हुलाकी राजमार्गको अलपत्र खण्ड विस्तार हुने  वर्षौको प्रतीक्षापछि स्थानीयमा खुशी

बाँके,१ असार  ।

लामो समयदेखि अलपत्र अवस्थामा रहेको हुलाकी राजमार्गअन्तर्गत बाँकेको नारायणपुरदेखि दाङ सीमास्थित खोकरी हासबाससम्मको सडक विस्तार हुने भएको छ । परियोजनाका लागि आवश्यक स्रोत सुनिश्चित भएसँगै निर्माण प्रक्रिया अघि बढ्न थालेको हो । वर्षौँदेखि सडक निर्माणको प्रतीक्षामा रहेका स्थानीय बासिन्दा भने अब सडक खुल्ने र आवागमन सहज हुने आशामा उत्साहित बनेका छन् ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जका अनुसार राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरदेखि राप्तीसोनारी गाउँपालिका–१ खोकरी हासबाससम्मको सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ । कार्यालय प्रमुख लीलाबहादुर भण्डारीका अनुसार दाङ, बाँके र बर्दिया खण्डमा पर्ने ७५ किलोमिटर सडक निर्माणका लागि २९ अर्ब रुपैयाँको स्रोत सुनिश्चित भइसकेको छ ।

परियोजनाअन्तर्गत बाँके खण्डमा करिब ३६ किलोमिटर सडकको ट्र्याक खोल्नुपर्नेछ भने २० वटा पुल निर्माण गरिनेछ । त्यस्तै दाङ खण्डमा २२ किलोमिटर सडक र १७ वटा पुल निर्माण गरिने योजना रहेको छ । कार्यालय प्रमुख भण्डारीले ठेक्का प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै तीन वर्षभित्र दाङ, बाँके र बर्दिया खण्डको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार उक्त सडकले महेन्द्र राजमार्गको वैकल्पिक मार्गका रूपमा काम गर्नेछ भने पूर्व–पश्चिम आवागमनलाई थप सहज बनाउँदै दुर्गम तथा पछाडि पारिएका बस्तीलाई विकासको मूलधारसँग जोड्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

परियोजनाअन्तर्गत करिब १५ किलोमिटर सडक घना वन क्षेत्रभित्र पर्ने भएकाले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । १२ मिटर चौडा सडकमा ९ मिटर चौडाइमा कालोपत्र गरिनेछ । निर्देशनालयका अनुसार असार मसान्तसम्म सूचना प्रकाशन प्रक्रिया पूरा गरी आगामी असोज महिनादेखि निर्माण कार्य सुरु गर्ने तयारी गरिएको छ ।

बर्षौँदेखि सडक अभावका कारण यातायात, शिक्षा, स्वास्थ्य तथा कृषि उपजको ढुवानीमा समस्या भोग्दै आएका स्थानीयवासी स्रोत सुनिश्चित भएसँगै उत्साहित बनेका छन् । सडक निर्माण सम्पन्न भएपछि दुर्गम बस्तीका नागरिकलाई आवागमनमा सहजता हुने, स्थानीय उत्पादनले बजार पाउने तथा क्षेत्रीय विकासले गति लिने विश्वास गरिएको छ ।

त्यसैबीच, परियोजनाका लागि स्रोत सुनिश्चित भएपछि हुलाकी सडक आयोजना, स्थानीयवासी तथा पत्रकारहरूको टोलीले प्रस्तावित सडक खण्डको स्थलगत अनुगमन गरेको छ । कुसुमस्थित झोलुङ्गे पुल हुँदै भम्का र बैजापुरसम्मको प्रस्तावित मार्गको पैदल अवलोकन गरिएको स्थानीय गहेन्द्रकुमार खड्काले जानकारी दिए । स्थानीयवासीले लामो समयदेखि रोकिएको सडक निर्माण प्रक्रिया अघि बढेकामा खुशी व्यक्त गर्दै तोकिएको समयमै काम सम्पन्न गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

हुलाकी राजमार्गको अलपत्र खण्ड विस्तार हुने   वर्षौको प्रतीक्षापछि स्थानीयमा खुशी

कस्तो आउँदैछ कर्णालीको बजेट ? 

हुलाकी राजमार्गको अलपत्र खण्ड विस्तार हुने   वर्षौको प्रतीक्षापछि स्थानीयमा खुशी

सात वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *