उद्योगनै नअट्ने कर्णालीको एक मात्र औद्योगिक क्षेत्र

पुनम वि.सी.
सुर्खेत, २४ जेठ
कर्णाली प्रदेशको एक मात्र औद्योगिक क्षेत्र वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा जग्गा, ठाउँ अभाव हुँदा नयाँ ठुला उद्योग कर्णालीमा भित्रिन सकेका छैनन । ४१ बर्ष अगाडी स्थापना भएको औद्योगिक क्षेत्रमा प्रयाप्त जमिनको अभाव छ ।
वि.सं. २०३८ सालमा स्थापना भएको वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा हाल २७ उद्योग समावेश छन् । जस मध्ये २१ उद्योग अहिले पनि चालु अवस्थामा छन् भने दुई वटा निर्माणाधिन तथा चार उद्योग बन्द भएका छन् ।
२०३८ सालमा ९० रोपनी क्षेत्रफलमा निर्माण गरिएको यस औद्योगिक क्षेत्रमा अहिले कुनै नयाँ उद्योग सञ्चालनका लागि स्थान माग भएका औद्योगिक क्षेत्रले स्थान उपलब्ध गराउन सक्ने अवस्था नै छैन । नयाँ उद्योग भन्दा पनि औद्योगित क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरुका लाग पनि प्रयाप्त स्थान छैन ।
हालै मात्र सञ्चालनमा आएको सुरक्षा ग्याविन वायर ईण्डष्ट्रिज प्रालिलाई समस्या उस्तै छ । प्रयाप्त स्थान अभावकै कारण उद्योगले आफ्नो उत्पादन कटौती गर्न बाध्य छ ।
वीरेन्द्रनगर औद्योगिक क्षेत्र परिसर भित्र करिव साढे तीन रोपनी क्षेत्रफलमा सञ्चालनमा रहेको सुरक्षा ग्याबिन वायरमा ग्याविन बक्स तथा घेरबारका लागि प्रयोग हुने जाली उत्पादन हुन्छ । तर उद्योगले माग बमोजिम भने उत्पादन गर्न सकिरहेको छैन ।
सुरक्षा ग्याविन वायरका सञ्चालक कृष्ण रेग्मीले भने, ‘उद्योगमा उत्पादनले गति लिन सकिरहेको छैन । उपलब्ध जनशक्तिले पनि एकै साथ काम गर्न पाएका छैनन् ।’ कम्पनीमा खासगरी दैनिक ३० जनाले रोजगार पाएका थिए । रोजगारीमा महिलाको संख्या अधिकांश थियो । तर अहिले कम्पनिलाई जनशक्ति कटौती गर्नुपर्ने बाध्यता रहेको छ ।
आधार जनशक्ति कटौती गर्दै कम्पनीले १५ जनालाई मात्र नियमित काममा बोलाएको हो । यसका साथै उत्पादनतर्फ दैनिक चार हजार दुई सयदेखि चार हजार आठ सय बर्गमिटर जाली उत्पादन भईरहेको छ ।
यो उत्पादन दैनिक तीन सयदेखि तीन सय ५० गोटा जाली हुन आउँछ । तर उत्पादन क्षमता तथा लगानीका आधारमा उद्योगमा दैनिक पाँच सय गोटा जाली उत्पादन हुनुपर्ने हो ।
उद्योगका सञ्चालक रेग्मीले भने, ‘उद्योगमा जाली स्टक रहन्छ । मागको आधारमा एकैसाथ जाने हो । फेरी एकैसाथ ३० जनाले जाली बुन्नका लागि प्रयाप्त ठाउँ पनि भएन, त्यसैले आधा जनशक्तिलाई राखेर उद्योग सञ्चालन गरेका छौँ । यसले उत्पादनमा समेत असर परेको छ ।’
सुरक्षा ग्याविन वायर उद्योग सञ्चालनका लागि उद्योगीहरुको समूहले वीरेन्द्रनगरका अन्य स्थानमा जग्गा नखोजेको पनि होइन । वीरेन्द्रनगरको करेखोला क्षेत्र, वडा नं. ९ को अलायचौर क्षेत्रलगायतका स्थानमा उद्योग सञ्चालनका लागि जग्गा हेरिएको थियो । तर उक्त स्थानमा आवश्यक पर्ने बत्तिको समस्या तथा उद्योग सञ्चालनार्थ जग्गामा धेरै लगानी गर्नुपर्ने भएकाले औद्योगिक क्षेत्रनै अन्तिम रोजाई बनेको हो ।
तरपनि औद्योगिक क्षेत्र परिसरमा जग्गा उपलब्ध हुन सहज भने थिएन । पूर्व सञ्चालमा रही जग्गा ओगटीरहेका उद्योगहरु खरिद गर्नुपर्ने कम्पनीलाई बाध्यता परर्यो । रेग्मीले भने, ‘हामीले यहाँ औद्योगिक क्षेत्रमा दुई वटा कित्ता प्रयोग गरेका छौं । यसअघि यहाँ सञ्चानमा रही बिक्रि गर्न खोजिरहेका उद्योग हामीले खरिद गरी सुरक्षा ग्याविन वायर’ सञ्चालन गरिएको हो ।
‘थ्री फेज लाइन’ मा पाँच सय केभिएको ट्रान्सफर जडान भएकाले पनि उद्योगीलाई औद्योगिक क्षेत्र भित्र उद्योग सञ्चालन गर्न सहज छ । वीरेन्द्रनगरका अन्य स्थानमा बत्तिको आपूर्ती, कम भोल्टेज भएको हुनाले उद्योगहरु सञ्चालनमा आउन सकेका भने छैनन् ।
यस स्थानमा उद्योगलाई प्रयाप्त स्थान भने उपलब्ध छैन । सुरक्षा ग्याविन वायरलाई पूर्ण उत्पादन क्षमताका लागि उद्योग सञ्चालन गर्न ६ रोपनी जग्गा आवश्यक पर्छ । अहिले त्यसको आधा क्षेत्रफलमा रही कम्पनीले उद्योग सञ्चालन गरिरहेको छ ।
त्यस्तै औगोगिक क्षेत्र भित्र सञ्चालनमा रहेको सुर्खेत डेरी उद्योग प्रालिले पनि मागको आधारमा उत्पादन बृद्वि गर्न नसक्दा समस्यामा परेको छ । उद्योग सञ्चालनको तेस्रो बर्षमा रहेको यस सुर्खेत डेरी उद्योग प्रालिले हाल दैनिक तीनदेखि चार हजार लिटर दुध संकलन तथा बिक्रि वितरण गरिरहेको छ । यसका साथै दुग्द्यजन्य पदार्थहरुको समेत उत्पादन भईरहन्छ ।
स्थापनाको तेस्रो वर्षमा रहेको उद्योगलाई सेवा तथा उत्पादन विस्तारको आभास छ । तर सोही अनुरुप संरचना तथा क्षमता विस्तारका लागि भने उद्योगसँग प्रयाप्त जग्गा भने छैन ।
उद्योगका सञ्चालक माधव धितालले भने, ‘दुधबाट बन्ने अन्य उत्पादनहरुको सेवा विस्तारको योजना छ तर उद्योगका लागि यहाँ स्थानको अभाव छ ।’ सुर्खेत डेरी उद्योगलाई क्षमता विस्तारका लागि अझै थप दुई रोपनी जग्गाको आवश्यकता छ ।
यसरी समग्रमा हेर्नुपर्दा, औद्योगिक क्षेत्र बाहेक बाहिरका स्थानमा उद्योग सञ्चालनका लागि विविध कारणले उद्योगी लगानीमा हौसिँदैनन् । एकातिर महंगोमा जग्गा खरिद गरी उद्योग सञ्चालन गर्दा लगानी बढ्छ भने अर्कोतिर विद्युतको समस्याले उद्योग सञ्चालनमा असर गर्छ नै ।
औद्योगिक क्षेत्रमा प्रयाप्त स्थान अभावका कारण उद्योगहरुले पुर्ण क्षमतामा उत्पादन गरेका पनि छैनन् । यस्तो अवस्थाले सुर्खेतलगायत कर्णाली प्रदेशमा औद्योगिकरण विकासमा असर परेको देखिन्छ ।
जग्गा र विद्युत नै मुख्य चुनौती
हालको वीरेन्द्रनगर औद्योगिक क्षेत्रसँग उद्योग आवद्वता क्षमतामा कमी भएपछि सरकारले यसको विकल्पको रुपमा अन्य स्थान नखोजेको पनि हैन ।
यसअघि सुर्खेतको चौरासे, साटाखानी, लेकवेशी, खाँडदेवीलगायतका क्षेत्रमा औद्योगिक क्षेत्र विकास लागि हेरिएको पनि थियो । संघीय सरकारले यसका लागि अध्ययन गरेको हो । तर यि स्थानहरुमा औद्योगिक क्षेत्र विकासका लागि सम्भव भएन ।
वीरेन्द्रनगर औद्योगिक क्षेत्रका प्रमुख जीवनारायण वञ्जाडे भन्छन्, ‘ति स्थानहरुमा औद्योगिक क्षेत्र विकासका लागि धेरै सालका रुख कटान गर्नुपर्ने भएकाले सम्भव भएन ।’
सुर्खेतमा औद्योगिक क्षेत्र विस्तारका लागि विद्युत र जग्गा नै मुख्य चुनौती रहेको वञ्जाडेको धारणा छ । उनले भने, ‘उद्योगहरुका लागि विद्युत अनियमित तथा कम भोल्टेजको समस्याका कारण सञ्चालनमा रहेका उद्योगहरुले समेत गति लिन सकेका छैनन् ।’
कर्णालीमा औद्योगिक विकासका लागि सरकारले जग्गा प्राप्ती तथा एक सय ३२ केभिए विद्युत प्रशारण लाईन विस्तारमा ध्यान दिनुपर्ने उनको धारणा छ ।
हालको औद्योगिक क्षेत्रको क्षमता कति ?
वीरेन्द्रनगर औद्योगिक क्षेत्र नेदरल्याण्ड सरकारको सहयोगमा वि.सं. २०३८ साल कात्र्तिक २२ गते स्थापना भएको हो । ९० रोपनी क्षेत्रफलमा फैलिएको यो औदोगिक क्षेत्र ६८.१० रोपनी जग्गा उद्योगहरुका लागि लिजमा दिइएको र २१.९० रोपनी जग्गा उपयोगिता सेवाका लागि प्रयोग गरिएको छ ।
हाल यस क्षेत्रमा २७ वटा उद्योग रहेका छन् । जसमध्य २१ वटा चालु, दुई वटा निर्माणाधीन र चार वटा उद्योग बन्द अवस्थामा छन् । यस औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरु मार्फत तीन सय जनाले प्रत्यक्ष रोजगारी पाएको वीरेन्द्रनगर औद्योगिक क्षेत्रका प्रमुख जीवनारायण वञ्जाडेले जानकारी दिए ।
यस क्षेत्रमा काठमा आधारित उद्योग, वर्कसप, पोल्ट्री, पानी, दुग्ध पदार्थ, खाद्य उद्योग, प्रेस, उर्जालगायतका उद्योगहरु सञ्चालनमा रहेका छन् ।
उद्योगको अवस्था दयनीय
कर्णाली प्रदेशमा उद्योग क्षेत्रको अवस्था निकै कम्जोर देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन २०७७/०७८ ले कर्णालीमा उद्योगको अवस्था कम्जोर रहेको देखाएको हो ।
अध्ययन प्रतिवेदन अनुसार कर्णाली प्रदेशमा आव २०७६/०७७ मा २,६७० कम्पनी दर्ता भएका छन् । यो संख्या देशमा कुल दर्ता भएका कम्पनीहरुको १.१ प्रतिशत हो । यस प्रदेशमा सञ्चालनमा आएका साना तथा घरेलु उद्योगहरुको संख्या १७ हजार ६३ रहेको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा उद्योग क्षेत्रमा कर्णाली प्रदेशको अंश ३.४२ प्रतिशत रहेको र यस प्रदेशको उद्योग क्षेत्रको कुल गार्हस्थ्य उत्पाादनमा योगदान १०.७ प्रतिशत रहेको छ ।
कर्णालीबाट अध्ययनका लागि कुनै पनि उद्योगहरु छनौंटमा नपरेका तथा साना एवम् घरेलु उद्योगहरुको सञ्चालन एवम् उत्पादन पनि न्यून रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
‘औद्योगिक विकासका लागि आवश्यक न्यूनतम पूर्वाधार, आवश्यक दक्ष जनशक्तिको अभाव, उद्योगमैत्री पूर्वाधारको विकास तथा बिपद व्यवस्थापनका चुनौतीहरु जस्ता प्रमुख अवरोधले ठूला उद्योग सञ्चालन नभएको देखिन्छ’ अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।








