वाँफीकोट कालिका भगवती मन्दिर र मौलो पूजााको परम्परा 

बिपि रिजाल
रूकुम पश्चिम,२३ असोज ।

जिल्लाको सदरमुकामबाट पाँच कोष टाढा, अपूर्व सौन्दर्यकी खानी, प्राकृतिक छटाले भरिपूर्ण, रमणीय एवं मनमोहक स्यार्पुतालको काखमा अवस्थित वाँफीकोट प्रसिद्ध ऐतिहासिक ठाउँ हो । यसको पूर्वमा पूर्वी रुकुमको सिस्ने गा.पा., पश्चिम, उत्तरमा आठबीसकोट न.पा. र दक्षिणमा मुसीकोट न.पा.र सानोभेरी गा.पा. रहेका छन् ।

आफ्नै खालको विशिष्ट पहिचान भएको वाँफीकोटमा वि.सं. १७९५÷१७९७ तिर र हिडेका बुधु, विनाश पाध्या वाँफीकोट आइपुग्नु अगाडि हाल रूकुम पश्चिम मुसिकोटको बाहुन चौरमाू वस्ति बसालेकाले उक्त ठाउँको नाम हाल सम्म पनि बाहुन चौर रहेको छ । त्यहाँबाट भेरी नदी पश्चिम तरेर पूर्व उत्तर सिस्नेको तोरीद्वारी देखि रिम्नाको सेरेफेरोज समेट्ने गरी वाँफीकोटमा बसेको देखिन्छ ।

उक्त समयमा यहाँ पूर्व काँक्रीबाट आएका रामजा पुन ामगर र ठिनवाङबाट आएका शोभा उपाध्याप (दाहाल)को वस्ति रहेको थियो । सो समय पूर्व यहाँ धेरै अगाडि भोटे बस्ति रहेको अनुमान गरिन्थ्यो । कुनै समयखण्डमा भोटेले यहाँ आफू भाग्नु भन्दा अगाडि सम्पत्ति गाडेर छोडेको पछि निकालेर लिएको भनाई सुन्न पाईन्छ । वाँफीकाँडामा रहेको ब्रह्मा ओढारबाट पसेर माथि लेकमा रहेको कालाचुलाको ओढारबाट भोटेराजा निस्केर भागेको हो रे भन्ने भनाई छ ।

अगाडि कुनै समयमा भएको राज्य रजौटाको लडाइँमा यसो भएको पनि हुन सक्छ । तर हाम्रा पूर्वजहरु दैलेखबाट आउँदा विभिन्न ठाउँबाट विभिन्न जात जातिका मानिसको आगमन भै बसोबास हुन पुग्यो ।

राजा बनाई राज्य सञ्चालन गर्ने मत मिले पछि पहिले पश्चिमका क्षेत्री ठकुरी ल्याउने कुरा भै पश्चिम हिडेका उतिबेलाको राजनैतिक सौदाबाजीका कारण यौटा टोली बाटोबाट फर्की पूर्वतर्फ गएर रूकुमकोटबाट लाटु मल्ल क्षत्रीयलाई ल्याएर पहिले आई कोट टाकुरामा दमाहा बजाएकाले पश्चिमको टोली पनि खगेनकोटबाट तिलु शाही क्षत्रीय राजा ल्याएर आई पुग्दा पछि पण्डित जगतानन्द पाध्याको सल्लाह अनुसार हाम्रा कुलका नायक ब्राह्मण विनाश पाध्याद्वारा वि.सं. १८०५÷१८०७ मा लाटु मल्ललाई राज्याभिषेक गरेको र शाही राजालाई जिपसिङमा राखेर पश्चिमको कर उठाउने जिम्मा दिइएको थियो ।

राज्य स्थापना भए पछि सिस्नेको तोरीद्वारीदेखि र रिम्ना सम्मका बाइस गाउँ समेटेर सानो भेरी पश्चिमको यौटा कोत स्थापना गरियो ।

 पछि बि.सं. १८४२ मा नेपाल एकिकरणको समयमा आएको गोर्खाली÷ सल्यानी फौज वा उसको सहयोगी टुकडीले कोटराज्यमा आक्रमण गर्न खोजेको थाहा पाई वाण हान्न (तारो हान्न ) सिपालु ज्यामिरकोटे राजाका सन्तान हर्कुमल्ल र सानो सैन्य टुकडीलाई ल्याई सानो भेरी नदी किनार डुप्काको जङ्गलमा लुकाई राखी लामीतालको जँङ्गार तरेर कोट राज्यमा आक्रमण गर्न आएको फौजको नाइकेलाई हर्कु मल्लले हानेको वाण लागेर मरेको र फौज पछि हटी पश्चिम देउताखोला बाट प्रवेश गरी वाँफीराज्यको जिपसिङ्ग तालुकमा हमला, आगजनी गरी ठूलो जीउ धनको क्षति गराएको र राजाकी श्रीमती गर्भवती भएकाले तिनलाई मात्र जीवित छोडेको पछि उनको गर्भबाट जन्मेका सन्तति हाल जिपसिङमा बस्ने शाहीहरु भएको भन्ने भनाई रहेको छ ।

जन श्रुतिमा रहेको भनाई बमोजिम प्युठानबाट खटिएर आएको गोर्खाली फौजको सहयोगी फौज नै जिपसिङमा गएर दरबार जलाउने र काटमार गर्ने अनि लामीतालमा मारिएको आफ्नो फौजको नाइकेको बदला लिएको हो ।

मग्मामा रहेको कालाभउँर (कालभैरव)को मन्दिरमा लडाइँ जिते पछि केही चढाउने भाकल गरेर लडेको र पछि नेपालबाट चढाएको घण्टा अझ सम्म रहेको छ । जिपसिङ तालुक हमला गरी जितेर फर्केको तर लडाइँ जित्न बाइस गाउँको कोत वाँकी रहेकाले बाइस गाउँको कोतलाई पछि सम्म वाँकी कोत–बाँकी कोत भन्दै अपभ्रंश भएर वाँफीकोट नाम रहन गएको हो ।

यसै गरी यहाँ स्यार्पुताल नामको ठूलो ताल रहेको र संस्कृत भाषामा वापी भनेको पानी जमेको कुवा वा ताल भन्ने हुन्छ , यही वापी वा पानीको तालको नजिक अग्लो टाकुरा कोट रहेकाले वापीकोट भनिदै जाँदा पछि वाँफीकोट रहन गएको पनि देखिन्छ । आधा शताब्दी भन्दा कम समय यहाँ मल्ल राजाले राज्य गरेका पछि जाजरकोटबाट यो राज्य सञ्चालन भएको अनि पछि जाजरकोटी राजा हरि शाहकै सन्तान यहाँ बसी राजकाजको लागि दरबार बनाई शासन सञ्चालन भएको,कहिले सल्यान गौंडा कायम भएको र धेरै पछि मात्र यो रूकुम जिल्ला स्वतन्त्र अस्तित्वमा आएको हो ।

राज्य स्थापनासँगै कालिका भगवती देवीको मन्दिर स्थापना गरेर पूजा आजा गर्ने गरिएको इतिहास रहेको छ । शुरुमा दरबारको नजिकै स्थापना गरेर पूजापाठ गरिदै आएकी भगवतीको मन्दिर पछि जाजरकोटी राज्यबाट यो ठाँउ शासित भएपछि हालको ठाँउमा स्थापना गरिएको थियो । नित्य पूजापाठ गरिने उक्त मन्दिर तत्कालिन रा.पं.सदस्य ध्रुव विक्रम शाह लगायतका महानुभावद्धारा मर्मत सम्भार गरिंदै आएको थियो ।

पूव सैनिक सचिव विवेक कुमार शाहले कालिक भगवतीको नयाँ मूर्ति र ठूलो घण्टा चढाउनु भएको थियो । विशेष गरेर विजयादशमीको समयमा मेला भरेर पूजापाठ गरिने यस मन्दिरमा नौ दिनसम्म नवदुर्गा भगवतीको उपसना बस्ने परम्परा रहँदै आएको छ । यस कार्यमा विशेष गरेर मल्ल राजाका सन्तानहरुबाट मौलो पूजा गरिनुका साथै उपासक बस्ने चलन रहि आएको छ ।प्राचीन संस्कार र संस्कृतिको जर्गेना गर्न यस कालिका भगवती मन्दिरले निकै महत्वपूर्ण भूमिका निभाउँदै आएको छ । हाल जिर्ण बन्दै गएको मन्दिरको भवन नयाँ निमार्ण गर्न अति आवश्यक रहेको छ ।

वाँफीकोट कालिका भगवती मन्दिर र मौलो पूजााको परम्परा 

उम्मेदवारी दर्ता आज

वाँफीकोट कालिका भगवती मन्दिर र मौलो पूजााको परम्परा 

विद्युत अवरुद्धले निर्वाचनका कामकाजमा समस्या

Leave a comment

Your email address will not be published. Required fields are marked *