नयाँ सरकारको पहिलो काम नागरिकतासम्बन्धी कानुन बनाउने होः निधि

काठमाडौं, २८ कात्तिक ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नयाँ सरकार बनेपछि पहिलो काम नागरिकतासम्बन्धी कानुन बनाउने भएको बताएका छन्। उनले नागरिकतासम्बन्धी विधेयक संसदबाट पास गराई राष्ट्रपतिले अनुमोदन गरेपछि लागु गरिने पनि बताएका छन् । अहिलेको सरकारले नागरिकतासम्बन्धी विधेयक दुई पटकसम्म संसदबाट पास गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन भएको थिएन ।

निधिले सप्तरीमा आज आयोजित कार्यक्रममा बोल्दै मंसिर ४ पछि बन्ने सरकारको पहिलो काम नागरिकतासम्बन्धी कानुन बनाउनु रहेको बताए । उनले सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन पनि आग्रह गरेका थिए। ‘एमालेको अवरोधका कारण नागरिकतासम्बन्धी कानुन बनाउन सकिएन।
अब बन्ने नयाँ सरकारले नागरिकतासम्बन्धी कानुन बनाउँछ,’ निधिले भने, ‘नागरिकतासम्बन्धी कानुन नबन्दा ७ लाख नेपालीले नागरिकता पाएका छैनन्। उनीहरू समस्यामा छन्।’ अब नयाँ सरकार र नयाँ राष्ट्रपति बन्ने पनि निधिले बताएका थिए।
सेतोपाटी





