विश्वकप लिग–२ नामिबियासँग भिड्दै नेपाल

काठमाडौं ,२७असार ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपालले नामिबियासँग खेल्दैछ । आइतबारदेखि स्कटल्याण्डमा सुरू भएको सिरिजको दोस्रो खेलमा नेपालले पहिलो खेल नामिबियासँग खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे काम्बसडनमा सुरू हुनेछ ।

लिग टु मा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर छ । नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ। १५ खेल खेलेको नामिबिया १४ अंकसहित छैठौं स्थानमा छ । नेपाल नामिबियालाई हराउँदै सिरिजमा सुखद् सुरुआत गर्ने दाउमा छ । तर, नामिबियालाई हराउन नेपाललाई सहज भने हुने छैन ।

नामिबिया पछिल्लो समय लयमा छ। गत वर्षको टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको नामिबियाले यो वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा पनि प्रतिस्पर्धा गर्दैछ । नामिबियाले अहिलेसम्म १५ खेल खेल्दा ७ खेलमा जित र ८ खेलमा पराजय बेहोरेको छ। यस्तै नेपालले पनि खेलेका १६ मध्ये समान ७ खेलमा जित निकाल्दा ८ खेलमा हार बेहोरेको छ, १ खेल बराबरीमा सकिएको छ ।

लिग–२ को सिरिजका लागि पहिलो पटक स्कटल्यान्ड पुगेको नेपालका लागि सिरिज सहज छैन। स्कटल्यान्डलाई घरेलु मैदानको फाइदा हुन्छ नै। एसोसिएट क्रिकेटमा स्कटल्यान्ड बलियो टिममा पर्छ । राम्रो एक्सपोजर र राम्रो घरेलु क्रिकेट वातावरण भएका कारण स्कटल्यान्डले एसोसिएट क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएको छ ।

लिग–२ मा स्कटल्यान्ड सबैभन्दा कम खेलमा पराजित हुने टिम हो। अंक तालिकामा दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २१ खेलमा १४ खेलमा जित निकालेको छ । दुई खेल वर्षाका कारण अवरूद्ध हुँदा स्कटल्यान्ड ५ खेलमा मात्र पराजित भएको छ । आइतबार सिरिजको पहिलो खेलमा नामिबियालाई ७७ रनले हराउँदै घरेलु टोलीले उत्कृष्ट लय कायमै राखेको छ ।

सिरिजका लागि नेपाली टिम क्यानडामा तयारी गरेर स्कटल्यान्ड पुगेको हो । क्यानडामा नेपालले स्थानीय टिम ओन्टारियोसँग २ वटा टी–२० खेल खेलेको थियो। दुवै खेलमा नेपाल विजयी भएको थियो । एकदिवसीय सिरिजअघि टी–२० खेल, त्यो पनि स्थानीय टिमसँग खेलेपछि नेपाल क्रिकेट संघ (क्यान) व्यवस्थापनको आलोचना भइरहेको छ ।

क्यानडासँग दुई खेलको एकदिवसीय खेल खेल्ने तय भए पनि पहिलो खेल वर्षाका कारण हुन सकेन। दोस्रो खेलमा नेपाल पराजित भयो । एकदिवसीय मान्यताका लागि च्यालेन्ज लिग खेलिरहेको क्यानडाले पहिले ब्याटिङ गर्दै १८८ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको नेपाल १०५ रनमै अलआउट भयो। नेपालका लागि देव खनालले सबैभन्दा बढी २६ रन जोडेका थिए ।

लिग–२ को सिरिजअघि लामो यात्रा तय गरेर क्यानडा जानु नेपालका लागि उपयुक्त नभएको भन्दै कतिपय समर्थकले असन्तुष्ट व्यक्त गरिरहेका छन् । क्यानडा पुगेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले सामाजिक सञ्जालमा गरेको एक पोस्टले केही आशंका जन्माएका थिए ।

उनले ‘आफूलाई समर्थन नभए पनि एक्लै युद्ध लाड्ने’ संकेत गर्दै लेखेका थिए। तर उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको धारणा कुन परिस्थितिप्रति लक्षित छ स्पष्ट भने छैन । ७ देश सम्मिलित लिग–२ मा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ । ओमानले लिग–२ अन्तर्गतका सबै खेल खेलिसकेको छ ।

२१ खेलबाट ३० अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छन् । नेपाल भन्दा तल छैठौं स्थानमा १४ खेलबाट १४ अंक जोडेको नामिबिया र २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छन् ।

नेपालका लागि स्कटल्यान्ड र नामिबियाविरूद्धको सिरिज अंक तालिकामा अघि बढ्ने अवसर पनि हुन सक्नेछ। आफ्ना चारै खेल जितेमा नेपालले चौथो स्थानको अमेरिकालाई भेट्नसक्छ । तर पराजित भएमा नेपाललाई नामिबियाले पछि पार्नेछ । यो सँगै नेपाल अंक तालिकामा छैठौं स्थान पुग्ने खतरा हुन सक्छ ।

लिग–२ विश्वकप छनोट मात्र नभएर एकदिवसीय टिमको अस्थायी मान्यता निर्धारण गर्ने प्रतियोगिता पनि हो । जारी लिग–२ सकिदा शीर्ष पाँच टिम भित्र पर्न सक्ने टिमले अर्को विश्वकप छनोटसम्मका लागि एकदिवसीय मान्यता पाउनेछन् । लिग–२ को सातमध्ये पुछारका दुई टिमको भने एकदिवसीय मान्यता धरापमा पर्नसक्छ ।

यद्यपि लिग–२ को पुछारका दुई टिमलाई आफ्नो एकदिवसीय मान्यता जोगाइराख्न एक अवसर बाँकी नै रहन्छ । लिग–२ मा पुछारका दुई टिम र आइसिसीको तेस्रो श्रेणीको लिग (आइसिसी विश्वकप च्यालेन्ज लिग) बाट आउने शीर्ष दुई टिमबीच एकदिवसीय मान्यताका लागि प्लेअफ हुनेछ ।

आइसिसीका अनुसार लिग–२ र च्यालेन्ज लिग गरी कुल चार टिमले एकदिवसीय मान्यताका लागि प्रतिस्पर्धा गर्नेछन् । जसमा शीर्ष दुई टिमले एकदिवसीय मान्यता पाउनेछन् भने पुछारका दुई टिमले च्यालेन्ज लिग खेल्नुपर्नेछ ।

नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन शरार्फ र विनोद भण्डारी ।

स्रोत :  सेतोपाटी

विश्वकप लिग–२ नामिबियासँग भिड्दै नेपाल

जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता

Leave a comment

Your email address will not be published. Required fields are marked *