जब भाषण गर्न गएका गाउँपालिका अध्यक्षले झोलाबाट निकाले स्टेथेस्कोप

दाङ, २६ मंसिर ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट केही दिनअघि वडा नम्बर ९ को देवीकोट पुगेका थिए। उनी वडा कार्यालयले राखेको एउटा कार्यक्रममा सम्बोधन गर्न गएका थिए र मञ्चमा आसीन थिए। उनी प्रमुख अतिथि थिए।

तल चौरमा उनलाई कुरेर गाउँका दुई महिला उभिएका थिए। यी महिला आफ्नो गाउँघरका समस्या सुनाउन नभई आफ्नो रोगबारे भन्न पो अध्यक्षको प्रतीक्षामा रहेछन्। दुईमध्ये एक थिइन् ५२ वर्षीया दिलसरा बुढा।

उनले गाउँपालिका अध्यक्ष विष्टलाई छेउमा बोलाइन् र भनिन् ’जचाउँन आएकी थिएँ।’  अर्की थिइन् २९ वर्षीया फूलमती चौधरी। दिलसरापछि फूलमतीले भनिन्, ’मलाई पनि जाँच्दिनू।’ अध्यक्ष विष्ट केही बोल्न नपाउँदै दुवै जनाले समस्या सुनाउन थालिहाले। विष्टले पनि नाइँ भन्न सकेनन्।

कार्यक्रम चल्दै थियो। अध्यक्ष विष्टको भाषणको पालो आएको थिएन। त्यही मौकामा उनले झोलाबाट स्टेथेस्कोप, थर्ममिटर र रक्तचाप जाँच गर्ने उपकरण निकाले। उनीहरूको रक्तचाप र तापक्रम नापे। यसपछि स्टेथेस्कोप लगाएर शरीर जाँच गरे। मुख आँ गर्न लगाएर जिब्रो नियाले। आँखा पनि नियालेर हेरे।

दिलसरालाई कमजोरी महसुस हुने समस्या भएको रहेछ। उनको रक्तचाप सामान्यभन्दा केही कम देखियो। फूलमतीको भने हाडजोर्नीको समस्या रहेछ। अध्यक्ष विष्टले जाँच सकेपछि दबाई खान सुझाए। दिलसरा र फूलमतीको अनुहारमा थोरै मुस्कान र ढुक्कको भाव झल्कियो।

अरू केहीले पनि मौका छोपिहाले। अध्यक्ष विष्टले सबैलाई पालैपालो हेरे। आफूसँग भएका उपकरणले परीक्षण गरे। प्रत्येकलाई उनको रोग के हो, कस्तो उपचार हुन्छ, कति दिन र कति पैसा लाग्न सक्छ इत्यादि कुरा बताइदिए। राप्ती गाउँपालिका अध्यक्ष विष्ट टाढाका गाउँतिर जाँदा एउटा झोला बोकेर हिँड्छन्।

झोलामा स्टेथेस्कोप, थर्ममिटर, रक्तचाप नाप्ने उपकरणसहित साधारण किसिमका केही औषधि पनि राखेका हुन्छन्। सञ्चो छैन, बिरामी छु भन्नेलाई जाँच गर्छन् र आवश्यक सल्लाह दिन्छन्। सम्भव भएसम्म साधारण औषधि आफैं दिन्छन्। कुन ठाउँको कुन अस्पताल गएर कोसँग जचाउने भन्ने सल्लाह पनि दिन्छन्।

’म सकभर सर्वसाधारणलाई घोराही, नेपालगञ्ज वा बुटवल जहाँ भए पनि सरकारी अस्पतालमै जान सिफारिस गर्ने गर्छु,’ उनले भने। गाउँलेहरू पनि अध्यक्ष विष्टसँग जँचाएर सल्लाह लिन पाउँदा खुसी हुन्छन्। केही ढुक्क अनुभव गर्छन्। विष्ट यसरी बिरामी जाँच्दै हिँड्नुको खास कारण छ।

गाउँपालिका अध्यक्ष निर्वाचित हुनुअघि उनी स्वास्थ्य सेवामा अहेब (असिस्टेन्ट हेल्थ वर्कर) का रूपमा सरकारी जागिरे थिए। उनले यसरी २० वर्ष बिताए। त्यस बेला उनले आफ्नो एउटा क्लिनिक पनि चलाएका थिए। ’मैले क्लिनिक चलाएको थिएँ तर पैसा कमाउन होइन, जानेसम्म बिरामीलाई सेवा दिन। म स्वास्थ्य शिविर लिएर धेरै पटक धेरै गाउँहरूमा पुगेको छु,’ उनले भने।

स्वास्थ्य सेवामा लागेका कारण आफूले दुर्गम गाउँमा धेरै मानिसहरू चिनेको विष्टले बताए। उनले गर्वसाथ भने, ’हाम्रो गाउँपालिकाका दुर्गम भेगका माटोढुंगाले पनि मलाई चिन्छन्।’ विष्टलाई सर्वसाधारण मानिसले गाउँपालिका अध्यक्षभन्दा बढी ’डाक्टर’ का रूपमा चिन्छन्।

’म गाउँतिर जाँदा अध्यक्षसँगै स्वास्थ्यकर्मी पनि भएर जान्छु,’ उनी भन्छन्, ’मलाई देख्नासाथ सर्वसाधारणले डाक्टारसाब आउनुभयो भन्छन्, मलाई खुसी लाग्छ।’ गाउँका बासिन्दाका कुराले विष्ट कहिले कहिलेकाहीँ भावुक हुन्छन्। भन्छन्, ’म फुर्सद भएसम्म सबै कुरा सुन्छु। उहाँहरूको आत्मविश्वास जगाउने प्रयास गर्छु। कसैले आफ्नो कुरा भन्न चाहन्छ भने मैले सुन्नै पर्छ भन्ने सोच्छु।’

विष्टले दिने स्वास्थ्य सेवा निःशुल्क हुन्छ। उनको उद्देश्य पैसा होइन, सेवा हो। उनीप्रतिको भरोसाले उनलाई यस्तो सेवाका लागि प्रेरित गर्छ। ’म कसैसँग पैसा लिन्नँ। यहीँका नागरिकले मलाई गाउँपालिकामा निर्वाचित गरेका हुन्। उनीहरूको सेवा मेरो दायित्व हो।’

उनका अनुसार ग्रामीण भेगका अधिकांश व्यक्तिमा दम, उच्च रक्तचाप, हाडजोर्नी लगायतको समस्या छ। दूरदराजका बासिन्दाले अझै पनि आधारभूत स्वास्थ्य सेवासमेत पाउन नसकेको उनको भनाइ छ। आफूले गाउँपालिकाको नेतृत्व लिएपछि स्वास्थ्य सेवा विस्तार गरेको उनले बताए।

स्वास्थ्य इकाइ स्थापना गरिएको छ। सिसहनीया र भालुवाङका स्वास्थ्य चौकीमा अस्पतालसरह सुविधा थप गरिएको छ। स्वास्थ्य सेवा सबैको पहुँचमा पु¥याउन योजनाअनुसार काम भइरहेको उनले जानकारी दिए। पैसा नभएर ठूला अस्पताल जान नसक्ने बिरामीका लागि सिसहनिया र भालुवाङमा चौबीसै घन्टा सेवा दिने गरी स्वास्थ्य चौकी स्थापना गरेको उनले बताए।

वडा नम्बर ५ को करंगेमा र वडा नम्बर २ को बाउन्नेपाटामा नयाँ स्वास्थ्य इकाइ निर्माणाधीन छन्। हाल ती क्षेत्रका बासिन्दा दुई–तीन घन्टा पैदल हिँडेर स्वास्थ्य चौकी जानुपर्ने बाध्यता छ। दाङको देउखुरी उपत्यकामा एउटा पनि भरपर्दो अस्पताल छैन।

’यस क्षेत्रका जनताले उपचारका लागि भोग्नु परेको समस्या समाधान गर्नुपर्छ भन्ने ठानेको छु,’ अध्यक्ष विष्टले भने, ’मेरो कार्यकालमा राप्ती गाउँपालिकामा विशषेज्ञसहितको स्वास्थ्य सेवा सुरू गर्ने गरी काम गर्नेछु।’ राप्ती गाउँपालिकामा भालुवाङ र सिसहनिया गरी दुइटा स्वास्थ्य चौकी छन्।

आफू अध्यक्ष भएर आएपछि यी दुवैमा मेडिकल अफिसरसहित चौबीसै घन्टा स्वास्थ्य सेवा सुरू गरेको विष्टले बताए। उनले आगामी एक महिनाभित्रै शल्यक्रिया गरेर सुत्केरी गराउने सेवा पनि सुरू हुने जानकारी दिए। यो सेवा सुरू भएसँगै शल्यक्रियाबाट सुत्केरी हुन घोराही, नेपालगञ्ज, बुटवल जानुपर्ने बाध्यता अन्त्य हुने उनको विश्वास छ।

अध्यक्ष विष्ट जनप्रतिनिधिका रूपमा कार्यालय समयभरि गाउँपालिकाको काममा व्यस्त रहन्छन्। बिहान र साँझको फुर्सद सर्वसाधारणको स्वास्थ्य सेवामा बिताउँछन्।

सेताेपाटी 

जब भाषण गर्न गएका गाउँपालिका अध्यक्षले झोलाबाट निकाले स्टेथेस्कोप

धारिलो हतियार प्रहारबाट धनुषामा महिलाको हत्या

जब भाषण गर्न गएका गाउँपालिका अध्यक्षले झोलाबाट निकाले स्टेथेस्कोप

सिटी बसपार्क डीपीआरमै सीमित

Leave a comment

Your email address will not be published. Required fields are marked *