वीरेन्द्रनगर बजारको मुख्य सडक स्तरोन्नतिमा ढिलाइ, विद्युत र खानेपानीकै अवरोध

सुर्खेत, २४ फागुन ।
वीरेन्द्रनगरको मुख्य बजारक्षेत्र (मंगलगढी चौकदेखि गणेशचौकसम्म) को सडक निकै साँघुरो बनेको छ । पछिल्लो समय बजार क्षेत्रमा सवारी साधन र जनसंख्या बृद्धिले पनि सडकले थेग्न सक्ने अवस्था छैन ।
यसकारण पनि यो सडकको स्तरोन्नति गर्ने योजना अगाडि सारिएको छ । तर ठेक्का भएको ६ महिना वितिसक्दा पनि काम सुरु हुन सकेको छैन । पार्किङ सुविधा नहुँदा बजार क्षेत्र भद्रगोल बन्छ । सडकमा पैदल यात्रीलाई हिँडडुल गर्न मुस्किल हुन्छ ।
तर स्तरोन्नतिको काम भने कछुवा गतिमा छ । गएको भदौं १७ गते नै सडक विस्तारको ठेक्का प्रक्रिया टुंगो लागेको थियो । तर ठेक्का टुंगिएको ६ महिना वित्दा पनि सडक स्तरोन्नतिको कामले गति लिन सकेको छैन ।
विद्युत र खानेपानीका लाइनले गर्दा सडक स्तरोन्नतिको काम सुरु हुन नसकेको हो । विद्युत र खानेपानीको लाइन अहिलेको क्षेत्रभन्दा पछाडि हटाएपछि मात्रै सडक स्तरोन्नति गर्न सकिन्छ । लाइन पछाडि हटाउन विद्युत र खानेपानीका लाइन काट्नुपर्दछ ।
मुख्य बजारक्षेत्र भएका कारण जुनसुकै बेला विद्युत लाइन काटेर तार पछाडि हटाउन सहज छैन । विद्युतको लाइन काट्दा बुलबुलेचौकदेखि गणेशचौक सम्मको सबै क्षेत्र, मंगलगढीदेखि चाइनापुल लगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुन्छ ।
विद्युत अवरुद्ध हुँदा दैनिक सञ्चालन हुने उद्योग कलकारखान र बैंक तथा वित्तिय क्षेत्रको सेवा ठप्प हुन्छ । विद्युतसँगै खानेपानीको लाइनका कारण पनि उस्तै समस्या छ । यद्यपि खानेपानीको लाइन भने स्तरोन्नतिसँगै पछाडि हटाउने तयारी छ ।
‘६ महिना अघि नै स्तरोन्नतिको ठेक्का टुंगिएको हो, तर विस्तारको काम सुरु गर्न सकिएको छैन’ पूर्वाधार विकास निर्देशनालयका इन्जिनिय भूपेन्द्र जैसीले भने, ‘खानेपानी र विद्युत लाइनका कारण ढिलाइ भएको छ ।’
निर्देशनालयले आउँदो २०८० जेठ ३० गतेभित्र मंगलगढी–गणेशचौक सडक खण्ड स्तरोन्नति गरिसक्ने लक्ष्य राखेको छ । सम्झौता अनुसार अबको एक बर्षभित्र निर्माण सम्पन्न गरी सक्नुपर्ने छ ।
निर्देशनालयले मूल्य अभिबृद्धि करसहित १३ करोड ६७ लाख ८१ हजार दुईसय ४० रुपैयाँमा निर्माण सक्नेगरी बाँकेको खड्का निर्माण सेवालाई गएको भदौं १७ गते ठेक्का दिएको हो ।
सडक स्तरोन्नतिका लागि कुल १८ करोड बजेट स्वीकृत भएको छ । जसमध्ये १३ करोडभन्दा बढी सडक स्तरोन्नतिका लागि ठेक्का भइसकेको छ ।
बाँकी रकमबाट निर्देशनालयले विद्युतका पोलहरु पछाडि हटाउने र खानेपानीको पाइपलाइन पछाडि सार्ने लगायतका काम गरिने छ । खानेपानीका पाइप लाइनका लागि झण्डै ४५ लाखभन्दा बढी बजेट खर्च हुने अनुमान छ ।
विद्युतका पोल र तार पछाडि सार्न नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रलाई ८६ लाख ७९ हजार ६ सय २७ रुपैयाँ बजेट उपलब्ध गराइएको छ । स्तरोन्नतिपछि नाला र पेटीसहित सडक १८ मिटर चौडाइको हुनेछ । हाल १५ मिटरको दुरीमा नालाहरु छन् । स्तरोन्नति गर्दा नालाहरु केही पछाडि धकेलिने छन् ।
तोकिएकै समयमा सडक विस्तारका लागि निर्देशनालयले ताकेता गर्दै आएको छ । स्तरोन्नतिको काम सुरु गर्न निर्देशनालयले दुइपटक ठेकेदार कम्पनीलाई पत्राचार गरिसकेको छ ।
ठेकेदार कम्पनीले स्तरोन्नति गर्त खोजे पनि विद्युत लाइन पछाडि नहटेसम्म स्तरोन्नति गर्न नसक्ने बताउँदै आएको छ । विद्युतको तार नहटाएरै स्तरोन्नति गर्न जोखिम हुन्छ ।
निर्देशनालयले तीन चरणमा स्तरोन्नतिको काम गर्ने सहमति गरेको छ । सुर्खेत उद्योग बाणिज्य संघ, स्थानीय र निर्देशनालयबीच तीन चरणमा गरेर सडक स्तरोन्नति गर्ने सहमति भएको छ ।
जसअनुसार पहिलो चरणमा गणेशचौकदेखि वीरेन्द्रचौकसम्म, दोस्रो चरणमा वीरेन्द्रचौकदेखि हटियाचौक (सुर्खेत उद्योग बाणिज्य संघ जाने बाटो अर्थात भ्याली भ्यू होटेल) सम्म र तेस्रो चरणमा भ्यालीभ्यू होटेलदेखि मंगलगढी चौकसम्मको भागमा स्तरोन्नति गर्ने इन्जिनियर जैसीले जानकारी दिए । स्तरोन्नति गर्दा बजार क्षेत्रको सडकमा पूर्णरुपमा अवरुद्ध नहोस् भन्नका लागि तीन चरणमा काम गर्ने सहमति भएको हो ।
‘विदा कुरेर काम गर्दा ढिलाइ भयो’
विदाको समयमा मात्रै काम गरिरहेका कारण विद्युतको लाइन पछाडि सार्न ढिलाइ भएको नेपाल विद्युत प्राधिकरणको सुर्खेत वितरण केन्द्रले जनाएको छ ।
‘लाइन पछाडि सार्न विद्युत काट्नुपर्दछ, जुनसुकै बेला पनि लाइन काट्दा मुख्य बजार क्षेत्रको विद्युत अवरुद्ध हुन्छ’ सुर्खेत वितरण केन्द्रका प्रमुख युवराज रावतले भने, ‘विद्युत अवरोध नहोस् भनेर विदाको समय पारेर लाइन सार्छाै, जसले गर्दा काममा ढिलाइ भयो ।’
सेवाग्राहीलाई असर नपुगोस् भन्ने उद्देश्यले विदाको समय पारेर लाइन सार्ने गरेको रावतले बताए । बैंक तथा वितिय क्षेत्र र उद्योग व्यावसायमा विद्युत अवरुद्ध नहोस् भनेर शनिबार र विदाको समयमा मात्रै लाइन सार्ने गरिएको छ । एउटै लाइनबाट सयौं सेवाग्राहीको घरका विद्युत जोडिएका कारण प्राधिकरणले आपूर्ति बन्द नहुने उद्देश्यले काम गरेको जनाएको छ ।
विद्युतका तारसँगै, टेलिफोन, केवल र इन्टरनेट लगायतका तारहरु पनि पछाडि सार्नुपर्ने भएका कारण काममा थप ढिलाइ भएको हो । लाइन सार्नको लागि पोलहरु गाडी सकिएको छ । प्राधिकरणले नौं लाख ४७ हजार ६ सय ६९ रुपैयाँमा ठेकेदारलाई पोल सार्ने ठेक्का दिएको हो ।






