खुट्टामा तीन वटा चोट बोकेर पनि स्वर्ण जितेकी कीर्तिमानी सन्तोषी

पोखरा, २९ असोज ।
नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले तयारी गर्न पाइनन् । सन् २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा १० हजार मिटरमा नेपालका लागि कीर्तिमानी स्वर्ण जितेकी सन्तोषीको खुट्टामा चोट थियो । सुरूमा बुढी औंलामा चोट लाग्यो। त्यसपछि चोट बढ्दै गयो। मुख्य तीन चोट बोकेपछि उनी नवौं राष्ट्रिय खेलकुदमा भाग लिने वा नलिने अन्योलमा परिन्।
प्रशिक्षक रघु वन्त लगायतले उनलाई हल्का प्रशिक्षण गरेर भाग लिन सुझाव दिए। किनभने सन्तोषी दौडसँग आत्मविश्वासी रहेको प्रशिक्षकलाई राम्रो ज्ञान थियो । त्यही सुझावअनुसार नवौंमा प्रतिस्पर्धा गरेकी सन्तोषीले शनिबार पोखरा रंगशालाको ट्र्याकमा १० हजार मिटरमा स्वर्ण जित्न सफल भइन् ।

उनको मूख्य प्रतिस्पर्धा नेपाल पुलिसकी राजपुरा पछाईसँग भएको थियो । अन्तिम ल्याप बाँकी हुँदा सन्तोषीले राजपुरालाई पछि पारेकी थिइन्। सन्तोषीले ३६ मिनेट १२ः३६ सेकेन्डमा दौड पूरा गरिन् भने राजपुराले ३६ मिनेट २९.४५ सेकेन्डमा दौड पूरा गर्दै रजत हात पारिन्।
राष्ट्रिय कीर्तिमान बनाउन नसके पनि आफू स्वर्णमै सन्तुष्ट भएको सन्तोषीले बताइन्। ‘आज म कीर्तिमानका लागि दौडिएको थिइनँ,’ सन्तोषीले स्वर्ण जितेपछि भनिन्, ‘चोटका कारण राम्रो अभ्यास गर्न पाइनँ। त्यसैले पदकका लागि मात्र प्रतिस्पर्धा गरेको हुँ। सफल भएकोमा खुसी छु।’
उनले पाँच किलोमिटरसम्म आफ्नो खुट्टाको अवस्था जाँच गर्ने योजना बनाएकी थिइन्। पाँच किलोटिरसम्म राम्रो दौडिएपछि उनले विपक्षीलाई पछि पार्ने योजना बनाएकी थिइन्। ‘दिमाग र मनले अघि बढ् भन्दै थियो।
तर खुट्टाले हतार नगर् भनिरहेको थियो,’ उनले भनिन्, ‘एकपटक विपक्षीलाई पछि पनि पारें। तर फेरि ब्याक भएँ।’ अन्तिम पाँच सय मिटर बाँकी रहँदा भने सन्तोषीले प्रतिस्पर्धी पछाईलाई पछि पारिन्। ‘मेरो फिनिसिङ टाइमिङ राम्रो छ। त्यसैले पनि जित्छु भन्ने थियो। खुट्टाले साथ नदिए पनि घिस्रेर पनि जित्छु भन्ने थियो,’ उनले भनिन् ।
सेतोपाटी






