नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : कर्णालीले २९ खेलमा भाग लिने

पुनम वि.सी.
सुर्खेत, २६ भदौ
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा सहभागिता जनाउने भएको छ । गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले खेलाडी छनौट प्रक्रिया पूरा गरेको हो ।
‘कुल ३६ खेलमध्ये हामीले २९ खेलमा सहभागिता जनाउँदै छौ ।’ परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले भने, ‘अहिले सबै जिल्लाहरुबाट छनौट भएका खेलाडी विवरण आईरहेको छ ।’ आईतबारसम्ममा खेलाडीसहितको अन्तिम नामावली राष्ट्रिय खेलकुद विकास परिषद्मा पठाउने तयारी रहेको उनले बताए ।
राष्ट्रिय प्रतियोगितामा छनौटका यसअघि जिल्लाहरुमा छनौट चरणको खेलहरू आयोजना गरिएका थिए । सोपछि प्रदेशस्तरीय खेलाडी छनौट गरिएको हो । गत भदौ १८ गतेदेखि खेलकुद विकास परिषदले प्रदेशस्तरीय टिम छनोट गर्न थालेको थियो । आईतबारदेखि छनौट भएका खेलाडीहरु बन्द प्रशिक्षणमा रहने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।
कर्णालीले एथ्लेटिक्स, कराँते, तेक्वाण्दो, बक्सिङ, उसु, भारोत्तोलन, फुटबल, भलिबल, चेस, रग्बी, बास्केटबल, कुस्ति, कबड्डी, ह्याण्डबल, ब्याडमिण्टन, पौडी, क्रिकेट, सुटिङलगायत खेलमा सहभागिता जनाउने सदस्य सचिव सञ्ज्यालले जानकारी दिए ।
यसअघिको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले २४ पदक भित्राएको थियो । लुम्विनी प्रदेशमा आयोजित उक्त खेलहरुमा कर्णालीले तीन स्वर्ण, चार रजत र १७ काँस्य पदक जितेको थियो ।
उक्त खेलकुद प्रतियोगितामा ११ समूहले भाग लिएका थिए । त्रिभुवन आर्मी क्लवले १ सय ४० स्वर्ण, ८२ रजत र ६७ काँस्यसहित कूल २ सय ८९ पदक जितेको थियो । यस्तै नेपाल पुलिस ६२ स्वर्णसहित दोस्रो र एपीएफ ५४ स्वर्णका साथ तेस्रो भएको थियो ।
पुलिसले ४९ रजत र ४६ काँस्य पनि जित्यो । यस्तै एपीएफले ६९ रजत र ८० काँस्य पदक जित्यो । पहिलो पटक सहभागिता जनाएको एनआरएनएले ६ स्वर्ण २ रजत र ५ कास्यसहित कूल १३ स्वर्ण जित्यो । कुल २४ पदक सहित कर्णाली अन्तिममा रहेको थियो ।
पदक जित्ने खेलाडीलाई पुरस्कार
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीका लागि पदक भित्राउने खेलडीलाई प्रदेश सरकारले नगदसहित सम्मान गर्ने जनाएको छ । कर्णाली प्रदेश सरकारले स्वर्ण पदक विजेतालाई दुई लाख रुपैयाँ, रजत पदक विजेतालाई एक लाख ५० हजार र काँस्य पदक विजेतालाई एक लाख रुपैयाँ खेलाडी प्रोत्साहन पुरुस्कार दिने निर्णय गरेको हो ।
आगामी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारीमा रहेको कर्णाली प्रदेशले नवौको आयोजक गण्डकी प्रदेशबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजकका रुपमा झण्डासमेत लिनेछ ।
तयारी खर्च ५० लाख
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी खर्च स्वरुप कर्णाली प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजकसमेत रहेको कर्णालीले प्रदेश रंगशालामा खेल आयोजना गर्न निर्माण कार्यलाई तीव्रता दिने २०७९/०८० को बजेटमा उल्लेख छ ।
रुकुम चौरजहारी क्रिकेट रंगशाला, चिसापानी रंगशाला, बीपी स्मृति रंगशाला, चन्दननाथ रंगशालालगायतका रंगशाला र खेल मैदान निर्माणका लागि रकम विनियोजन गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्न सफल प्रदेशका खेलाडीलाई प्रोत्साहन गर्न खेलकुद प्रतिभा पुरस्कारका लागि कोष स्थापना गरिने भएको छ ।
त्यस्तै, खेलकुद, योग, व्यायाम, ध्यानलगायतका कार्यक्रमलाई समुदाय र विद्यालय तहसम्म विस्तार गर्ने बुँदा कर्णालीको युवा तथा खेलकुद बुँदामा रहेका छन् । प्रदेशले युवालाई खेलकुदमा प्रेरित गर्ने कार्यक्रमको व्यवस्था गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्न सफल प्रदेशका खेलाडीलाई प्रोत्साहन गर्न खेलकुद प्रतिभा पुरस्कारका लागि कोष स्थापना गरिने भएको छ ।
गत वर्ष प्रस्तुत बजेटमा कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारीका लागि भन्दै नयाँ शीर्षकमा रकम छुट्याएको थियो । यसका लागि खेल प्रशिक्षणमा संघीय सरकारसँगको सहकार्यमा प्रदेश राजधानी वीरेन्द्रनगरको प्रादेशिक रंगशाला निर्माण कार्य प्रारम्भ गरिने बजेटमा उल्लेख थियो ।
चौरजहारीमा क्षेत्रीय रंगशाला र प्रत्येक जिल्लामा खेल पूर्वाधार एवं कभर्ड हल निर्माण पहिले पनि समेटिएका थिए । युवालाई खेल गतिविधिमा आकर्षित गर्ने बुँदा पहिले पनि थिए । तर सुरुमा बजेटमा समावेश भएका हिमाली रंगशाला र तालिम केन्द्रजस्ता योजनाले निरन्तरता पाएनन् ।





