केहि महिनापछि संसारमा हुनेछन् आठ अर्ब मान्छे

काठमाडौ,२७ असार ।
आज विश्व जनसंख्या दिवस । नेपालमा पनि जनसंख्या दिवसको अवसरमा आज विभिन्न कार्यक्रमहरू भएका छन् । संयुक्त राष्ट्रसंघले जुलाई ११ लाई विश्व जनसंख्या दिवसका रूपमा मनाउन थालेको सन् १९९० जुलाईदेखि हो। पहिलो पटक संसारका ९० मुलुकले जनसंख्या दिवस मनाएका थिए ।
पहिलो पटक जनसंख्या दिवस मनाउँदा संसारमा मानिसहरूको संख्या पाँच अर्बभन्दा अलिकति बढी थियो । बितेका २२ वर्षमा संसारमा मान्छेको संख्या यति धेरै बढेको छ कि अबको केही महिनामै संसारभरि ८ अर्ब मानिस हुनेछन् । सन् २०११ मा संसारमा मान्छेको संख्या ७ अर्ब पुगेको थियो ।

संयुक्त राष्ट्रसंघको जनसंख्या कोष (युएनएफपिए) का अनुसार अहिले संसारभरि ७ अर्ब ९५ करोड ४० लाख मानिस छन्। सन् २०२२ मै मानिसहरूको संख्या ८ अर्ब पुग्ने भएकाले यसपालिको जनसंख्या दिवसको नारामै यो कुरा समेटिएको छ । सन् २०२० देखि २०२५ सम्म विश्वको जनसंख्याको वृद्धिदर १ प्रतिशत हुनेछ ।
अहिलेको जनसंख्याअनुसार सबैभन्दा धेरै मानिस १५ देखि ६४ वर्षका छन्। उनीहरूको संख्या कुल जनसंख्याको ६५ प्रतिशत छ। त्यस्तै जन्मेदेखि १४ वर्षसम्मका मान्छेको संख्या २५ र १० देखि २४ वर्षका मानिसको संख्या २४ प्रतिशत छ । ६५ वर्षभन्दा माथिका मानिसहरू १० प्रतिशत छन्।
युएनएफपिएका अनुसार संसारभरि अहिले एक जना महिलाले औसतमा २.४ जना बच्चा जन्माउँछन् । पुरूषको औसत आयु ७१ र महिलाको ७६ वर्ष छ । अहिले सबैभन्दा धेरै जनसंख्या चीनमा छ। चीनमा १ अर्ब ४४ करोड मानिस छन् भने भारत दोस्रो नम्बरमा छ । भारतको जनसंख्या १ अर्ब ४० करोड छ । अबका केही वर्षमा भारतको जनसंख्याले चीनलाई उछिन्ने अनुमान छ ।
तेस्रो स्थानमा रहेको अमेरिकाको जनसंख्या ३३ करोड ४० लाख छ । नेपालमा गत वर्ष राष्ट्रिय जनगणना गरिएको थियो। उक्त जनगणनाको अन्तिम नतिजा प्रकाशित भएको छैन । प्रारम्भिक परिणाममा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ। तीमध्ये पुरूष १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छन् भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ छ ।
स्रोत : सेतोपाटी






