जब खेलाडी मैदानमै ढलिन

पोखरा, २९ असोज ।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत शनिबारदेखि सुरु भएको एथ्लेटिक्सको प्रतिस्पर्धामा पहिलो दिन सात स्वर्णको टुंगो लागेको छ ।सात मध्ये ६ स्वर्ण विभागीय टिमले जितेका छन्। १० हजार मिटर महिलाको स्वर्ण भने बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जित्न सफल भइन्। अरु प्रतिस्पर्धामा भने प्रदेशका खेलाडीको प्रदर्शन फिक्का देखिए ।

राम्रो तयारी र प्रशिक्षण नपाएका कारण प्रदेशका खेलाडी विभागीय टिमभन्दा कमजोर देखिएका थिए। यस्तै कतिपय खेलाडी दौडका बीचमा निकै थाकेका जस्ता देखिन्थे। शनिबार १० हजार मिटर महिला प्रतिस्पर्धामा गण्डकी प्रदेशकी संगिता विक दौडकै बीचमा ट्र्याकमा ढल्न पुगिन्।
त्यसपछि मैदानमा उपस्थित स्वास्थ्यकर्मीले हतार हतार उनको प्राथमिक उपचार गरेका थिए । मेडिकल टिमका अनुसार उनको खुट्टा बाउँडिएको थियो। जसका कारण उनी मैदानमै ढल्न पुगेकी थिइन्। प्राथमिक उपचारपछि उनी हिड्न सक्ने अवस्थामा पुगेकी थिइन्। तर उनले दौड भने पूरा गर्न सकिनन्।
सेतोपाटी






