फेरि ब्याटिङमै समस्या

काठमाडौं २८ जेठ ।
अमेरिकामा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपाल शुक्रबार ओमानसँग १३ रनले पराजित भयो। बलिङ शानदार रहे पनि ब्याटिङको पुरानै समस्या दोहोरिँदा नेपालले २ सय १२ रनको मध्यम लक्ष्य भेट्टाउन सकेन ।
‘साँच्चै भन्ने हो भने यो लक्ष्य पूरा गर्न नसक्नु ब्याटिङमा असफलता हो। हामीलाई जुन समय साझेदारी चाहिएको थियो ठ्याक्कै उल्टो भयो,’ हारपछि नेपालका कप्तान सन्दीप लामिछानेले भने, ‘जहाँ हामीले साझेदारी गरेका थियौं।
त्यहाँ विकेट गुमायौं। नयाँ ब्याटरले समय लिनु र साझेदारी गर्दा रनरेट पनि बढ्यो । मलाई आशा छ, यहाँबाट सिक्ने छौं ।कप्तान सन्दीपले भनेजस्तै ओमानविरुद्ध नेपालको ब्याटिङ बिर्सनलायक रह्यो ।
नेपाललाई जितका लागि अन्तिम ६ बलमा १४ रन चाहिएको थियो। पहिलो बल बिलाल खानले आरिफलाई डट राखे। दोस्रो फुलटस योर्करमा डट राखेपछि नेपालको आशा कमजोर बनेको थियो।
तेस्रो बल डट र चौथो बलमा एलबीडब्लू आउट भए। तीव्र गतिका बलर बिलाल खानले तेस्रो ओभरको दोस्रो बलमा ओपनर सुवास खकुरेललाई तीन रनमा बोल्ड गरे । दुई वर्षपछि टोलीमा फर्किएका सुवासले राम्रो खेल्न सकेनन् ।
पाँच वर्षपछि सिनियर टोलीमा फर्किंदै ओडीआईमा डेब्यु खेल खेलेका सुनील धमला १२ रन बनाउँदै आउट भए। प्रमुख ब्याटर रोहित पौडेल खबर अलीबाट २० रनमा क्याच भएपछि नेपाल दबाबमा परेको थियो। युवा ब्याटर देव खनाललाई खबर अलीले ३४ रनमा बोल्ड आउट गरे ।
नेपालका प्रमुख हतियार दीपेन्द्रसिंह ऐरी अयान खानको बलमा जिसानबाट १६ रनमा क्याच भएपछि नेपालको जित टाढिएको थियो। छैटौं विकेटका लागि विनोद र आरिफले ३७ रनको साझेदारी गरे ।
विनोद भण्डारी ४६ बलमा १४ रन बनाउँदै एलबीडब्लू आउट भए । करण केसी ८ र सोमपाल कामी १३ रनमा आउट भए। आरिफ शेखले ६६ सर्वाधिक रनको योगदान दिए। परिणामतः नेपाल ४९.४ ओभरमा १ सय ९८ रनमा अल आउट हुन पुग्यो। ओमानका जिसन मक्सुद र खवर अलीले ३÷३ विकेट लिए । बिलाल खानको नाममा दुई विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा आठ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो। ओमानका लागि जिसन मक्सुदले अविजित रहँदै १ सय ४ रनको शतकीय इनिङ खेले ।
खवर अलीले ३० रन जोड्दा सोयब खानले २७ रन बनाए। सुरज कुमार १२ रनमा आउट भए । नेपालका करण केसीले ३८ रन खर्चिएर ५ विकेट लिए। कप्तान सन्दीपले दुई तथा सोमपालले एक विकेट लिए ।
हारसँगै नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा छ । ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा छ। शीर्ष तीमा रहँदै सोझै एकदिवसीय विश्वकप छनोट सोझै खेल्ने अवसर रहेको नेपाललाई यो हारले धक्का पु¥याएको छ। नेपालले दोस्रो खेलमा अमेरिकाविरुद्ध शनिबार खेल्दैछ। नेपाली टिमलाई थाहा छ, यो खेल जसरी पनि जित्नुपर्छ ।
कप्तान सन्दीपले ओमानसँगको हारपछि भनेका थिए, ‘हाम्रो सपना एकदिवसीय विश्वकप खेल्ने नै हो। हामीसँग विश्वकप छनोट खेल्ने टोली छ। सबै जनाले ओडीआई मान्यता बचाउ बचाउ भन्नु भएको छ ।
मेरो उद्देश्य भने त्योभन्दा माथि विश्वकप खेल्नेछ। म कप्तानको रूपमा भन्छु टिममा अत्यधिक क्षमता छ । हामी हाम्रो क्षमताको आधा मात्रै खेल्छौं भने धेरै कुराहरू परिवर्तन हुन्छ।’ नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका छ ।
स्रोत ः अन्नपुर्ण






