छन् ।
गत स्थानीय निर्वाचनको वडाध्यक्षले पाएको मत परिणामअनुसार यो क्षेत्रमा कांग्रेसले ६ हजार ८ सय र माओवादी केन्द्रले ३ हजार २ सय मत पाएको थियो । एकीकृत समाजवादीको पोल्टामा १ हजार ५ सय मत मात्र परेको थियो भने एमालेले ६ हजार १ सय मत पाएको थियो ।
![]()
गठबन्धनबाट कांग्रेसले पूर्ण रूपमा समर्थन नगरे बमलाई जित निकाल्न गाह्रो देख्छन्, राजनीतिक विश्लेषक कमल शाही । यहाँ एमालेबाट जितबहादुर मल्ल चुनावी मैदानमा उत्रिएका छन् । गत निर्वाचनमा बम एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
क्षेत्र–१ (१) मा आफ्नो पार्टीलाई जित निकाल्न कांग्रेसकै भर रहेको स्विकार्छन् एकीकृत समाजवादीका युवा नेता खड्गबहादुर शाही । ‘कांग्रेसबाट अन्तरघात भएन भने गठबन्धनका उम्मेदवार बमले निर्वाचन जित्न सक्छन्, यदि अन्तरघात भयो भने यो क्षेत्र एमालेको पोल्टामा जान सक्छ,’ उनले भने, ‘अहिले हामी गठबन्धनकै भरमा निर्वाचन लडिरहेका छौं ।’
क्षेत्र–१ (१) मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेसका खगेन्द्रबहादुर मल्ल र एकीकृत समाजवादीका पारसमणि मल्लले उम्मेदवारी फिर्ता लिइसकेका छन् । तर, कांग्रेसको बलियो क्षेत्र मानिने क्षेत्र–१ (१) मा टिकट नपाएपछि कांग्रेस कार्यकर्ता रुष्ट रहेको मल्लको भनाइ छ ।
गत स्थानीय निर्वाचनमा छायानाथरारा नगर प्रमुख र उपप्रमुखसहित ६ वटा वडाध्यक्ष कांग्रेसले जितेको थियो भने ६ वटा वडामा एमालले बाजी मारेको थियो । एकीकृत समाजवादीले भने एउटा वडामा मात्र जित निकालेको थियो ।
कान्तिपुर





