जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता

हुम्ला , २७ असार ।
पक्की पुल नहुँदा स्थानीयबासीले अस्थायी रुपमा यातायात सुचारु गर्न निर्माण गरिएको काठेपुलमाथि पानी बग्न थालेपछि हुम्लाको सिमकोट हिल्सा सडकको हेक्पा खोला तर्न समस्या हुन थालेको छ । पानीको बहाबले कर्णाली करिडोर अन्तर्गतको सिमकोट हिल्सा सडकको हेक्पा खोलामा निर्माण गरिएको काठेपुलमाथि पानी बग्न थालेपछि समस्या भएको हो ।
जोखिम मोलेरै पुलमाथि बगेको पानीमै यातायातका साधन सञ्चालन हुँदै आएको नाम्खा गाउँपालिका–१ को गाडापारीका स्थानीयबासी मीमबहादुर लामाले बताए । दुई वर्ष अघिदेखि हेम्पा खोलामा यातायातका साधनहरु सञ्चालनमा लागि अस्थायी काठेपुल निर्माण गरिएको थियो ।

खोलाको बगर क्षेत्रमा काठेपुल लगाएको तर बगरमा तटबन्धन नगरिएको कारण यो समस्या उत्पन्न भएको छ। खोलाको पानी पुलमाथि बगेपछि हाल यातायातका साधन सञ्चालन भइरहेका छन् ।
पुल बगाएमा उत्तरी हुम्ला हिल्सा र लिमी लाप्चा जाने यातायातका साधन बन्द हुनेछन् । हाल दैनिक १५ भन्दा बढी यातायातका साधन सञ्चालन हुँदै आएका छन्। सो ठाउँमा तत्काल पक्की पुल छिटो निर्माण गरी जोखिम रुपमा यात्रा गर्ने कार्य बन्द गर्नुपर्ने सर्वसाधारणको भनाइ छ । ज्यान जोखिम पारेर यात्रा गर्नुपरेको भन्दै यात्रुहरूले जसरी नि जानुको विकल्प नभएको बताएका छन् ।
स्रोत : थाहाखबर






