कर्णालीका इञ्जिनियर दलवीरको दर्दनाक कथा

सुनिल उलक


सुर्खेत,२४ मंसिर ।

नवराजाको सुर्खेत बसाइ हुने भएपछि गुल्मका बाहिनीपति आदित्यशम्शेर चिन्तित थिए । बाहिनीपति आदित्यशम्शेरले दलवीरलाई स्वागतद्वारको सजावट, स्वागत मञ्चको सजावत तथा राजालाई चढाउने उपहारको जिम्मा पनि दलवीरलाई दिए । दलवीरले पनि सजावटको सम्पूर्ण काममा सहयोग गरे ।

साथै राजालाई दिइने उपहार दलवीर आफैले तीन महिना लगाएर बनाइदिए । राजाको फिर्ती सवारी पछि बाहिनीपति आदित्य शम्शेरले दलवीरलाई बख्सीस दिए भने साथमा भर्खरै हुर्कदै गरेका छोरा श्यामलाल सुनारलाई सेनामा भर्ना गराइदिए । छोरो सेनामा भर्ति भए पछि दलवीर अत्यधिक खुशी भए ।

यसरी अत्यधिक खुशियालीको क्षण लामो रहन पाएन । जागिरकै काममा २०३० सालको बैशाखमा सुर्खेतदेखि पूर्वमा पर्ने बादेपिपलमा भेरी नदीमाथि झोलुङ्गे पुल बनाउन निस्केका दलवीर बिसं २०३० बैशाख १९ गते राती सुतेका थिए। बिहानै साथीहरुले हेर्दा ओछ्यानमा दलवीर थिएन ।

अचानक बिहानै हराएका दलवीरको खोजी भयो । खोज्दै जाने क्रममा बादेपिपलको नजिकै रहेको वागेश्वरी विद्यालय अगाडिको चौतारोमा झुण्डिएको अवस्थामा मृत शव भेटियो । निकै हल्लाखल्ला भयो । धेरैले आत्महत्या हुनै नसक्ने यो कसैले गरेको हत्या हो भने । पर्याप्त प्रमाणहरुको अभावका कारण छानविन भएन ।

भर्खरै सेनामा जागिर खाएका श्यामलाल छुट्टी लिएर बुबाको किरिया गर्न आइपुगे । साना साना भाईहरुलाई कसले सम्हाल्ने भन्ने चिन्ता थियो । सधै सरकारी काम भन्दै भागिरहने दलवीरको कुनै राम्रो गृहस्थ थिएन । न त पक्की घर न त पर्याप्त खेत नै थियो ।

दुःखकष्टले दुईछाक टार्दै छोराहरु र श्रीमतीको लालनपालन गरिरहेका दलवीरको परिवारमा अचानक बज्रपात आइपर्यो । कसैले सल्लाह दिए, राजालाई बिन्तीपत्र चढाउने । दलवीरकी श्रीमती मोतीसरा सुनारले लेख्न जान्नेको सहयोगमा राजामा बिन्ती पत्र चढाए ।

छिट्टै नै राजाको आदेश अञ्चलाधिश कार्यालय आइपुग्यो, “दलवीरको परिवारलाई निःशुल्क घडेरी र घर बनाउन खर्च दिनु“। तत्कालिन अञ्चलाधिश ऋतुवर्ण तुम्बाहाम्फेले दलवीरका श्रीमती मोतीसरा सुनारलाई बोलाएर तत्कालिन जिल्ला पञ्चायतका सभापति तुलसीप्रसाद सापकोटालाई राजाको आदेश अनुसारको काम गर्न लगाए ।

सभापति तुलसीप्रसाद सापकोटाले सुर्खेतका सबै अड्डा प्रमुखहरुको अगाडि २०३१ सालको बैशाख १५ गते जिल्ला बैठकपछि घडेरी र घर बनाउने खर्च पाउनु हुनेछ । सरकारको आदेश अञ्चलाधिश सुनाउनु भए पछि तपाइहरुले जसरी नि पाउनु हुन्छ भनिएको थियो । तर त्यो घडेरी र घर बनाउने रकम कहिल्यै पाइएन ।

दुःखमा आँशु बगाउदै मोतीसराले छोराहरु हुर्काइन । सरकारबाट घडेरी र पैसो पाउने आशा बोकेका मोतीसराको पनि २०५९ सालमा मृत्यु भयो । अहिले दलवीरको जेठी श्रीमतीबाट जन्मेको जेठो छोरा र जेठी छोरीको पनि निधन भइसकेको छ । कान्छी श्रीमतीबाट जन्मेका माहिलो र कान्छो छोराको पनि निधन भइसकेको छ । जेठो छोरा कानपुरमा गएको उतै विवाह गरेका र उतै देहान्त पनि भएको हुँदा उताको नाति नातिनीहरुबारे कुनै जानकारी छैन ।

तर सुर्खेतमा बसोबास गर्ने कान्छीतिरको जेठो छोरा श्यामलाल तर्फबाट दुइ नाति र एक नातिनी. माहिलो छोराबाट दुई नातिनी तथा कान्छो छोरा तिर्थराजबाट चार नातिनी र एक नाति रहेको छ । दलवीर सिंह कामीलाई सुर्खेतको हिरोको रुपमा प्रस्तुत गरिदिएको छु।

कतैबाट पनि कुनै सहयोग नपाएका तथा उनको योगदान सबैले बिर्सिए पनि मैले पचास वर्षपछि दलवीर सिंहको जीवनगाथा प्रस्तुत गरेको छु। वहाँको परिवारलाई अब घर घडेरी चाहिएको छैन । तर वहाँलाई मृत्युपरान्त सम्मान गर्न पर्छ वा पर्दैन सुर्खेतवासी वा दैलेखवासीले एक पटक सोचौ र मनन गरौ । सकिन्छ भने एक पटक सम्मानका गरौ ।

बाँकी अंश  अर्काे  अंकमा 

कर्णालीका इञ्जिनियर दलवीरको दर्दनाक कथा

देशभर चिसो बढ्यो, केही दिनदेखि तराईमा हुस्सु

Leave a comment

Your email address will not be published. Required fields are marked *