जनप्रतिनिधिले चासो नदिँदा पालिकामै थन्किए भूमि समस्याका लगत विवरण

पुनम वि.सी.
सुर्खेत, ३१ जेठ
स्थानीय तह निर्वाचन भएकाले गत वैशाख ९ गतेदेखि आयोगले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गरिरहेका सुकुम्बासीहरुको लगत संकलन सम्वन्धी कार्यहरु रोकेको थियो । निर्वाचन सकिए लगत्तै जेठ २३ गतेदेखि लगत संकलन सम्वन्धी कार्यहरु पुनः सुचारु गरिएको छ ।

यसका साथै यस अघि गठन भएका आयोगको तथ्यांकमा समावेश भएका, सेतोपुर्जा पाएका तथा बर्षौदेखि भोगचलन गर्दै आएका जग्गाको रातो पुर्जा वितरण प्रक्रिया समेत आयोगले सुचारु गरेको छ । तर यता सुर्खेतको सन्दर्भमा भने पाँच वटा स्थानीय तहले मात्र लगत विवरण राष्ट्रिय भुमि आयोगको कार्यालयमा पठाएका छन् ।

सुर्खेतको भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा लालपुर्जा वितरणका लागि स्थानीय तहले आयोगसँगको प्रक्रिया अघि बढाएका छन् ।

सुर्खेतका अन्य पालिकाहरुले भने भुमि आयोगसँग लालपुर्जा वितरणका लागि प्रक्रिया अघि नबढाएको आयोगका सुर्खेत समिति अध्यक्ष श्रीधर पौडेलले जानकारी दिए । उनले भने, ‘सुर्खेतका पाँच पालिकाले मात्र लालपुर्जा वितरणका लागि हामीसँग सहकार्य गरिरहनु भएको छ । त्यसका लागि प्रक्रिया पनि अघि बढेको छ । अन्य चार पालिकाले भने आवश्यक प्रक्रिया अघि बढाउनुभएको छैन ।’

प्रक्रियागत आएका स्थानीय तहमा क्रमश लालपुर्जा वितरण गर्दै जाने आयोगको तयारी रहेको पौडेलले बताए । यसअघि सुर्खेतका सबै स्थानीय तहले पालिकाभित्र वसोवास गर्नेहरुको लगत विवरण संकलन गरिसकेका थिए ।

‘भुमि आयोगसँगको सहकार्यमा पालिकाले पालिकाको मुख्य दायित्व भनेकै आफ्नो क्षेत्रमा वसोवास गर्ने नागरिकको लगत संकलननै हुन्छ । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गरिरहेका सुकुम्बासीहरुको लगत संकलनको दायित्व पालिकाको हो । त्यसपछि विभिन्न ऐन, कानुनमा रहेका उक्त विवरणको शुद्विकरण गर्ने लगायतका क्रियाकलाप पालिकाले गर्छ ।

‘आयोगको सुर्खेत समितिका अध्यक्ष पौडेलले भने, ‘वडा तहगतबाटै पालिकाको कार्यपालिकामा लगत विवरण आईपुग्छ । त्यसपछि पालिकाको कार्यपालिका बैठक हुँदै आयोगमा स्थायी पुर्जाका लागि सिफारिस हुने हो । तर सुर्खेतका धेरै पालिकाले हामीलाई सिफारिसनै गर्नु भएको छैन ।’

फोटो क्याप्सनः भुमि आयोगले वितरण गरेको लालपुर्जा देखाउँदै भेरीगंगा नगरपालिका–८ निवासी सगेनी सर्केनी । तस्विर : पुनम वि.सी.

पालिकाको सिफारिसको आधारमा मात्र आयोगले स्थायी लालपुर्जाको प्रक्रिया अघि बढाउँछ । जसकारण सुर्खेतमा पाँच स्थानीय तहमा मात्र भूमि आयोग हाल क्रियाशिल देखिएको हो । स्थानीय तहको निर्वाचन २०७९ मार्फत सुर्खेतका पालिकामा अधिकांश नया जनप्रतिनिधि छन् । उनीहरु आफु यस विषयमा पुर्ण जानकारी नभएको तर्क गर्छन् ।

चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोधबिक्रम जिसीले भने, ‘हाम्रो पालिकाबाट यसअघि आयोगका लागि मागपत्र गएको रहेनछ । हामी भर्खरै मात्र आएका छौँ । यस विषयमा बुझ्दै छौँ । काम अघि बढ्छ ।’

यता सिम्ता गाउँपालिकामा भने लगत विवरणको अध्यावधिक काम चलिरहेको गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्द बताउँछन् । उनले भने, ‘अहिले हामी लगत संकलन भई आएका विवरणको अध्यावधिक गर्ने काम गरिरहेका छाँै । यसपछि आयोगसँगको सहकार्य लगायका कामहरु हुनेछन् ।’

नागरिकलाई लालपुर्जाको वितरण समय एकीनका साथ भन्न नसकिने बताउँदै उनले भने, ‘आयोगले यस क्षेत्रका कत्तिको क्रियाशिलता जनाउँछ, सोका आधारमा यहाँका नागरिकले लालपुर्जा पाउँछन् ।’

भेरीगंगामा पुनः लालपुर्जा वितरणको तयारी
राष्ट्रिय भूमी आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकामा स्थायी जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गर्ने भएको छ । नगरपालिकाका नागरिकले बर्षौदेखि भोकचलन गर्दै आएको तीन सय ९४ कित्ता जग्गाको लालपुर्जा वितरण गर्ने आयोगको तयारी छ ।

भेरीगंगा नगरपालिकाको वडा नं. ६, ७, ८ र ९ मा बसोबास गर्ने झण्डै तीन सय नागरिकलाई लालपुर्जा वितरण गर्ने आयोगको तयारी छ । आयोगको सुर्खेत समितिले गत वर्षको चैत्रमा गुर्भाकोट नगरपालिकामा १२ पुरुष, २० महिला गरी ३२ जना र भेरीगंगा नगरपालिकामा ३३ महिला, ६९ पुरुष गरी एक सय २ जनालाई स्थायी जग्गा धनी पुर्जा वितरण गरेको थियो ।

यी दुई नगरपालिका गरी कुल एक सय ३४ जनाले शुक्रबार जग्गा धनीपुर्जा पाएका छन् । वि.सं. २०२८ सालदेखि यस क्षेत्रका नागरिकहरुले जग्गा कमाई भोग चलन गर्दै आएको र मालपोत कार्यालय सुर्खेतले २०४० सालमा नाप नक्सा गरी राखेको कामलाई विभिन्न कालखण्डमा बनेका आयोग तथा समितिहरुले थाँती राखेका थिए । गत पुष २३ मा गठित राष्ट्रिय भुमि आयोग सुर्खेत समितिले माघ १४ देखि वीरेन्द्रनगरमा कार्यालय स्थापना गरी काम अघि बढाएको थियो ।

भेरीगंगा नगरपालिकामा दुई सय ३० कित्तामा ६१ हजार पाँच सय ९८ दशमलव सात वर्गमिटर र गुर्भाकोट नगरपालिकामा ५२ कित्तामा एक लाख नौँ हजार पाँच सय ५३ वर्गमिटर जग्गाको लालपुर्जा वितरण गरिएको आयोग सुर्खेत जिल्ला समितिका अध्यक्ष श्रीधर पौडेलले जानकारी दिए ।

राष्ट्रिय भूमि आयोग र सुर्खेतका स्थानीय तहविच सहकार्यको अवस्था
क्र.सं. स्थानीय तह आयोगसँगको प्रगति अन्य विवरण
१ वीरेन्द्रनगर नगरपालिका लगत संकलन मात्र
२ भेरीगंगा नगरपालिका जग्गा वितरण भईरहेको १०२ परिवारलाई ५२ कित्ताको लालपुर्जा वितरण, ३९४ कित्ताको लालपुर्जा वितरण अन्तिम चरणमा
३ गुर्भाकोट नगरपालिका जग्गा वितरण भईरहेको ३२ परिवारलाई २३० कित्ताको लालपुर्जा वितरण
४ पञ्चपुरी नगरपालिका आयोगसँग संयुक्त काम भईरहेको
५ लेकवेशी नगरपालिका लगत संकलन मात्र
६ चौकुने गाउँपालिका आयोगसँग संयुक्त काम भईरहेको
७ बराहताल गाउँपालिका आयोगसँग संयुक्त काम भईरहेको
८ चिङ्गाड गाउँपालिका लगत संकलन मात्र
९ सिम्ता गाउँपालिका लगत संकलन मात्र

जनप्रतिनिधिले चासो नदिँदा पालिकामै थन्किए भूमि समस्याका लगत विवरण

आज प्रदेश एकमा भारी वर्षाको सम्भावना

एकैपटक प्रतितोला १८ सय रूपैयाँ घट्यो सुन

Leave a comment

Your email address will not be published. Required fields are marked *