थाइल्यान्डसँग पब्राजित भएसँगै नेपाल विश्वकप छनोटबाट बाहिरियो

काठमाडौं २४ जेठ ।
नेपाल आइसिसी महिला यू–१९ टी–२० विश्वकपअन्तर्गत एसिया छनोटबाट बाहिरिएको छ । शीर्ष टिम आगामी वर्ष दक्षिण अफ्रिकामा हुने महिला यु–१९ टी–२० विश्वकपमा छनोट हुने प्रावधानअनुसार नेपाल शीर्ष टिम बन्न नसक्ने भएको हो ।
छनोटमा युएई र थाइल्यान्ड लगातार चार जित निकालेर उपाधि दौडमा रहेका छन् । नेपालले चार मध्ये दोस्रो खेलमा हार बेहोर्ने क्रममा मंगलबार थाइल्यान्डसँग ४९ रनले पराजित भयो । थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपाल एक बल खेल्न बाँकी छदा ४० रनमा अलआउट भयो ।
नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। सर्वाधिक रन बनाएकी श्रृष्टी जैशीले नटआउट ७ रन जोडिन् । बलिङमा थाइल्यान्डकी बूनसुखामले ३ विकेट लिइन् । त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको थाइल्यान्डले ७ विकेटको क्षतिमा ८९ रन जोड्यो ।
थाइल्यान्डका लागि बन्थिदा लीफात्थनाले १९ रन जोडिन् भने थिपात्चा पुथावाङले २० रन र सुवानन खिएओतोले १६ रनको योगदान गरे । बलिङमा नेपालका मनिषा उपाध्याय र कप्तान कृतिका मरासिनीले २–२ विकेट लिए । स्नेहा महराले १ विकेट हात पारिन् ।
यसअघि नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो । तर दोस्रो खेलमा युएईसँग १० विकेटको लज्जास्पद हार बेहोरेको थियो । तेस्रो खेलमा नेपालले भुटानमाथि ४ विकेटको जित निकालेको थियो । अब नेपालले अन्तिम खेलमा आयोजक मलेसियासँग पर्सि खेल्नेछ ।
स्रोत ः सेतोपाटी






