सहज पहुँचमा छैन् स्वास्थ्य सेवा : बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता

पुनम वि.सी.
सुर्खेत, २३ साउन ।
साउन दोस्रो साता मुगुको खत्याड गाउँपालिकामा–३ की ४१ वर्षीय जौकला नेपालीले अस्पताल लैजाँदा लैजाँदै बाटोमै बच्चा जन्माइन । सुत्केरी व्यथाले च्याप्न थालेपछि जिल्ला सदरमुकाम गमगढीस्थित जिल्ला अस्पताल लैजाँदै गर्दा जौकलाले बाटोमै बच्चा जन्माउनुपर्यो ।
साउनमै, जाजरकोटको बारेकोट गाउँपालिका–३ की मीना नेपालीले पनि उहि नियति भोग्नपर्यो । लिम्सामा रहेको स्वास्थ्य संस्था लैजाँदै गर्दा ६ घण्टा लामो यात्रा गरेकी उनले अन्ततः बीच बाटोमै सुत्केरी हुनपर्यो ।

फोटो क्याप्सनः सुत्केरी महिलालाई स्टेचर मार्फत स्वास्थ्य चौकी तर्फ ल्याउँदै युवाहरु । (फाइल तस्विर)
हुम्लाको सर्केगाड गाउँपालिकामा की जन्ममाया सुनारपनि बाटोमै सुत्केरी भईन् । दुई दिनसम्म व्याथाले च्यापेपछि उनलाई स्वास्थ्य संस्थातर्फ लगिएको थियो । स्वास्थ्यचौकी नपुग्दै उनले शिशुलाई जन्म दिइन् । कर्णालीका दश जिल्लामा रहेका कुल सात सय १८ वटा वडामध्ये अधिकांश वडाका महिलाहरुले भोग्नुपर्ने हविगत लगभग यस्तै र यहि नै हो । सरकारको स्वास्थ्य नीति अनुसार आधा घण्टा पैदल यात्राको दूरिमा स्वास्थ्य संस्थाको पहुँच स्थापना गर्नेछ, जसमा प्रत्येक वडामा स्वास्थ्य संस्थाको व्यवस्था हुनुपर्ने छ ।
तर कर्णालीका २८ वडामा अझैपनि स्वास्थ्य चौकी सञ्चालनमा आउन सकेका छैनन् । कर्णालीको कुल जनसंख्याको २३ दशमलव ६ प्रतिशत परिवार मात्रै आधा घण्टाभित्र नजिकको स्वास्थ्य संस्था पुग्न सक्ने कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक छ ।
प्रत्येक वडास्थित स्वास्थ्य चौकीमा चार जना जनशक्तिको व्यवस्थापन गरिएको हुन्छ । हेल्थ असिस्टेन्ट, नर्स, कार्यालय सहयोगी र खोप सम्वन्धिका एक–एक जना वडाको स्वास्थ्य चौकीमा जनशक्ति व्यवस्थापन छ । सुर्खेतका तीन वटा वडामा हालसम्मपनि स्वास्थ्य चौकी स्थापना गरिएको छैन । सल्यानमा तीन वटा वडा, रुकुम पश्चिममा दुई वटा वडामा स्वास्थ्य चौकी छैन ।
मुगु र हुम्लामा एक–एक वटा वडामा स्वास्थ्य चौकी हालसम्म पनि स्थापना भएका छैनन् भने डोल्पाको आठ वटा वडामा स्वास्थ्य चौकी छैनन् । वडागत स्वास्थ्य चौकी नभएको जिल्लामध्ये डोल्पा जोखिममै देखिन्छ । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको वडा नं. १, ६ र ९ मा अहिलेसम्म पनि स्वास्थ्यचौकी स्थापना भएका छैनन् ।
यसैगरी डोल्पोबुद्व गाउँपालिकाको वडा नं. १, २, ४ र ५ मा र जिल्लाकै छार्का ताङसोङ गाउँपालिकाको वडा नं.१ मा स्वास्थ्य चौकी स्थापना नभएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।
सञ्चालनमा आएनन् डोल्पाका १० वटा स्वास्थ्य चौकी
डोल्पामा कुल ६५ वडा छन् । जसमध्ये आठ वटा वडामा स्वास्थ्य चौकी स्थापना भएका छैनन् । र, १० वटा वडामा स्थापना भएका स्वास्थ्य चौकी अहिले सञ्चालनमा छैनन् । ‘कर्णालीका अन्य जिल्लाको तुलनामा डोल्पा स्वास्थ्य क्षेत्रका रुपमा जोखिममा देखिन्छ । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका सूचना अधिकारी पदमबहादुर केसीले भने, यहाँका तीन स्थानीय तहहरुमा स्वास्थ्य चौकी स्थापना भएपनि सञ्चालनमा आएका छैनन् ।
जिल्लाको काइके गाउँपालिकाको वडा नं. १, ३, ४, ५ र ७ स्थित स्वास्थ्य चौकी सञ्चालनमा आएका छैनन् । यसैगरी काईके गाउँपालिकाका १, ३, ४, ५ र ७ नं. वडास्थित स्वास्थ्य चौकी तथा छार्का ताङसोङ गाउँपालिकाको २, ५ र ६ नं. वडा स्थित स्वास्थ्य चौकी सञ्चालनमा नआएको केसीले जानकारी दिए । ग्रामिण भेगमा जनशक्ति अभाव, भौगोलिक विकटतालगायतका कारणले यी स्वास्थ्य चौकी सञ्चालनमा नआएको उनी बताउँछन् ।
कर्णाली प्रदेशभरि कुल तीन सय ५९ वटा बर्थिङ सेन्टरहरू छन् । ८७ दशमलव १ प्रतिशत महिला स्वास्थ्य संस्थामै प्रसूति हुने र २६ हजार ४ सय ८१ (६९ दशमलव ६ प्रतिशत) महिला दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी हुने गरेको उनको दावी छ ।
निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले पछिल्लो समय दुर्गम भेगमा बर्थिङ सेन्टरहरू थपिँदै गएकाले महिलाहरूलाई प्रसूति हुन सहज भएको दाबी गरे । कर्णालीमा सबैभन्दा बढी बर्थिङ सेन्टर दैलेखमा ७२ वटा छन् र सबैभन्दा कम बर्थिङ सेन्टर डोल्पामा १४ वटा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
‘वडागत होइन्, भौगोलिक आवश्यकताको आधार हुनुपर्छ’
अन्य प्रदेशको तुलनामा कर्णालीको भूगोल फरक छ । अन्य प्रदेशका वडाहरुमा रहेका स्वास्थ्य चौकीमा आधि घण्टा पैदल यात्रामा पुग्न सकिन्छ भने कर्णालीमा त्यो सम्भव छैन । कर्णालीको ग्रामिण भेगका प्राय वडाहरु पार गर्न निकै समय लाग्छ ।
भौगोलिक समस्याकै कारण पनि कर्णालीका महिलालाई स्वास्थ्य चौकी नपुग्दै बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता देखिन्छ । यस्तो अवस्थामा वडागत स्वास्थ्य चौकीको रुथापनाको साटो भौगोलिक आधारमा स्वास्थ्य चौकीलगायतका स्वास्थ्य संस्थाहरुको स्थापना गरिनुपर्ने अनौपचारिक सेवा केन्द्र (ईन्सेक)को वीरेन्द्रनगर कार्यालयका कार्यक्रम अधिकृत नारायण सुवेदीको भनाई छ ।
‘हामीले वडागत रुपमा स्वास्थ्य संस्थाको स्थापना ग¥र्यौ । जग्गा प्राप्त भएका स्थानमा स्वास्थ्य संस्था बनायौँ तर आवश्यकताको आधारमा स्वास्थ्य संस्था स्थापनालाई ध्यान दिएका छैनौँ’, सुवेदीले भने, ‘जनघनत्व तथा वस्तीको आधारमा स्वास्थ्य संस्था स्थापना गरिनुपर्छ । नागरिकलाई पायक पर्ने स्थानको छनौट गरी स्वास्थ्य चौकीहरुको स्थापनामा ध्यान दिइनुपर्छ ।’







